
भिमाद ( तनहुँ ),३ असोज- हामीले सुन्दै आएका छौँ,‘नेपालमा सियो पनि बन्दैन ।’ साँच्चै नेपालमा सियो बन्दैन । सियो बनाउन नसक्नेले अरु के सोच्नु ? तर, तीन सय वर्षअघिको कुरा भने ठ्याक्कै उल्टो थियो । नेपालका खानीबाट सियो बन्ने फलामै निकालिन्थ्यो । सानो सियो नबने पनि घरमा चाहिने सबै सामान त्यही फलामबाट बन्थे । त्यतिमात्रै नभएर त्यो बेला नेपालमै उत्पादित फलामबाट नदी तर्ने बलिया पुल पनि बनाइन्थ्यो । सुन्दा कथा लागे पनि सत्य यही हो । र, यसको ज्यूँदो साक्षी हो, तनहुँको भिमादमा रहेको सेती नदीको फलामे साङ्लाको पुल ।
तत्कालीन राजा सुरेन्द्रविर विक्रम शाहको र प्रधानमन्त्री जंगबहादुर राणाका पालामा यो पुल बनाइएको हो । सुरेन्द्रविक्रम शाहले १८७३ देखि १८०४ देखि १८३८ सालसम्म नेपालको शासन गरेका थिए । उनले नै सेती नदीमाथि फलामे साङ्लोको पक्की पुल बनाउन गुठी स्थपाना गरेका थिए । सात सय रोपनी क्षेत्रफलको गुठीको श्रीकृष्ण शाही र ढुण्डीराज शाहीको नाममा लालमोहर लगाइएको थियो । त्यही गुठीबाट पुल बनेको थियो । तनहुँको सदरमुकाम बन्दीपुर हुँदा भिमादको शान पनि छुट्टै थियो । त्यही पुलहुँदै व्यापारीहरु बटौली पुग्थे, बन्दीपुर हानिन्थे अनि पोखरा र बागलुङ सामान त्यही पुलहुँदै लगिन्थ्यो ।
पुलमा राखिएको शिलापत्र अनुसार त्यो पुल बनाउने काँचो फलाम तनहुँकै ढोरफिर्दीको मिनामखानीबाट निकालिएको थियो । मिनामखानीबाट अहिले फलाम निकालिँदैन । काँचो फलामलाई काटेर बलियो साङ्ला स्थानीय कर्मीहरुबाटै भएको थियो । पुलको लठ्ठा पनि फलामकै, साङ्ला पनि फलामै भएको यो पुलमा ठोक्ने काँटी पनि हातबाटै बनेका थिए । फलामबाटै यो साङ्लैसाङ्लाको झोलुङे पुल बनेको थियो पुलको दुवै साइडका लठ्ठाहरु साङला आकार छन् ।पुलको साङला जोडेर जमिनमा गाडेर बलियो बनाइएको छ भने ती । साङला पनि आर्कषक छन् । पुलमा बिच्छ्याइएको काठको फलेक भने अहिले कुहिएका छन् । त्यो पुलबाट मान्छे आवतजावत गर्न छाडेको पनि धेरै नै भयो ।
पुलको संचालन गुठीबाटै गरिन्थ्यो । २०२२ सालमा गुठियार जुक्तराज शाहीले त्यो पुललाई फराकिलो बनाए । उनले गुठीकै आम्दानीबाट पुल फराकिलो बनाएका थिए । तर, उनीमाथि गुठी हिनामिनाको आरोप लाग्यो । त्यसको लगत्तै २०२८ सालमा पृथ्वी राजमार्ग बनेपछि त्यो बाटो बनेपछि भिमाद नै ओझेलमा प¥यो । त्यहाँ झोलुङ्गे पुलको सट्टा त्यहाँ पक्की पुल बन्यो ।
भिमाद अहिले गण्डकी प्रदेशको बीचमा रहेको छ । यही बाटोहुँदै पोखरा र पोखराबाट कोरला पुगिन्छ भने भिमादबाटै दक्षिणी नाका त्रिवेणीसम्म राजमार्ग बन्दैछ । भिमादमा रहेको यो पुलले चीन र भारतलाई जोड्दैन तर बाटैमा भएकोले पर्यटकी स्थल बन्ने सम्भावना भने बोेकेको छ । त्यही सम्भावनालाई यथार्थमा परिणत गर्न भिमाद नगरपालिकाले पुल संरक्षणको योजना बनाएको छ । ऐतिहासिक महत्वको पुल संरक्षण गर्न अघिल्लो वर्ष ६१ लाख बजेट विनियोजन गरिएको र स्वागतद्धार लगायतका संरचना बनिरहेको प्रमुख प्रशासकीय अधिकृत थमनसिँह थापाले बताए । झोलुङे पुल संरक्षणकै लागि यो पटक प्रदेश सरकारले ११ लाख रुपैयाँ विनियोजन गरेको पनि उनले सुनाए ।





