बागलुङ, २१ भदौ – सर्वोच्च अदालतले ल्याएको न्याय क्षेत्रको रणनीतिक योजना र योजनाले राखेका लक्ष पुरा गर्न गरिने क्रियाकलाप बारे बागलुङमा अन्तरक्रिया सम्पन्न भएको छ । उच्च अदालत पोखराको बागलुङ ईजलासले गरेको अन्तरक्रियामा रणनीतिक योजनाले जनताले न्याय पाएको अनुभूति मिल्ने अवसर सिर्जना गर्ने बताइएको थियो । कार्यक्रममा उच्च अदालत बागलुङका न्यायाधिस द्वारिकामान जोशीले सक्षम न्याय पालिका र स्वतन्त्र न्यायपालिकाबाट जनताले न्याय पाउने बताए । उनले जनता पहिलो सरोकारवाला भएकोले उनीहरले न्याय पाएको अनुभूति नपाए सम्म न्यायालयको औचित्य पुष्टी नहुने बताए । जनताले अनुभूति गर्ने न्याय सम्पादन हुन नसकेमा न्यायाधिस फैसलाधिस बन्ने बताए । न्यायका लागि न्यायाधिस सँगै वार, कर्मचारी, सरकारी वकिल, प्रहरी लगायतको सबैको साझा अभियान आवस्यक भएको जोशीको भनाई थियो ।
उनले संचार माध्यमको आवस्यकता र महत्व बारेमा पनि बोले । ‘जनतामा पुग्नका लागि संचार माध्यमको भूमिका आवस्यक छ’ जोशीले भने, ‘संचार क्षेत्रबाट दुरी बढ्यो भने न्यायालयको बिषय जनतामा जान सक्दैन र भ्रम पैदा हुन्छ ।’ सत्यतथ्य समाचारका लागि पनि न्यायालयले संचार माध्यमसँगको समन्वयात्मक भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा अर्का न्यायाधिस मुनेन्द्रप्रसाद अवस्थीले न्यायको सिद्धान्तमा समन्वयको सिद्धान्त थपिएको भन्दै समन्वयले मात्र हरेक क्षेत्रको काम सफल हुने धारणा राखेका थिए । अवस्थीकै अध्यक्षता र शाखा अधिकृत गोकर्णराज पन्तको संचालनमा भएको कार्यक्रममा रजिष्ट्रार धु्रबकुमार ढकालले रणनीतिक योजना बारे प्रस्तुतीकरण गरेका थिए । रणनीतिक योजनामा जिम्मेवारी सरेका सबै मुद्दा छिनेर चालु बर्षका मुद्दाको कम्तिमा ५० प्रतिशत
छिन्नुपर्ने प्रावधान बारे पनि प्रष्ट पारेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे लगायतले बोलेका थिए ।





