बागलुङ,२० भदौ – बाढीले बिद्युत आयोजनाको बाँध बगाएपछि गत साउनमा जिल्लाको निसीखोला–४ जैथुम्कामा रहेको १ सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत आयोजना दुई साता बन्द भयो । स्थानीय उपभोक्ताकै लगानीमा निर्माण भएको आयोजनाको बाँध पूनःनिर्माणको लागि पनि स्थानीयले खर्च जुटाएर बन्द भएको तेस्रो सातामा बिद्युत सञ्चालनमा आयो ।
निसीखोलाको यो आयोजनाले भोगेको समस्या नयाँ भने होईन् । यहाँका १६ वटा आयोजनाले बर्षेनी यस्तो समस्याको सामना गर्दै आएका छन् । बर्षातको समयमा बाढीले बाँध बगाउने, पोलहरु ढाल्ने र तार चुँडीने समस्याले सताउने गरेको निसीखोला गाउँपालिका–३ का वडा अध्यक्ष जुनबिक्रम शाहीले बताए । बर्षेनी आयोजनाहरुमा समस्या आउँदा उपभोक्ताहरु भने आत्तिने गरेका छन् । एकातर्फ लामो समय बत्ति बाल्न नपाउनु र अर्कोतर्फ मर्मत खर्च समेत उपभोक्ताले नै ब्यहोर्नुपर्ने भएकाले उनीहरुमा निराशा छाएको हो । ‘ठुला आयोजनामा जस्तो बाँध बाँधेर बनेका हाम्रा आयोजना हैनन्’ शाहीले भने ‘सानोतिनो बाढी आयो भने सबैतिर असर गर्छ ।’
निसीखोलामा जस्तै तमानखोलामा पनि ११ वटा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । ती आयोजनाले पनि बर्षेनी समस्याको सामना गर्नैपर्छ । तमानखोलाको बोंगादोभानमा रहेको १ सय किलोवाट क्षमताको तल्लो तमानखोला लघुजलविद्युत आयोजना स्थानीय सरकारको निर्वाचनपछि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको दुई बर्षमा यो आयोजनाले पनि कयौं समस्या झेलीरहेको छ । ‘बेला बेलामा मर्मत गर्नुपर्ने गरी समस्या आउँछन्’ गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने ‘मर्मत गरेर चलाए पूर्ण क्षमतामा चल्ने आयोजना हो ।’ केन्द्रिय प्रसारण लाईनको पहुँच नपुगेकाले दुवै गाउँपालिकाको विद्युतको मुख्य स्रोत भनेकै लघुजलविद्युत आयोजना हुन् ।
बागलुङका दश पालिकामध्ये केन्द्रिय प्रसारण लाईन बिस्तारका लागि प्रारम्भिक काम समेत नभएका गाउँपालिका हुन् निसी र तमानखोला । जहाँ स्थानीय उत्पादनकै भरमा बत्तिमात्रै बालिँदै आएको छ । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा विस्तारको काम सुरु भएपनि बत्ति बलिसकेको छैन । ताराखोला गाउँपालिकामा आंशिक घरहरुमा मात्रै केन्द्रिय प्रसारणको बत्ति छ ।
नेपाल विद्याुत प्राधिकरण वितरण गर्ने केन्द्रिय प्रसारण लाईन जिल्लाका दुई गाउँपालिका र तीन नगरपालिकामा मात्रै पुगेको छ । बागलुङ, जैमिनी नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकामा पूर्ण विद्युतीकरण भएको छ । बाँकी दुई गाउँपालिका र एक नगरपालिकामा आगामी तीन महिनाभित्र उपभोक्ताले प्रयोग गर्न पाउने गरी विस्तारको काम चलिरहेको प्राधिकरण बागलुङ वितरण केन्द्रका सूचना अधिकारी प्रमोद पंगेनीले जानकारी दिए ।
‘जिल्लाभर २७ हजार ९ सय घरमा केन्द्रिय प्रसारण लाईन पुगेको छ’ पंगेनीले भने ‘आगामी तीन महिनामा ताराखोला गाउँपालिकाका सबै घरमा बत्ति बल्छ ।’ बागलुङमा ६१ हजार ४ सय ८२ परिवार छन् । अधिकांश घरमा विद्युतको पहुँच रहेको भएपनि केन्द्रिय प्रसारण लाईन भने आधाभन्दा कम घरपरिवारले मात्रै उपभोग गर्दै आएका छन् । केन्द्रिय प्रसारण लाईन नपुगेको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा ११ केभिए प्रसारण लाईनको काम सकेर पालिका मुकामहरुमा विद्युत वितरणका लागि आवश्यक प्रकृया थालिएको छ ।
गल्कोट नगरपालिका–५ हरिचौरमा रहेको सवस्टेशनबाट बुर्तिबाङ सम्मको प्रसारण लाईनको काम सकेर वितरण लाईनको काम थालिएको वितरण केन्द्र प्रमुख कपिलराज पाण्डेले बताए । गण्डकी प्रदेश सरकारले उपलव्ध गराएको ९० लाख रुपैयाँ बजेटले यो काम गरिएको हो ।
लघुजलविद्युत आयोजनाको बिद्युत प्रयोग गर्दा बर्षेनी आउने समस्या र पर्याप्त बिद्युत उपभोग गर्न नपाईने गुनासो उपभोक्ताको छ । ‘कुखुरा फराम चलाउन, सानो प्रिज राख्न समेत बत्तिले पुग्दैन’ निसीखोला–३ का वडा अध्यक्ष शाहीले भने ‘सानातिना उद्योग चलाउँछौं भन्नेलाई पनि विद्युतकै कारण प्रोत्साहन गर्न सकिएको छैन ।’ केन्द्रिय प्रसारण लाईन बिस्तारको बिषयमा छलफल गरेर प्राधिकरणलाई अनुरोध गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा बताउँछन् । ‘हामीले प्राधिकरणलाई अनुरोध गरेका छौं, जनताको दैलोमा सेवा पु¥याउने उहाँको दायित्व हो’ बुढाले भने ‘आवश्यक सहजीकरण गर्छौं भनेका छौं ।’ प्राधिकरणको वितरण केन्द्रका प्रमुखले भने नेपाल सरकार वा प्रदेश सरकारले योजना बनाएर अख्तियारी दिए प्राधिकरणले काम गर्ने बताउँछन् ।
अहिले बागलुङमा मासिक १० लाख युनिट विद्युत खपत हुँदै आएको छ । हरेक दिन साँझ ६ मेगावाट र दिउँसो ३ देखि चार मेगावाट विद्युत खपत हुने गरेको वितरण केन्द्रको तथ्यांक छ । सूचना अधिकारी पंगेनीका अनुसार, मासिक एक करोड रुपैयाँ महशुल कार्यालयले उठाउने गरेको छ । लघुजलविद्युत आयोजना बाहेक बागलुङमा उत्पादित दुई ठुला आयोजना मात्रै केन्द्रिय प्रसारण लाईनमा जोडिएका छन् । सयपत्री विद्युत आयोजना २.५ मेगावाट ताराखोला र ठेउलेखोला विद्युत आयोजना १.५ मेगावाट मात्रै केन्द्रिय प्रसारण लाईनमा जोडिएका छन् ।





