बागलुङ, १ असोज – बागलुङ नगरपालिकाको कार्यपालिका बैठक दुइ महिना देखि बस्न सकेको छैन । बैठक नबसेपछि उपप्रमुख सुरेन्द्र खड्काले तत्काल बैठक बोलाउन माग गरेका छन् । सोमबार नगरप्रमुख जनकराज पौडेललाई पत्राचार गरेर तत्काल बैठक राख्न माग गरेका हुन् । उनले बैठक बस्न नसक्नुको कारण पनि सोधेका छन् । बैठक बस्न नसक्दा नगरपालिकाले सम्पादन गर्ने धेरै काम अलपत्र परेको उनले लिखित दिएका छन् । ‘बैठक नबस्दा नगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधार बिकासका काममा गम्भिर असर परेको छ’ खड्काले भने, ‘नगरप्रमुखलाई बैठक बोलाउनुस् भन्ने अबस्था आउनुनै लज्जास्पद हो ।’ बैठक नबोलाइकनै लामो समय व्यतित गरेर नगरपालिकाको बिकासमा असर पारेकोमा उनले पत्रमै खेद प्रकट गरेको बताएका छन् ।
सोमबार पत्राचार गरेका खड्काले स्थानीय सरकार संचालन ऐन पालना गर्न पनि ध्यानाकर्षण गराएका छन् । ऐनले महिनाको कम्तिमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने प्रावधान राखेको छ । ‘बागलुङ नगरपालिकाले एक महिनामा २ पटक बैठक बस्ने निर्णय गरेको छ, आफ्नै निर्णय उलंघन भयो’ उनले भने, ‘अत्यावस्यक समस्या समाधान गर्ने, कर्मचारीलाई तलब खुवाउने जिम्मा लिनु पर्दैन ?’ खड्काले पौडेलको कार्यशैलीलाई हुकुमी शासन, राणा शाही र भारदारी सभाको संज्ञा पनि दिएका छन् । धेरैजसो काम एकल निर्णयबाट गरेकोले त्यस्तो लेख्न बाध्य भएको समेत उनले बताए । स्थानीय तहको निर्वाचनमा नेकपाको गठबन्धनमा राप्रपा पनि मिसिएर खड्का उपप्रमुखमा बिजयी भएका थिए । बिजयी भएको केही समय सामान्य व्यवहार देखाएपनि नगर प्रमुख र उपप्रमुखबीच झण्डै दुइबर्षदेखि पटक पटक खटपट भैरहेको छ । खड्काले पौडेल साँघुरो घेरामा बस्ने, एकल निर्णयमा चल्ने आरोप लगाउँछन् भने पौडेलले खड्कालाई अनावस्यक बखेडा झिक्ने गरेको आरोप लगाउँछन् । दुवैजनाबीच लामो समय बोलचाल नहुने, भएपनि बिबाद हुने गरेको अन्य जनप्रतिनिधि र कर्मचारीहरु बताउँछन् । पौडेलले दुवै बीच सुमधुर सम्बन्ध रहेको बताउँछन् भने खड्काले राम्रो सम्बन्ध नभएको बताए । ‘सबैलाई समेटेर बिकास गरौं भन्दा पौडेल कमिसनको चक्करमा लाग्छन्’ पौडेलले भने, ‘कमीकमजोरी भए सच्याएर काम गरेर देखाउनु पर्छ भन्ने मेरो मान्यता हो ।’ उता पौडेल भने केन्द्र, प्रदेश र अन्तर स्थानीय तहको समन्वयमा काम गर्न बढी केन्द्रीत भएको बताउँछन् । ‘देश बिदेश र संघ प्रदेशको समन्वयमा भूमिका खेल्नुपर्छ, संघले अधिकार दिएको छैन त्यो बिषयमा लड्ने काम मेरो मात्र भएको छ’ पौडेलले भने, ‘नगरको हितमै काम गर्न खोज्दा कमीकमजोरी मात्र खोजियो ।’ दुइजनाको टकरावमा वडा अध्यक्ष र जनप्रतिनिधिहरुपनि दुइ पक्षमा देखिन्छन् । ‘सुशासनको बिषयमा जसले आबाज उठाउँछ त्यसमै हाम्रो समर्थन हुन्छ’ वडा नं. ५ का अध्यक्ष शिवप्रसाद सापकोटाले भने, ‘भ्रष्ट्राचार गर्ने भए बाबु आएपनि छोडिन्न ।’ समयमा बैठक नराखेको, नगरभित्र संचालित केही खानेपानी आयोजनामा तोकिएभन्दा बढी बीलभरपाई आएको र नगरप्रमुखले भुक्तानी दिन खोजेको जस्ता बिषयमा उनीहरुको टसल बढेको देखिन्छ ।
खड्का संयोजक रहेको अनुगमन समितिले बिज्ञ झिकाएर गरेको अनुगमनलाई नगरप्रमुखले राम्रो नमानेको खड्का बताउँछन् । ‘बिज्ञ ल्याएर अनुगमन गर्ने जिम्मा कानूनले मलाई दिएको छ, नगरप्रमुखले आँफूले तोकेको हुनुपर्छ भन्छन्’ उनले भने, ‘आफ्नो आफ्नो अधिकार क्षेत्रमा बसेर काम गरौं भन्दा टसल बढेको हो ।’ सबैक्षेत्रमा नगरप्रमुखको हस्तक्षेप हुनु नहुने उनले बताए । पौडेलले भने सार्वजनिक कार्यक्रममा पुगेर गत बर्षको खानेपानी उद्घाटन बाँसको घारोमा गरेको र बढी बिल भरपाईको कुरा संचार माध्यमले अनावस्यक उठाएको दावी गर्छन् । प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले भने अनुगमन समितिको काम बारे अनविज्ञता व्यक्त गर्छन् । ‘कसले अनुगमन गरेको छ, छैन मलाई थाहा भएन’ कुँवरले भने, ‘औपचारिक कागजात आएकै छैन, कता बाटा हल्ला आयो ?’ खानेपानीमा अनियमितता भएको बजारमा सुनेको कागजमा नदेखेको उनले दावी गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने खानेपानी योजनाका कागजात मगाएको छ । कुँवरले त्यसलाई समेत अनविज्ञता प्रकट गर्दै फोटो कपी पठाएको स्विकारे । कागजात माग्न पायो, भ्रष्ट्राचार भए नभएको प्रमाणित छैन भन्ने उनले नगरप्रमुख, उपप्रमुखको द्वन्द्व र योजनाहरुको कारवारे तर्कन खोज्छन् । बैठक राख्न नगरप्रमुखले अनुमति दिए तत्काल बोलाउन सक्ने कुँवरको दावी छ । ‘म सँग एजेण्डा तयार छन्, आदेश आए बैठक बोलाइन्छ ।’ कुँवरले लेखा व्यवस्थापन र लेखापरीक्षणको काम भैरहेकोले कार्यालयको काम ढीला भएको बताए । कार्यपालिका बैठक नबस्दा तत्काल अप्ठ्यारो नपरेको भन्दै उनी तर्के । ‘दैनिक अफिस आएका छौं, काम गरेका छौं, अप्ठ्यारो परेको छैन’ कुँवरले भने ।





