बागलुङ, ५ असोज – बागलुङका सबै ग्रामीण बस्तीमा जिप चल्छन् । मुख्य राजमार्गमा बस चलेपनि ग्रामीण सडक बस चल्ने खालका छैनन् । नगरपालिका भित्रै पनि बस चल्ने सडक अभाव छ ।
हिउँदमा धुलो उडाएर घरघरै पुग्ने सवारी साधन बर्षातमा जोखिम मोलेर यात्रा गर्छन् । अधिकांस ग्रामीण बस्तीमा पुल नभएपछि जिपहरुले खोला तर्न सक्दैनन् । मध्य पहाडी लोकमार्गको बुर्तिवाङ सम्म र कालीगण्डकी कोरिडोरमा नियमित सवारी चल्छन् । गत साताको बर्षात र पहिरोले कोरिडोर ठप्प छ । दर्जनौ पहिरा खसेका छन् । मध्यपहाडी लोकमार्ग तर्फ बुर्तिवाङमा अझै पुल बनेको छैन । पुल अभावमा बुर्तिवाङ देखि ढोरपाटन र निसीखोला तर्फ जाने सवारी साधन बर्षा लागेपछि ठप्प छन् । तमानखोला जाने सवारी पनि अहिले तर्न नसकेर अलपत्र परेका छन् । ‘सवारी साधन तर्न नसकेपछि हिडेरै गाउँपालिका केन्द्र पुग्छु’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘राष्ट्रिय पुन निर्माण प्राधिकरण मार्फत एउटा पुल र सडक स्तरउन्नतीको काम भएको थियो, ठूलो खोलाको पुल नबन्दा सवारी जान नसक्ने भए ।’ तमानखोलामा पुल नभएपछि पैदल यात्रीले झोलुंगे तरेर गन्तव्यमा पुग्छन् । जिपले भने तर्न नसकेपछि यात्रा ठप्प जस्तै छ ।
काठेखोलामा पनि यो समस्या उस्तै छ । काठेखोला, तंग्राम खोला र रेश खोलामा पुल नभएपछि बर्षातमा खोलाबाटै जोखिमको यात्रा गर्नुपर्ने बाध्यता भएको यात्रीहरु बताउँछन् । ‘पुल नभएपछि झरी परेको दिन जिप जाने आउने काम खतराको छ, कतिपय दिन यात्रा गरिंदैन’ तंग्राम स्थित एक बिद्यालयका शिक्षकले भने, ‘बजार झर्नै पर्ने बाध्यता परेमा अक्षेते सम्म पैदल गएपछि मात्र सवारी साधन चढ्ने हो ।’ अघिल्लो बर्ष टेन्टर गर्दा ठेकेदारहरुको मिलेमतोमा पुलको टेन्डर नपर्दा ती स्थान अझै अलपत्र छ् । प्रदेश सरकारले बिनियोजन गरेको रकमबाट पनि पुल बन्न नसकेको हो । गत बर्ष धेरै पहल गरेर पारेका ६ वटा पक्की पुलको काम अगाडि नबढेर अहिले सम्म यात्रीले सास्ती खेपेको प्रदेशसभा सदस्य ईन्द्रलाल सापकोटाले बताए । ती पुलको काम नभएपछि गत आर्थिक बर्ष करोडौं रकम फिर्ता भएको थियो । ‘कर्मचारी संयन्त्र र ठेकेदार मिलेपछि काम गर्न कठिन हुने रहेछ’ सापकोटाले भने, ‘बल्लबल्ल लागत स्टिमेट गराएको, ठेकेदारहरु मिलेर ठेक्कानै हालेनन् ।’ एक बर्षको कसरतपछि चालु बर्षका लागि काठेखोला गाउँपालिकाको बिहुँदेखि रेश जाने भुँदीखोलाको एक्ले घाट र बिहुँदेखिनै भीमापोखरा जोड्ने काठेखोला पुलका लागि ठेक्का गएको छ । भीमापोखरा देखि तंग्राम जोड्ने डुँडिया खोला र पाला देखि सिगाना जोड्ने चनौटे घाटमा भने अझै ठेक्का भएको छैन ।
गलकोट दरवार पुग्ने स्थानका तीनवटा पुल छैनन् । हटिया स्थित गौंदी खोलामा बर्षौदेखि निर्माणाधिन पुल अलपत्र छ । चरौंदीमा निर्माणले गति लिएपनि बर्षातमा यात्रीले तर्ने ठाउँ पाएनन् । हरिचौर स्थित राजाको पुलमा काठले बनाइएको छ । पानी पर्दा चिप्लो र दुर्घटनाको खतरा भएर धेरै तर्नै डराउँछन् । पुरानो दरवार र सदरमुकाम समेत भएकोले यहाँ घुम्न आउने पर्यटक पैदलै जान्छन् । जिपमा जानै खोजेपछि धेरैजसो डराउने गरेको स्थानीय तुलसी निउरेले बताए । यो सडकबाट ताराखोला गाउँपालिका पनि पुगिन्छ । तर बस चल्नेगरी बाटो र पुल बनेको छैन । ताराखोलामै पनि निर्माणाधिन पुल यो बर्ष सम्पन्न भएको छैन । साना सवारीले बर्षातमा खोला तर्ननसक्दा गाउँ पुग्ने यात्री र सामान लैजानेले हैरानी खेपि रहेका छन् । जिल्लामा कतिवटा पुल आवस्यक छ, कति निर्माणाधिन छन् र कति अलपत्र छन् भन्ने तथ्यांक कसैले राखेको छैन ।‘जिल्ला बिकास समिति हुँदा केही तथ्यांक रहन्थ्यो, समन्वयमा कसैको तथ्यांक आएको छैन’ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘समन्वयमा पनि सबै बिकास निर्माणको तथ्यांक राख्ने वा प्रतिवेदन दिने व्यवस्था गर्दैछौं ।’
नेपालको सार्वजनिक खरिद ऐनले कारवाही गर्ने प्रावधान समेत अप्ठ्यारो राखेकोले धेरै योजना अलपत्र पर्ने गरेको प्रतिनिधिसभाका सांसद डा. सूर्यपाठकको अनुभव छ । ‘हामीले ठेकेदार छुन पनि नसक्ने गरी कानून बनेको रहेछ, यस्ता कानून संशोधन गर्नुपर्छ’ पाठकले भने, ‘जनताले सास्ती पाउने, ठेकेदार मोटाउने कानून फेरेर जनताको हितमा काम गर्ने उत्तरदायी बनाउनुपर्छ ।’ गत बर्ष संघिय सरकराले बिनियोजन गरेको १७ लाख रुपैयाँको लागत स्टिमेट नभएपछि बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे जाने बहुलाहा खोला पुल समेत बन्न सकेको छैन । यहाँपनि हिउँद बर्षात दुवै सिजनमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको संविधानसभाका सदस्य नरबहादुर थापाले बताए । चालु बर्षका लागि बिनियोजित ३६ लाख बजेट समेत सदुपयोग नहुने खतरा भैसकेको उनले गुनासो गरे । ‘नगरपालिकाले तत्काल लागत स्टिमेट गरेर ठेक्का प्रकृयामा नलगेमा उक्त बजेट पनि फिर्ता हुन्छ’ थापाले भने, ‘आएको बजेट पनि खोजी नगर्ने कर्मचारीबाट बिकास निर्माण गराउन गाह्रो रहेछ ।’ उनले पटक पटक धाएर पनि पुल बनाउन नसकेको गुनासो गरे ।





