शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

असोजदेखि राष्ट्रिय परिचय पत्र वितरण थालिने

असोजदेखि राष्ट्रिय परिचय पत्र वितरण थालिने


  • Dhorpatan News
  • भाद्र २० २०७६, शुक्रबार

बागलुङ, २० भदौ – साउनदेखि मुलकुका ७७ वटै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गर्ने घोषणा गरेको नेपाल सरकारले बागलुङमा भने आगामी आसोज महिनादेखि काम थाल्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले बिहिबार सरोकारवालासँग पहिलो चरणको अन्तरक्रिया गरि आगामी असोजदेखि काम थाल्ने घोषणा गरेको हो । कर्मचारीको व्यवस्थापन, बिबरण संकलनका लागि बनाईने बुथको व्यवस्थापन लगायतका काम प्रकृयामा रहेको बिभागले जनाएको छ । जिल्लाका दशवटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रशासन लगायत सदरमुकाममा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, सामाजिक संघ संस्था र सर्वसाधारणको जानकारीको लागि बागलुङमा ‘राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धि अन्तरक्रिया अभिमुखिकरण कार्यक्रम’ सञ्चालन गर्दै असोजदेखि सुरु हुने परिचय पत्र वितरणको काममा सघाउन आग्रह गरिएको थियो ।
परिचयपत्र सँग सरोकार राख्ने सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्दै परिचयपत्र सम्बन्धि कानुनी व्यवस्था र प्रावधानहरुको बिषयमा जानकारी गराईएको बिभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । कार्यक्रममा सहभागीले परिचय पत्रको लागि विवरण संकलनको क्रममा सजगता अपनाउन सुझाव दिएका थिए । ‘मैले भर्खरै पनि चार वटा सच्चाउनु पर्ने कागजातमा हस्ताक्षर गरेँ, हामी हतारमा विवरण लेखेर कागजात बनाउँछौं अनि पछि सच्चाउने परिपाटी छ’ शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले भने ‘यो कामको विवरण संकलनमा सजगता अपनाईयोस् ।’ नेपाली नागरीकता, सवारी चालक अनुमति पत्र, मतदाता परिचय पत्र र अन्य बिषयगत परिचय पत्रहरु समेतको साझा परिचय पत्रको रुपमा राष्ट्रिय परिचयपत्रलाई बनाउने पर्नेमा सहभागीको जोड थियो ।
परिचयपत्रमा राख्ने भनीएको आँखाको नानीको चित्र र हातका दशवटै औंलाका कारण अपांगता भएका नागरिकहरुलाई असहज हुने भन्दै उनीहरुले सच्चाउन आग्रह गरे । ‘न्युनदृष्टि भएकाले कसरी आँखा स्कान गराउनु’ राजमो बागलुङका उपाध्यक्ष धर्म कुँवरले भने ‘बिदेशमा भएका नागरिकले परिचय पत्र लिने तरीका के हो स्पष्ट हुनुपर्छ ।’
बिभागले पहिलो चरणमा वडा स्तरमै पुगेर बिबरण संकलन गर्ने र त्यसपछि नेपाली नागरिकता लिने सबैले जिल्ला प्रशासन कार्यालयमार्फत नै राष्ट्रिय परिचय पत्रका लागि फाराम भर्न सक्ने व्यवस्था मिलाएको छ । ‘सुरुवातमा हाम्रा कर्मचारी वडा स्तरका बुथमा पुगेर बिबरण लिनु हुन्छ’ निर्देशक न्यौपानेले भने ‘नेपाली नागरिकता वा राहदानीको आधारमा विवरण दिलईने छ ।’
प्रविधि प्रयोग गरेर स्पष्ट परिचय खुल्ने गरी नागरिकको अभिलेख राख्न परिचय–पत्र वितरण गरिने विभागले जनाएको छ । सफ्टवेयरमा व्यक्तिको पूर्ण विवरण राखेर परिचय–पत्र वितरण गरिने भएकाले यो निकै प्रभावकारी र राष्ट्रिय सुरक्षामा पनि निकै महत्वपूर्ण मानिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक न्यौपानेले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख बिष्णु भुसालले सरकारले ल्याएको कार्यक्रमलाई नानाथरीका आरोप लगाएर आलोचना गर्नुको साटो नागरिकको तहबाट सहयोग गर्नुपर्ने बताए । प्रबिधिको प्रयोग गरेर चल्ने भएकाले यो कार्यक्रम प्रभावकारी हुने उनको तर्क थियो । निर्देशक न्यौपानेले सरकारले परिचयपत्रसँगै २०८० सालभित्र सबै नागरिकको घटना दर्ता गरिसक्ने गरी काम अघि बढाइएको बताए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीको अध्यक्षता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->