शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ नगरकार्यपालिकाको बिषयगत समिति भंग

बागलुङ नगरकार्यपालिकाको बिषयगत समिति भंग


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७६, शुक्रबार

बागलुङ, १० असोज – झण्डै साँढे दुई महिनापछि बसेको बागलुङ नगरकार्यपालिकाको बैठकले बिषयगत समिति भंग गरेको छ । नगरपालिकामा ६ वटा बिशेष समिति थिए । ती समितिले उचित काम गर्न नसकेको, समय सापेक्ष प्रतिवेदन पेश गर्न नसकेको लगायतको टिप्पणी भएपछि बुधबारको बैठकले समिति भंग गरेको हो ।
नगरपालिकामा सार्वजनिक सेवा प्रवाह तथा सुशासन, आर्थिक बिकास, बिधेयक, पूर्वाधार, वातावरण तथा विपत व्यवस्थापन र सामाजिक बिकास समिति थिए । त्यस्तै मानव श्रोत व्यवस्थापन उपसमिति पनि थियो । ती सबै समिति खारेजीमा परेका हुन् । ‘अहिले सम्मका समितिले खासै राम्रो काम गर्न सकेका थिएनन्, कुनै प्रतिवेदन पनि दिएका थिएनन्’ वडा नं. १२ का अध्यक्ष गुरुदत्त पाठकले भने, ‘बिषयगत समितिको कामप्रति मेयरसाप पनि सन्तुष्ट हुनु भएको थिएन ।’ ती समितिको पुर्नगठन आगामी बैठकमा गरिने तय भएको उनले बताए ।
पूर्वाधार बिकास समितिका संयोजक रहेका वडा नं. ४ का अध्यक्ष धु्रबबहादुर केसीले भने अरु साथीलाई पनि अवसर दिने भनेर खारेजी गरिएको दाबी गरे । ‘हामी बस्दा अरु साथीलाई पनि काम गर्ने चाहना थियो होला, पालो गरौं भनेर खारेज गरिएको हो’ केसीले भने, ‘फेरी नयाँ समिति गठन गरेर जान्छौं ।’ सामान्यतया बिषयगत समितिमा व्यापक छलफल भएपछि मात्र कार्यपालिकामा एजेण्डा गएपछि निर्णय गरिन्छ । त्यस्तै कार्यपालिकाको निर्णय हरुलाई अनुमोदन गर्न बर्षको दुईपटक नगर परिषद बस्ने चलन छ । ती क्रियाकलाप शुन्य प्रायः भएको र पटक पटक टिकाटिप्पणी समेत भएको एक सदस्यले बताए । कार्यपालिकाको बैठकले कर्मचारीको सेवा सुविधा घटाउने बिषयमा समेत छलफल चलाएको छ । सामान्यतया कर्मचारीको खाईपाई आएको सुविधा नघटाउने भन्ने प्रावधान हुन्छ । तर बागलुङ नगरपालिकाले स्थानीय तहमा खाइपाई आएको १२ प्रतिशत भत्ता कटौतीका लागि अध्ययन गर्न ३ सदस्य रहेको समिति गठन गरेको छ । वडा नं. ६ का अध्यक्ष खेमराज सापकोटा, वडा नं. २ का अध्यक्ष जीवन आचार्य र कार्यपालिका सदस्य नविक किसान सदस्य रहेको समितिले प्रतिवेदन बुझाएपछि कर्मचारीको सेवा सुविधा कटौती गरिनेछ । यो बिषयमा बैठकमा जनप्रतिनिधिहरु दुई धारमा बाँडिएका थिए । करारमा राखिएका कर्मचारीको कार्यक्षमता राम्रो र स्थायीको सन्तोषजनक नभएको भेटिएको समेत कार्यपालिकामा टिप्पणी भएको थियो ।
बहुचर्चित खानेपानी आयोजनाको कागजात अख्तियारले मगाएपछि बैठकमा चर्काचर्की भएको थियो । उक्त समस्या समाधानका लागि कार्यपालिकाले तत्काल खानेपानी तथा सरसफाई डिभिजन प्रमुख, भवन डिभिजनका प्रमुख र नगरपालिकाका प्रमुख ईन्जिनियर रहेको तीन सदस्य टोलीले आयोजनाको अध्ययन गर्ने भएको छ । उपप्रमुख नेतृत्वमा भैरहेको अनुगमन र मितिले ल्याएका बिज्ञको समेत राय सल्लाह लिएर पुनः अध्ययन गरेपछि साझा बुझाई बनाउने तयारी भएको हो । बागलुङको वडा नं. १३, वडा नं. ४ र वडा नं. ६ का तीनवटा खानेपानी आयोजनामा लागत स्टिमेटभन्दा बढी बिलभरपाई बनाइएको टिप्पणी भएको थियो । उक्त बिलभरपाईको नगरपालिकाले भुक्तानी रोकेको छ ।बागलुङ नगरपालिका पूर्वाधार बिकासमा पनि कमजोर देखिएको छ । गत आर्थिक बर्ष नगरपालिकाका लागि आएको बिशेष अनुदान तर्फको ३ करोड ६८ लाख रुपैयाँको बजेट खर्च गर्न नसकेको हो । उक्त बजेटको प्रशासनिक खर्च तर्फको १२ प्रतिशत मात्र रकम खर्च भएको देखिएपछि काममा भएको ढिलासुस्तीबारे धेरै बहस र आलोचना समेत भएको थियो । ‘नगरमा भित्रिएको बिकास बजेटको ८८ प्रतिशत खर्च गर्न नसक्नेले के काम गर्ने’ पाठकले भने, ‘भौतिक प्रगती पनि नगर्ने, सधै बदनाम कमाउने मात्र भयो ।’ अन्य धेरै परियोजना समेत अलपत्र पर्ने, बजेट अनुसारको काम नगर्ने प्रवृत्ति अब अन्त्य गरिनुपर्ने कार्यपालिका सदस्यहरुले आबाज उठाएका थिए । अघिल्लो बर्षको तुलनामा बेरुजु भने घटेको देखिएकोले केही सदस्य सन्तुष्टी देखिन्थे ।
बागलुङ नगरपालिकाले गरेका कामभन्दा वडा तहमा भएका कामको प्रगती राम्रो देखिएको समेत वडा अध्यक्षहरुले बताए । ‘नगरपालिकाले ६५ प्रतिशत प्रगती देखायो, हामीले ९८ प्रतिशत देखायौं’ पाठकले भने, ‘वडामा बजेट पठाउ, काम गरेर हामी देखाउँछौं ।’ अनुदान दिने, सवारी मर्मत र ईन्धनमा लाखौं खर्च भएको देखिनुलाई राम्रो मान्न नसकिने उनले टिप्पणी गरे ।
गत बर्ष तामझामका साथ एक बर्षमै सकिने भनिएको बागलुङ बसपार्कको काम एक चौथाई पनि पुरा भएको छैन । उक्त बसपार्क समयमा नबन्ने भएपछि पुर्नमूल्यांकन गर्ने, पुन लागत स्टिमेट गर्ने र काम भएको भुक्तानी दिएर फेरी नयाँ मिति तोकेर काम थाल्नेमा जनप्रतिनिधिहरु पुगेका छन् । एक बर्षमै सक्ने भनिएको बसपार्क अहिले कुनै प्रगती हुन सकेको छैन । यहाँ निर्माण गर्न लागिएको एउटा भवन समेत तयार भएको छैन । बसपार्क आसपासमा बनाइने संरचना र बसपार्कको मुख्य खण्डको काम समेत अगाडि बढेको छैन । उक्त कामको अनुगमन र मूल्यांकन समेत पूर्वाधार समितिले गर्नु पथ्र्यो । समितिले कुनै काम नगरेको आरोप समेत लागेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->