बागलुङ, ७ असोज – चार प्रकारका अपांगता भएकाहरुलाई छात्रावास सहितको पढाई गर्ने बिद्यालयहरु स्थापना र संचालन भएका छन् । बागलुङ नगरपालिका भित्रै चारै प्रकारका अपांगलाई पढाउने बिद्यालय बनेको हो । सदरमुकामस्थित बागलुङ नगरपालिका वडा नं. १ को रामरेखा आधारभूत विद्यालयले शारिरीक अपांग मैत्री छात्रावास संचालनमा ल्याएको छ । यस अघि अन्य अपांगताका लागि छात्रावास सहितको पढँई सुरु भैसकेको थियो । शारिरीक अपांगता भएका बालबालिका आबास र मैत्री भवन अभावले पढ्ने अबसरबाट वञ्चित थिए । नयाँ भवनका सबै कक्षाकोठामा पहुँच बढाएको र छात्रावास समेत बनेकोले सबै अपांगले पढ्न पाउने अबस्था आएको शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्यायले बताए । दृष्टी बिहिनका लागि बलेवा स्थित जनताधन माबिमा आबासीय व्यवस्था छ । त्यहाँ ५० जना सम्म अपांगलाई राख्न सकिन्छ । बहिराहरुका लागि सदरमुकाममै धौलागिरी बहिरा माबि संचालनमा छ । यहाँ देशभरका ३ सय बहिरा बालबालिका पढ्छन् । सदरमुकामकै उपल्लाचौरमा बिशेष कक्षा संचालनमा छ । यहाँ सुस्तमनस्थिति भएका ५० बढी बालबालिकालाई राखेर पढाउन सकिन्छ ।
शारिरीक अपांगताको श्रोत बिद्यालयको रुपमा स्विकृत पाएको रामरेखा आधारभूत बिद्यालयले २० जनालाई राख्न सक्ने क्षमताको छात्रावास बनाइसकेको छ । अपांगलाई खानेबस्ने व्यवस्थाका लागि पूर्वाधार निर्माण भैसकेको हो । प्लान इन्टरनेशनलले १ करोड लागतमा बनाईदिएको छात्रावास भवनमा खाने बस्ने व्यवस्था छ भने बिद्यालयको माथिल्लो तला सम्म ¥याम मार्फत जान सकिने व्यवस्था गरिएको प्रअ धनकुमारी पराजुलीले बताइन् । नेपाल ट्रष्ट अमेरिकाको ३६ लाख रुपैयाँको लागतमा बनेको भवनमा यहाँको धौलागिरी एकीकृत ग्रामीण बिकास केन्द्र नामक गैरसरकारी संस्थाले १६ लाख रुपैयाँ दिएपछि बिद्यालयले ¥याम्प बनाएको हो । ‘चारै प्रकारका अपांगता भएका व्यक्तिलाई राखेर पढाउन र खानेबस्ने व्यवस्था भएका बिद्यालय देशैभरी कतै छैन’ उपाध्यायले भने, ‘पूर्वाधारको रुपमा हामी सम्पन्न भएकोले अब अपांगता भएकै कारण पढाईबाट वञ्चितलाई कक्षा कोठामा भित्राउनु पर्छ ।’ भर्ना अभियानमा नआएका अपांगलाई खोजेरै बिद्यालय ल्याउने अभियान संचालन भैरहेको बागलुङ नगरशिक्षा अधिकारी दण्डपाणी शर्माले बताए । अपांगता भएकै कारण नेपालमा सबैभन्दा धेरै बालबालिकाहरु बिद्यालय तहमा भर्ना हुनबाट वञ्चित भएको तथ्यांक छ । हाल भर्ना हुन नसकेका ३ प्रतिशत बालबालिका मध्ये सबैभन्दा धेरै अपांग र दलीत समुदायका भएको शिक्षा मन्त्रालयको तथ्यांक छ । सडक बालबालिका, मजदुरका छोराछोरी र अपांग बालबालिका लाई बिद्यालयमा पु¥याएर गुणस्तर वृद्धि गर्दा शतप्रतिशतमा पुग्न सकिने पराजुलीले बताइन् । ‘अपांग भएकै कारण घरबाट बाहिर जान नदिने सम्मका घटना थिए’ पराजुलीले भनिन्, ‘अपांग जन्मेकोले आमाले दूध नचुसाएकी बालिका हामीले ल्याएर पढाउन भर्ना गरेका छौं ।’ समाजमा अझै अपांग प्रति हेर्ने दृष्टीकोण परिवर्तन गर्न जागरण अभियान चलाउनु पर्ने उनले बताइन् । छात्रावास संचालन भएका बिद्यालयमा स्थानीय तहले सहयोग गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘बालबालिकाको आधारभूत अधिकार दिलाउन नगरले पनि सक्दो सहयोग गर्छ’ पौडेलले भने, ‘अब कोहीपनि शिक्षाबाट वञ्चित नहुन् भनेर सचेत छौं ।’ दरबन्दी नपुगेका स्थानमा नगरपालिकाले उपलब्ध गराएको पनि उनले बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीले भने अपांग छात्रछात्राका लागि आउनुपर्ने अनुदान रकम नपाएको गुनासो गरे । अपांग बालबालिका छात्रावासमा राखेर पढाउने भएकोले प्रति विद्यार्थी ३ हजारको दरले एकमुष्ट ३० हजार रुपैयाँ आउने व्यवस्था छ । गत बर्ष भने व्यवस्थापन समितिले जिम्मा लिएर बिद्यालय संचालनमा ल्याएको थियो । ढीलागरी छात्रछात्रा जुटेकोले रकम नआएको नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले बताए । ‘चालु बर्षको लागि बजेट आउँछ, गत बर्षको हकमा नगरपालिकाले बजेट बिनियोजन गरेको, बालबालिका पनि एकदुइजना मात्र भर्ना गरेको र सूचिकृत नभएकोले बजेट नपुगेको हो’ शर्माले भने, ‘दुइ जना आयाको लागि समेत तलब आएको छ ।’ गैरसरकारी संस्थाहरुले समेत साथ दिएकोले बिद्यालय सहजै संचालन हुने उनले बताए ।





