बागलुङ, ३० भदौ – स्थानीय तहको वार्षिक समीक्षामा अधिकारको बारेमा जुहारी चलेको छ । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा भएको जिल्लाका सबै स्थानीय तहको वार्षिक समीक्षा गोष्ठीमा सहभागिले केन्द्र र स्थानीय तहको अधिकार बारे जुहारी खेलेका हुन् । स्थानीयले प्रभावकारी काम नगरेको संघिय सांसदको टिप्पणी थियो भने स्थानीय तहका प्रमुखहरुले संघले आफ्नो प्रभुत्व कायम गरेको आरोप लगाए । केही सहभागिले भने जनताको मन जित्ने गरी काम गर्न सुझाव पनि दिए । प्रतिनिधिसभाका सांसद डा. सूर्य पाठकले स्थानीय तहले असन्तुष्टी राखिरहने हो भने देश बिकास हुन नसक्ने बताए । स्थानीय तहले आफ्नो कार्यक्षेत्र र संविधानले किटान गरेका काम गर्न कसैले नरोकेको बताए । ‘बाटो खन्ने र भोट जित्ने प्रवृत्तिका काम गरेर बसियो भने देश बिकास संभव छैन’ पाठकले भने, ‘कानून बनाएरै भएपनि अब सडक खन्ने काममा बजेट राख्न नपाउने व्यवस्था गर्नुपर्ने देखियो ।’ उनले स्थानीय तहमा दक्ष प्राविधिक नभएको कुरा सत्य भएको भन्दै जनप्रतिनिधिहरुले त्यति बाहना बनाएर बजेटलाई सधै अपारदर्शी क्षेत्रमा मात्र लगाउन नहुने बताए । पाठकले नेपालको बिकास बजेट न्युन हुँदा पनि कर्मचारी तन्त्र र स्थानीय तह समेतले खर्च गर्न नसकेको बताए । ५ खर्ब बिकास बजेट मध्ये मुस्किलले ३ खर्व मात्र खर्च भएको र अरु फ्रिज हुँदा देश बिकास नभएको उनको जिकिर थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्थानीय तहलाई केन्द्र र प्रदेशले काम गर्न नदिएको आरोप लगाए । ‘स्थानीय सरकार भन्ने, तर संघ र प्रदेशका बोर्ड राखेर धेरै कार्यालयले काम गर्ने गर्दा स्थानीय सरकारलाई वेवास्ता गरेझै भयो’ पौडेलले भने, ‘५ लाखको काममा संघ र ३ लाखको काममा प्रदेश सरकार गाउँ आउनुको औचित्य छैन ।’ प्रदेश र संघले गरेका काम भन्दा स्थानीय तहले राम्रो गर्ने भन्दै उनले बिकासमा एकरुपता ल्याउन नसकेको समेत बताए ।
पौडेलले स्थानीय तह बिरुद्ध संचार माध्यम समेत खनिएको आरोप लगाए । ‘हामीले खानेपानीको उद्घाटन गर्दा बाँसको घारोको फोटो देखाउने संचार माध्यमले काममा साथ दिएनन्’ उनले भने, ‘भुक्तानी नै नदिएको बिषय उठाएर बजारमा चर्चा गरिएको छ ।’ बागलुङ नगरमा भुक्तानीका लागि माग भएको लागत स्टिमेट भन्दा बढीको रकम बारे आएका समाचारको उनले टिप्पणी गरेका हुन् । निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने संघ र प्रदेशबाट आउने बजेटको काम गर्ने शैली नभएको बताए । हिउँदभर केही नगरेर बर्षातमा किसानले लगाएको खेती नष्ट गर्ने गरी काम गरिएकोमा आपत्ति प्रकट गरे । निसीखोलाका केही योजनामा त्यस्तो काम भएको उनको धारणा छ ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले भने सबै स्थानीय तहले गत बर्ष गरेका काम र प्रगती तथा चालु बर्ष गर्ने काम बारे प्रस्तुतीकरण गरेर ठोस निष्कर्षमा पुग्ने बताए । ‘काम केही भएको देखाउने र बिकासको मोडल बनाउन हामीले सक्रियता देखाउनु पर्छ’ ढुंगानाले भने, ‘संचार माध्यमहरुले कमीकमजोरी खोज्न साथ दिनुभएको छ ।’ अनुगमन समितिहरुमा समेत संचारकर्मी राख्नुपर्ने उनले सुझाव दिए । समीक्षामा ठेकेदारहरुले समयमा काम नसक्ने, कमिसनकै कारणले इन्जिनियर सहित कर्मचारीहरु अख्तियारमा पर्ने, नदी दोहनले वातावरण प्रदुषण बढाउने र कानूनी शासनको खिल्ली उडाउने जस्तो काम भएको सहभागिले बताए । स्थानीय तहलाई दिएको अदालतको आदेश पालना गर्न र वातावरणीय प्रभाव मूल्यांकन गर्ने काम थाल्न सहभागिले सुझाव पनि दिए ।
जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, उपप्रमुख बिष्णु प्रसाद भुषालको स्वागत र समितिका सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लाको बिकासमा सबै स्थानीय तहको समन्वय र सहकार्य आवस्यक भएको बताए । उनले सबै स्थानीय तहले संघिय र प्रदेश बजेट सदुपयोगमा ध्यान दिन पनि आग्रह गरेका थिए । पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले समन्वय अभाव र बिकासको नाउँमा बिनास निम्तने काम छाडेर व्यवस्थित गर्न आग्रह गरे । उनले भौतिक बिकास मात्र नभई सामाजिक क्षेत्रको बिकासमा पनि ध्यान दिन सुझाव दिए ।





