शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोदोको डिँढो र लोकल कुखुरा खोज्दै बरेङमा पर्यटक

कोदोको डिँढो र लोकल कुखुरा खोज्दै बरेङमा पर्यटक


  • तारानाथ आचार्य
  • भाद्र १९ २०७६, बिहिबार

बागलुङ,१९ भदौ – चार महिना पहिलेसम्म बागलुङको बरेङ गाउँपालिका–२ का हिराबहादुर पुनले परम्परागत रुपमा स्थानीय जातको कुखुरा पालेका थिए । हुग्दीशिरका हिरा बहादुरलाई अब भने व्यवसायीक रुपमै स्थानीय जातको कुखुरा पाल्ने दबाव परेको छ । आफ्नै नेतृत्वमा गाउँमा आउने पर्यटकको लागि खाना बस्ने व्यवस्था गर्न सञ्चालन गरिएको सामुदायीक घरबासले उनलाई कुखुराको बथान बढाउन दबाव दिईरहेको छ ।
हिराबहादुर मात्रै होईन सोही गाउँका अरु चार परिवारलाई पनि स्थानीय जातको कुखुराको जोहो गर्नुपर्ने बाध्यता छ । कुखरा मात्रै होईन उनीहरुलाई बाँझिँदै गएको बारी कोतर्ने बाध्यात्मक अवस्था समेत आउन थालेको छ । बसाईसराई र बैदेशिक रोजगारीका कारण बरेङमा पनि कयौं बारी बाँझिँदै गएका छन् । माग अनुसारको कोदोको पिठो नपाए अब बाँझिएका बारीमा फेरी कोदो फल्ने छ ।
घरबासमा बस्न आउने पर्यटकहरुले स्थानीय जातको कुखुरा र कोदोको ढिँडो (हलुवा) खोज्ने गरेकाले उनीहरुलाई व्यवसायीक बन्न दबाव पुगेको हो । पर्यटकको रोजाईमा परेको उनीहरुको उत्पादनको मुल्य पनि राम्रै तिर्छन् । सिग्दी सामुदायीक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको चार महिना मात्रै भयो । घरबासको बिषेशता सुनेका एक सय जनाभन्दा धेरै त्यहाँ पुगे ।
‘हाम्रो घरबासमा आउने सबैले कोदोको ढिँडो र लोकल कुखुराको झोल खाने भन्नुहुन्छ’ पुनले भने ‘टाढा टाढाबाट स्थानीय स्वादका लागि यहाँ आउने धेरै छन् ।’ केही दिन पहिला पोखराबाट बजारीकरणको लागि बरेङ पुगेको बतास कम्पनीको समुहले बरेङडाँडामा रहेका होटलको बास छोडेर घरबासमा पुग्यो । घरबासमा लोकल कुखुराको झोल र कोदोको ढिँडो खाने भन्दै उनीहरु आएको पुनले सुनाए ।
सिग्दीमा घरबास सञ्चालनमा आएको धेरै समय भएको छैन् । तर आन्तरिक पर्यटकको रोजाई बन्न थालिसकेको छ । गुल्मीको सिमानासँग जोडिएको बरेङमा बागलुङ, पर्वत, पोखरा र गुल्मीबाट भन्दा धेरै पर्यटक बुटवलबाट आउने गरेका छन् । केही पक्कि र कच्चि सडकको यात्रामा बरेङ पुग्ने सबैको रोजाई स्थानीय खाना हुने गरेको उनले सुनाए । ठुलो बजार नरहेको गाउँपालिकामा घुम्न आउनेदेखि काम बिषेशले आउनेहरुको आश्रय स्थल बनेको छ घरबास ।
‘हामीसँग ठुलो बजार छैन न त सुबिधा सम्मन्न होटलहरुनै छन्’ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने ‘घुम्न र कामका लागि आउनेलाई सहज बनाउनकै लागि घरबास सञ्चालनमा ल्याएका हौं ।’ गाउँपालिकाले १० लाख रुपैयाँ खर्चेर घरबासमा सांस्कृतिक कार्यक्रमको लागि सभाहल बनाईदिएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले उपलव्ध गराएको अनुदान रकम पदमार्गमा खर्चिएको उनले बताए । ‘हाम्रो प्राकृतिक सम्पदा कौडेको धुरी हो त्यहाँ घुम्न जानेलाई सहजताको लागि पदमार्ग बनाएका छौं’ अध्यक्ष शर्माले भने ‘यस धूरीबाट अनगिन्ती सौन्दर्यात्मक दृश्य अवलोकन गर्न सकिन्छ ।
यहाँँबाट पाल्पा, गुल्मी, स्याङजा, बागलुङ, कास्की, पर्वत र म्याग्दीका विभिन्न प्राकृतिक सौन्दर्यात्मक दृश्य तथा पर्यटकीय ठाउँहरु देख्न सकिन्छ । सिग्दी घरबासमा एकै पटकमा ३० जनासम्म पर्यटक बस्न सक्छन् । स्थानीय जंगलमा पाईने अमिलो स्वाद भएको वनस्पती बाँकोको गुन्द्रुक यहाँको अर्को बिषेशता हो । ‘कत्तिले त कुखुरा र ढिँडो खाएर गुन्द्रुक बोकेर जानुहुन्छ’ घरबास सञ्चालक मिन बहादुर पुनले भने ‘सिरम्ले मकैको पनि व्यपार बढेको छ ।’
घरबास सञ्चालनका लागि यहाँ जनशक्तिको अभाव छैन् । युवा पुस्ताको समेत चासो र सकृयता रहेकाले अर्को घरबासको तयारी थालिएको गाउँपालिकाले जनाएको छ । ‘यसरीनै चाप बढिरह्यो भने अहिलेको घरबासले मात्रै धान्दैन, पर्यटन बर्ष २०२० मनाउनु छ’ अध्यक्ष शर्मा भन्छन् ‘हामीले वातावरण बनाईदिने हो । अर्को घरबास पनि चलाउने की भन्नेमा छलफल भैरहेको छ ।
घरबास सञ्चालनमा आएपछि आर्थिक गतिविधि बढेको र केहीले रोजगारी समेत पाएको शर्मा बताउँछन् । बरेङका अग्ला पहाडहरुबाट धौलागिरी, माछापुछ्रे, अन्नपूर्ण लगायत दर्जनौँ हिमशृङखला देख्न सकिन्छ । मनमोहक सुर्योदय र सुर्यास्तको समेत देख्न पाईने भएकाले यहाँ पर्यटक आउने गरेको स्थानिय पुष्पा पुनले बताईन् । कौडेधुरी नजिकै डाँडामा भ्यू–टावर निर्माण गरिएको छ । सत्यावतीको मन्दिर र पौराणीक दरवारका अवशेष र यहाँको प्राकृतिक सम्पदा पर्यटक पुग्नै पर्ने ठाउँहरु हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->