बागलुङ, २ असोज – काठेखोला गाउँपालिकाको धम्जा आलुका लागि चर्चित ठाउँ हो । प्रसस्त फल्ने आलुका लागि किसानले भण्डारनको अगुवाई गरेपछि गाउँपालिका र प्रदेश सरकारको लगानी थपेर भण्डारन केन्द्र बनाइएको छ । किसानका अनुसार धम्जामा मात्र बर्षेनी १ सय टनसम्म आलु फल्ने गरेको तथ्यांक छ । धेरै फलेपनि बर्षातमा भित्राएको आलु संरक्षण गर्न नसक्दा बिग्रने, बिक्री नभएर कतिपयले गाईभैसीलाई खुवाएर सक्छन् । सडक राम्रो नभएकोले अधिकांस किसानले बजारसम्म पठाउनै नसकेको गुनासो गरे ।बर्षातमा सडक सहज नभएपछि समयमा बिक्री गर्न नसक्दा कुहिएर जाने खतरा भएपछि भण्डारन केन्द्र बनाइएको हो । गाउँपालिकाले गण्डकी प्रदेशको सहकार्यमा दुइवटा भण्डारन केन्द्र निर्माण थालेको छ । २० टन क्षमताको चिस्यान केन्द्र र ५० टन क्षमताको भण्डारन केन्द्र निर्माणको काम भएको हो । गाउँपालिकाको ३० लाख रुपैयाँको लागतमा स्थानीय हिउचुली कृषि सहकारी संस्थाले अगुवाई गरेर चिस्यान केन्द्र बनाइसकेको वडा अध्यक्ष यामबहादुर श्रीषले बताए ।
ओखले भन्ने स्थानमा निर्मित यो चिस्यान केन्द्रमा लामो समयसम्म आलु भण्डारन गर्न सकिन्छ । बजारमा राम्रो मूल्य पाएको बेला मात्र बेच्न यो केन्द्र उपयोगी भएको किसानले बताए । हिउँदमा आलु बेच्न सकेमा बर्षातको तुलनामा दोब्बर मूल्य पार्न सकिन्छ । लेकाली क्षेत्र भएकोले धम्जामा असारमा मात्र आलु भित्राउने समय पर्छ । लेकाली आलु खानका लागि मिठो हुने उपभोक्ताले बताए । काठेखोला गाउँपालिकाले धम्जा, भीमापोखरा, तंग्राम लगायतका क्षेत्रमा फल्ने आलुलाई सहज बजारको पहुँचमा लैजानका लागि भण्डारन गृह निर्माण थालिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । धम्जामा निर्माणाधिन भण्डारन गृहले सयौं किसानको उत्पादन सुरक्षित गरिदिन्छ । यो वडामा मात्र झण्डै दुई सय घरमा व्यवसायिक आलु लगाइएको छ । हरेक घरमा न्युनतम १ हजार २ सय केजीदेखि ५ हजार केजीसम्म आलु फल्ने गरेको छ । उक्त आलु समयमा बजार पठाउन नसक्दा किसानले मूल्य पाउन सकेका थिएनन् । गाउँपालिकाले चालु बर्षदेखि भण्डारन निर्माणका लागि लगानी गरेको हो । क्रमागत बजेटबाट दुइ बर्षमा निर्माण गर्ने गरी गत आर्थिक बर्ष २७ लाख १५ हजार खर्च भएको छ । चालु बर्ष भण्डारनको काम सक्ने योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए ।
गुणस्तर र स्वादिलो भएकोले धम्जाको आलु धेरैले मन पराउँछन् । ताराखोला, ढोरपाटन लगायतका क्षेत्रमा पनि प्रसस्त आलु फल्छ । ‘ती स्थानको भन्दा धम्जाको बेग्लै स्वाद छ, संकलन गरेर बजार पठाएमा मात्र त्यो थाहा पाउन सकिन्छ’ बिकले भने, ‘पहिलो चरणमा ५० हजार क्विन्टलसम्म भण्डारन गर्न सकिने भवन बनाउन लागेका हौं ।’ बजेट धेरै लाग्ने भएकोले तीन बर्षे योजनामा समेट्नु परेको उनले बताए । कृषि जन्य क्षेत्रमा उद्यमी बढाउने भन्दै गाउँपालिकाले लगानी बढाएपछि आलुजोन कार्यक्रमले पनि चासो बढाएको छ । ‘जोनमा परेकोले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लगानी पनि आउँछ’ थापाले भने, ‘हामीले एउटा क्षेत्रमा मात्र सम्बोधनको काम गरेका हौं ।’ आलु उत्पादन र बजारीकरण बढाएमा यहाँका सयौं किसान रोजगारी बन्ने र आम्दानी दोब्बर लिन सक्ने उनले बताए ।
काठेखोलामै सुबिधा सम्पन्न सुन्तला भण्डारन बनाउने योजना पनि छ । झण्डै ३ करोडको सुन्तला वडा नं. ५ र ६ मा मात्र फल्छ । त्यसैले सुन्तलाको पनि भण्डारन बनाउने तयारी भएको वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कंडेलले बताए । सबै घरघरमा सुन्तला लगाउन उत्साहि किसानले आगामी बर्ष यो उत्पादनलाई दोब्बर बनाउने योजना पन िअगाडि सारेका छन् ‘हाम्रो वडामा एक एक हेक्टरका ब्लक बनाएर उत्पादनलाई दोब्बर बनाउने लक्ष राखेका छौं’ कंडेलले भने, ‘किसानलाई ५० प्रतिशत अनुदानमा बिरुवा बितरणको अभियान शुरु भैसकेको छ ।’ प्राविधिक सहयोग र औषधिमा पनि वडाबाटै सहयोग गर्ने योजना भएको उनले बताए । वडाले सुन्तला उत्पादन बढाउने अभियानका लागि ६ लाख ५० हजार बजेटको व्यवस्थापन गरेको थियो । सुन्तला उत्पादनलाई दोब्बर बनाउने अभियान स्वरुप सयौं बिरुवा रोपिएको छ । युवा पलायन रोक्ने, उत्पादनलाई बढाउने र जिल्लाकै नमूना क्षेत्र बनाउने अभियानका लागि कृषिमा लगानी बढाएको थापाले बताए । केही समय यता सुन्तलाको टुप्पा मर्ने, हाँगा सुक्ने जस्ता समस्या देखिएपछि संरक्षण अभियान समेत थालिएको छ । बागलुङमा ४ सय ९७ हेक्टरमा सुन्तला लगाइएकोमा यो बर्ष २ सय ३७ हेक्टर थप गरिएको छ । वार्षिक तीनहजार टन सुन्तला जिल्लामा उत्पादन भएको तथ्यांक छ ।
काठेखोला र ताराखोला गाउँपालिका लक्षित गरेर अलैची उत्पादन बढाउने योजना पनि छ । हाल उत्पादन भैरहेको ६० हेक्टरलाई तीनगुणा बढाउने लक्षले धेरै स्थानमा नयाँ बिरुवा रोपिएका हुन् । हाल बागलुङमा १५ दशमलब ५ मेट्रिकटन अलैची उत्पादन भएकोमा दुइ तीन बर्षभित्र ५ गुणा बढ्ने लक्ष राखिएको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । किसानले प्रतिकेजी एक हजार रुपैयाँ सम्ममा बिक्री गर्न सक्ने बजारको व्यवस्था भएकोले ५० प्रतिशत अनुदानमा बिरुवा दिएर उत्पादन बढाउन लागिएको उनले बताए । पालिका तहका कृषि शाखाबाट बिहुँ, मालिका, दमेक, भकुण्डे, ताराखोला, अर्गल, दुदिलाभाटी, बरेङ लगायतका स्थानमा बिरुवा बितरण र रोपण बढाईरहेको हो । ताराखोला गाउँपालिकाले अलैचीलाई मुख्य आम्दानीको श्रोत बनाउने लक्षका साथ काम थालिसकेको छ । ताराखोलामै अलैची भण्डारन बनाउन बजेटको व्यवस्था गरिएको उनले बताए ।





