बागलुङ,८ असोज – बागलुङको बडिगाड गाउँपालिकाले पौराणिक पोखरीको संरक्षणका लागि बिनियोजन भएको बजेट रुख फँडानीमा खर्च गरेको छ । गत आर्थिक बर्षमा वडा नं. ५ मा पर्ने केशा पोखरी संरक्षणको लागि छुट्टाईएको ५ खाल रुपैयाँ पोखरी आसपासका रुख फँडानीमा खर्च भएको हो ।
पोखरी संरक्षण गरेर भ्यू टावर निर्माण गर्ने भन्दै त्यसका लागि संरचना निर्माणको बहानामा पोखरी आसपासका झण्डै दुई सय रुख फँडानी गरिएको हो । ‘गत आर्थिक बर्षमा पोखरीको परिसर बनाउने भनेर पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो’ वडा नं ५ का अध्यक्ष अर्जुन खरेलले भने ‘म अनुगमनका लागि गएको छैन्, पोखरी वरिपरिको झाँडी फँडानी गरेको सुनेको छु ।’ पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि भन्दै गाउँपालिकाले प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरेको थियो ।
अपायकमा रहेकाले एक वडा सदस्यको जिम्मामा उक्त योजनाको अनुगमन छोडेको खरेलले बताए । उपभोक्ता समितिमार्फत उक्त पोखरी संरक्षण योजनाको काम भएको थियो । पोखरीको कम्पाउण्ड निर्माण गर्ने भनिए पनि झाँडी फँडानीकै स्टमेट भएको गाउँपालिकाका इन्जिनियर दिनबन्धु शाहले बताए ।
‘पोखरीको वरिपरि झाँडी र काँडाका रुख थिए’ शाहले भने ‘त्यसको व्यवस्थापन नगरी भ्यू टावर निर्माण र पोखरीको कम्पाउण्ड नहुने भएकाले झाँडी फँडानी गरिएको हो ।’ पोखरी वरपर रहेका गुराँस, खर्सु लगायतका पुराना रुखमात्रै कटान गर्ने गरी स्टमेट गरेको उनको दाबी छ । ‘१ सय ५० देखि २ सय रुख काटिएका छन्, जुन रुखहरु काठ हुने खालका वा प्रतिबन्धित होईनन्’ शाह भन्छन् ‘पोखरी र भ्यूटावरकै लागि रुख काँटिएका हुन, त्यसले वातावरणमा फरक पार्दैन ।’ केशा पोखरी वडा नम्बर ५ सिमाकको केशा पोखरी पशुपंक्षी संरक्षण तथा सामुदायीक बन क्षेत्रमा पर्छ ।
गाउँपालिकाकै उच्च स्थानमा रहेको पोखरीको संरक्षण गर्दा तल्लो क्षेत्रका पानीका मुहानको पनि संरक्षण हुने भएकाले आसपासको झाँडीसँगै केही साना रुखहरु कटान भएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । ‘वन मासिने गरेर होईन, झाँडी पन्छिने गरेर फँडानी गरिएको हो’ पाईजाले भने ‘पर्यटकीय क्षेत्र बनाउनका लागि यसो गरेका हौं ।’ यो योजना पालिका अध्यक्ष पाईजाको गाउँछेउमा पर्छ । पर्यटन र कृषि क्षेत्रमा रुची राख्ने पालिका अध्यक्ष पाईजाकै सक्रियतामा पोखरी संरक्षणका लागि बजेट बिनियोजन भएको थियो ।
सामुन्द्रिक सतहबाट झण्डै २७ सय मिटरको उचाईमा रहेको पोखरी आसपासबाट गण्डकी प्रदेश र प्रदेश नं ५ का बिभिन्न ९ जिल्लाको अवलोकन गर्न सकिन्छ । रुख काटेर बनाईने ताललाई पालिकाले गौरवको योजना भनेको छ । गौरवकको आयोजना भएकाले यस बर्ष पनि उक्त पोखरीको लागि ५ लाख रुपैयाँ बजेट बिनियोजन भएको पाईजाले बताउँछन् ।
पोखरीमा रहेको पानीको स्रोत अपर्याप्त रहेकाले अन्य स्रोतबाट पानी ल्याएर पोखरीको आकार बढाउने योजना पनि गाउँपालिकाले बनाएको छ । रुख फाँडिएको क्षेत्रमा पोखरीको पुनःनिर्माणसँगै भ्यूटावर निर्माण, खानेपानीको प्रबन्ध, शौचालय निर्माण, पदमार्ग निर्माण र अन्य पूर्वाधारहरु निर्माण गर्ने योजना रहेको अध्यक्ष पाइजाको भनाई छ ।
कुनै पनि सामुदायीक वनले योजना निर्माणका क्रममा कार्यक्रम तय गरेको र त्यसको प्रभाव सकरात्मक पर्ने भएमा सामुदायीक बन भीत्रका रुख कटान गर्न पाउने व्यवस्था छ । ‘वातवरण मासिनेगरी रुख काट्न पाईंदैन तर समुहले चाहेमा प्रतिबन्धित बाहेकका रुख काट्ने वा कलमि गर्न पाउँछ’ सामुदायीक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य प्रेम लामिछानेले भने ‘काठ दाउरा कति निकाल्ने भन्ने पुर्व निर्णय हुनुपर्छ ।’





