बागलुङ, ७ असोज – गत शैक्षिक सत्रमा ७ जना शिक्षक रहेको विद्यालयमा ६ जना मात्रै विद्यार्थी थिए । भएका विद्यार्थी समेत नियमित विद्यालय नआउने गरेका कारण विद्यालय सधैं सुनसान जस्तै हुन्थ्यो । बागलुङ बजार नजिकै रहेको गणेश प्राथमिक विद्यालयमा विद्यार्थी कम भएको धेरै समय बितिसकेको थियो । बागलुङ नगरपालिका–४ पाखाथरका अधिकांश विद्यार्थी बागलुङ बजारका निजी विद्यालयमा गएपछि विद्यालय सुनसान बन्न थालेको हो । एक बर्ष पहिलेसम्म शिक्षकभन्दा विद्यार्थी कम रहेको विद्यालयले यो शैक्षिक सत्रमा भने ८ वटा कक्षामा ४७ जना विद्यार्थीलाई बार्षिक परीक्षामा सहभागी गराउने छ । निजी विद्यालयकै मोडलमा कक्षा सञ्चालन भैरहेको विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म ८ वटा कक्षा सञ्चालन हुन थालेका छन् । विद्यार्थी संख्या न्युन रहेका विद्यालयहरुका विद्यार्थी र शिक्षकलाई पायक पर्ने विद्यालयमा व्यवस्थापन गर्ने भनी बागलुङ नगरपालिकाको शिक्षा समितिले निर्णय गरेपछि गणेश प्राथमीक विद्यालय व्यवस्थापनमा पर्ने पहिलो विद्यालय थियो । तर सोही निर्णयले नै विद्यालयले पुनःप्राण पाएको छ । ‘नगरले गरेको निणर्य कार्यान्वयन गर्नु पुर्व हामीले १५ दिनको समय माग्यौं’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बिक्रम क्षेत्रीले भने ‘१५ दिनमा समुदाय सँग छलफल गरेर विद्यार्थी संख्या पु¥याउन लाग्यौं ।’ अहिले विद्यालयमा सबै विद्यार्थी र शिक्षक समयमा आउँछन् । पठनपाठन पनि राम्रो हुन्छ र विद्यार्थी फेरी छोडेर निजी विद्यालयमा जाने अवस्था छैन् ।
विद्यालय व्यवस्थापन समिति र समुदायको सक्रियतामा निजी विद्यालयमा अध्ययन गरिरहेका ४१ जना विद्यार्थी अहिले गणेश प्राविमा फर्केका छन् । विद्यालय नै नरहने अवस्था सिर्जना भएपछि निजी विद्यालयकै पाठ्यक्रम लागु गर्ने अभिभावकहरुको सर्त पालना गर्दै विद्यालयले विद्यार्थी संख्या पु¥याएको हो । ‘स्वास्थ्य, शिक्षा र सुरक्षा अभिभावकहरुको सर्त थियो’ प्रधानाध्यापक कल्पना पौडेल शर्माले भनिन् ‘स्वस्थ्य, पानी, अंग्रेजी माध्याम र विद्यालय भवन परिसर तारबार गरेर विद्यार्थी संख्या पु¥याएका छौं ।’ विद्यालय भवन परिसरको तारबारका लागि वडा कार्यालयले सहयोग गरेको हो भने शुद्ध पानीको लागि युरोगार्ड ऋण काँडेर खरिद गरिएको उनले बताईन् । शिक्षा ऐनमा व्यवस्था भए अनुसार पहाडका विद्यालयहरुमा प्रतिशिक्षक ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ । बागलुङ नगरपालिकाले भने त्यसको १० प्रतिशत विद्यार्थी संख्या हुने विद्यालयले कक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । नगरको शिक्षा समितिले गरेको व्यवस्था अनुसार अब गणेश प्रा.वि.लाई विद्यार्थी संख्या नपुगेर व्यवस्थापनमा जानुपर्ने छैन् । अहिले नर्सरीमा १२ जना, एलकेजीमा ८ जना, युकेजीमा ७ जना, कक्षा १ मा ६ जना कक्षा २ मा ५ जना, कक्षा ४ र ५ मा ४÷४ जना विद्यार्थी छन् । कक्षा तीनमा भने गत बर्ष कक्षा २ मा विद्यार्थी नरहेको र निजी विद्यालयबाट आउने विद्यार्थी समेत नभएकाले खाली रहेको छ ।
‘हामीले गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता जनाएर विद्यार्थी फर्काएका हौं’ अध्यक्ष क्षेत्रीले भने ‘राज्यको ठुलो लगानी रहेका सामुदायिक विद्यालयको सुधार आवश्यक छ, जसको थालनी हामीले ग¥यौं ।’ पठनपाठनमा प्रभाव पर्न नदिनको लागि विद्यालयले बालबिकास केन्द्रका सहजकर्तालाई पनि अतिरिक्त समय उपल्ला कक्षामा दिन भनेको छ । तीन निजी स्रोतका शिक्षक, तीन जना दरवन्दीका शिक्षक र एक जना राहत दरवन्दीका शिक्षकले पठनपाठन गराईरहेका छन् । ‘पहिले विद्यार्थीको संख्या पनि धेरै थियो र विद्यालयहरु ठाउँठाउँमा खुलेका थिए’ नगर प्रमुख जनकराज पौडेल भन्छन् ‘नियुक्ती पाएबापत तलब र पढाउनका लागि भत्ता चाहिने मानसिकता शिक्षकहरुमा विकास हुँदा सामुदायीक विद्यालय मारमा परे ।’ गणेश प्राविले देखाएको सक्रियता अरु विद्यालयका लागि समेत उदाहरण भएको भन्दै पौडेलले विद्यालयको सफलतामा प्रशासन, व्यवस्थापन र समुदायको ठुलो दायीत्व रहेको बताए ।
कतै व्यवस्थापन, कतै घटुवा
गणेश प्रावि जस्तै नगरले बनाएको मापदण्ड पुरा नगर्ने अरु १८ वटा विद्यालय थिए । जसमध्ये ११ विद्यालय घटुवा भएका छन्भने ५ वटा विद्यालयका शिक्षक विद्यार्थी पायक पर्ने विद्यालयमा व्यवस्थापन भएका छन् । व्यवस्थापनमा जानुपर्नेमा परेको भगवती प्रावि बानपा–५ सिमले ७ जना विद्यार्थी जम्मा गरेर कक्षा १ मात्रै सञ्चालनको अनुमती पाएको नगर शिक्षा अधिकारी डण्डपानी शर्माले बताए ।
त्यस्तै बानपा–७ कालीमाटीमा रहेको ज्योती पुञ्ज प्राथमिक विद्यालयले पनि विद्यार्थी संख्या पु¥याएर कक्षा सञ्चालन गर्ने अनुमती पाएको छ । जनता प्रावि बानपा–१०, कृष्ण प्रावि, कोट भैरव प्रावि, कालिगण्डकी प्रावि बानपा–१२ र आदर्श प्रावि बानपा–१३ ले विद्यार्थी संख्या पु¥याउन नसकेका कारण नजिकैको विद्यालयमा समायोजन गरिएको शर्माले जानकारी दिए । घटुवा हुनेमा माध्यमिक र आधारभुत तहका बिद्यालय समेत छन्भने व्यवस्थापनमा प्राथमिक तह सञ्चालनमा रहेका विद्यालय मात्रै परेका छन् ।





