शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

समृद्धिको आधार पर्यटनः मन्त्री लम्साल

समृद्धिको आधार पर्यटनः मन्त्री लम्साल


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७६, शनिबार

बागलुङ, २१ भदौ – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले प्रदेशको समृद्धिको मुल आधार पर्यटन भएको बताएका छन् । उनले पर्यटनबाटै प्रदेश समृद्धिमा जान सक्ने भएकोले समृद्धिका सातवटा लक्षमा पर्यटनलाई पहिलो लक्षमा राखिएको समेत बताए । गण्डकी प्रदेश भ्रमण बर्षका लागि बागलुङमा आयोजित जिल्ला स्तरीय पर्यटन उपसमिति गठन कार्यक्रममा बोल्दै मन्त्री लम्सालले समृद्धिका लागि प्राथमिकताका सात आधार पनि प्रस्तुत गरे । गण्डकी प्रदेश सरकारले निर्धारण गरे अनुसार पहिलो पर्यटन, दोश्रोमा उर्जा, तेस्रोमा कृषि, चौथोमा उद्योग, पाँचौमा पूर्वाधार, छैठौमा जनशक्ति व्यवस्थापन र सातौंमा सुशासनको आधार प्रस्तुत गरेका हुन् । ती सात बिषयलाई बिकासको लक्ष भएको समेत बताएका छन् ।
मन्त्री लम्सालले प्रदेशका सबै ऐन बनिसकेकोले अब घरेलु व्यवस्थापनमा लागेको पनि बताए । पर्यटन बिकासका लागि ११ वटै जिल्ला र ८५ वटै स्थानीय तहमा उपसमिति गठन गरिनेछ । त्यस्तै सबै होमस्टे व्यवस्थापन, सडक, खानेपानी, पर्यटकीय क्षेत्र र भ्यूटावर लगायतको निर्माण र मर्मतमा लगानी थालिएको छ । हरेक होमस्टेले १० लाख रुपैयाँ पाउने व्यवस्था समेत गरिएको छ ।
मन्त्री लम्सालले निजी क्षेत्रको लगानी भित्राउन वातावरण तयार गर्न लागेको समेत बताए । ‘नाफा कमाउन सक्ने गरी व्यवसायीलाई लगानीको वातावरण तयार गर्छौ’ उनले भने, ‘कर्मचारी, जनप्रतिनिधि र सामाजिक क्षेत्रले सरकारको काममा साथ दिनुपर्छ ।’ सरकार बायुपंखी घोडाझै पर्यटक भित्राएर बिकासको लक्षमा दर्गुन लागेकोले त्यो स्पिडलाई भेट्ने कर्मचारी संयन्त्र चाहिएको समेत उनले बताए । हरेक क्षेत्रबाट काम गर्न चाहनेलाई मन्त्रालयले साथ दिने योजना पनि उनले सुनाए । शुक्रवार गठन भएको जिल्लास्तरीय पर्यटन बिकास उपसमितिको घोषणा पनि गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना अध्यक्ष, उपप्रमुख बिष्णु भूषाल उपाध्यक्ष, समन्वय अधिकारी सदस्य सचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पत्रकार महासंघ सदस्य रहने समितिमा बाँकी सदस्य भने जिल्ला तहले आवस्यकताको आधारमा थप्नेछ । भ्रमणबर्ष २०१९ देखि शुरु भएर २०२२ सम्म चल्नेछ । सुरुवातमा १५ लाख पर्यटक र अन्तिम बर्ष २० लाख पर्यटक भित्राउने प्रदेश सरकारको लक्ष छ ।
पोखरामा बन्ने क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल संचालनमा आएपछि पर्यटक बढ्ने भएकोले सबै जिल्ला तहमा सुबिधा सम्पन्न होटल थप्दै पर्यटकीय गन्तव्यहरुको सूचिकरण गर्न पनि उनले आग्रह गरेका छन् । मन्त्रालयले पनि हरेक जिल्लाका १० वटाका दरले १ सय १० गन्तव्यको बिवरण सहितको पुस्तिका प्रकाशित गर्न लागेको उनले बताए । शुक्रवारै मन्त्री लम्साल बागलुङका तीनवटा कार्यक्रममा सहभागि भएका थिए । सबै स्थानमा उनले पर्यटन प्रवद्र्धनका लागि आयोजित भ्रमण बर्ष सफल पार्ने अभियानका लागि साथ दिन आग्रह गरे ।
घरेलु कार्यालय स्थापना
गण्डकी प्रदेशमै पहिलो पटक घरेलु तथा साना उद्योग कार्यालय शुक्रवार स्थापना भएको छ । मन्त्री लम्सालले एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरे । यस अघि बिकास समितिको रुपमा रहेका घरेलु कार्यालयलाई सरकारको निजामती कर्मचारीबाटै चल्ने गरी रुपान्तरण गरिएको छ । ती कार्यालयले पुरानो स्रेस्ता अपनत्व लिएर काम गर्नेछन् । मन्त्री लम्सालले स्थानीय तहले अपनत्व लिन खोजेपनि संविधानको प्रावधान अनुसार प्रदेश सरकार मातहतमा राखेर काम थालिएको बताए । चालु आर्थिक बर्षदेखि स्थापना भएपनि व्यवस्थापकीय काम सकेपछि उद्घाटन गरिएको हो । बागलुङ स्थित कार्यालयको नयाँ भवन समेत बनाइएको छ । यो भवन सम्पन्न भएकोले शुक्रवारदेखिको कार्यसम्पादन नयाँ भवनबाट सुरु भएको छ ।
सरकारी कार्यालयमा भैरहेको ढीला सुस्ती अन्त्यकालागि प्रदेश मन्त्रालयले बिशेष चासो राखेको मन्त्री लम्सालले बताए । उनले परंपरागत ढर्रामा कर्मचारी तन्त्र चल्न नदिने समेत प्रतिवद्धता जनाए । उनले सरकारी काम कहिलो जाला घाम भनेर बस्नेलाई कारवाही गर्ने समेत बताए । जनताले चाहेकै बेला कागजात भेटिने, सेवाको अनुभूति पाउने गरी काम गर्ने दक्ष जनशक्तिको व्यवस्थापनमा जुटेको उनको भनाई थियो । कम्प्युटर प्रविधिबाट उद्योग दर्ता, नविकरण गर्ने चलन भित्राउने उनले बताए ।
मन्त्री लम्सालले सबै स्थानीय तहमा उद्योग ग्राम खोल्ने तयारी भएको पनि बताएका छन् । त्यसका लागि केही स्थानीय तहले जग्गा पनि छनौट गरिसकेकोले त्यस्ता तहमा औद्योगिक ग्राम बनाउन संघिय सरकारको मन्त्रीपरिषदमा फाइल पठाईसकिएको समेत उनले बताएका छन् । बागलुङमा स्थापना भएको नयाँ भवनमा प्रविधि युक्त बनाएर काम गर्ने उद्योग अधिकृत गोमा रिजालले बताईन् । त्यसका लागि केही फर्निचार र दक्ष जनशक्तिको व्यवस्थापनका लागि रिजालले मन्त्रीलाई आग्रह पनि गरिन् । शुक्रवार आयोजित कार्यक्रममा मन्त्रालयका निमित्त सचिव नारायणप्रसाद आचार्य, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, जिल्ला लघुउद्यमी समूह संघका अध्यक्ष यामबहादुर भुजेल लगायतले बोलेका थिए । उद्योग अधिकृत गोमा रिजालको अध्यक्षता, यामकुमारी पुनको स्वागत र मनिलाल चपाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->