पब्लिकले गत वर्ष आयोजना गरेको तीजगीत प्रतियोगिता । फाइल फोटो
पब्लिक फोरके टेलिभिजन पोखराको आयोजनामा १० औं संस्करणको गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । बार्दली मिडिया प्रालिबाट सञ्चालित टिभीले हरितालिका तीजको अवसर पारी कृषि र कृषकका सम्भावना, महिला कृषकलाई उद्यम तथा पर्यटनका लागि प्रेरित गर्न प्रतियोगिता आयोजना गरेको हो ।
गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका उत्कृष्ट समूहबीच यही भदौ २२ गते सोमबार अन्तिम प्रतियोगिता हुने कार्यक्रम संयोजक घनश्याम पाण्डेले जानकारी दिए । प्रतियोगिता गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा सञ्चालन हुनेछ । जिल्ला स्थित कृषि विकास कार्यलयको समन्वयमा जिल्ला–जिल्लाबाट समूह छनोट गरी अन्तिम प्रतिस्पर्धाका लागि पोखरा ल्याइने आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न जिल्लाका प्रतिस्पर्धी समूहले मौलिक कृषि तीजगीत प्रस्तुत गर्ने छन् । कार्यक्रममा लोकदोहोरी कलाकार प्रजापति पराजुली, खुमन अधिकारी र शान्ता रानी परियारको प्रस्तुति रहनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हाँसिल गर्ने समूहलाई क्रमशः नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ३३ हजार ३ सय ३३ रुपैयाँ, २२ हजार २ सय २२ रुपैयाँ र ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
उत्कृष्ट नृत्य, भेषभूषा, शब्द र विषयवस्तुका लागि विशेष पुरस्कारको व्यवस्था छ । टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले कृषि, उद्यम र पर्यटनमा नेपाली महिलाको महत्वपूर्ण योगदान रहेको तथा उनीहरुको कर्मको सम्मानमा पनि कार्यक्रम फलदायी हुने बताए ।
कार्यक्रमस्थलमा उक्त दिन रैथाने बालीको प्रदर्शनीसँगै विभिन्न स्टलसमेत रहनेछन् ।
कृषि, संस्कृति र महिला सशक्तीकरणलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा किसान, कृषि विज्ञ, सरोकारवाला तथा कृषि पर्यटन क्षेत्रमा आबद्ध सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ । प्रवेश निशुल्क रहेको कार्यक्रमको प्रत्यक्ष प्रशारणसमेत हुनेछ ।





