शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वास्थ्य अधिकारप्रति सरकार गम्भिर : मन्त्री पुन

स्वास्थ्य अधिकारप्रति सरकार गम्भिर : मन्त्री पुन


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७६, बुधबार

बागलुङ,१५ असोज –  गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले नागरिकको स्वास्थ्य अधिकारलाई पुरा गर्न सरकार लागेको बताएकी छिन् । संविधानले स्वास्थ्यको अधिकारलार्य मौलिक हकको रुपमा बिकास गरेकोले स्थानीय, प्रदेश र संघिय सरकारले अधिकार स्थापित गर्न पहल गरेको समेत बताईन् ।

धौलागिरी अञ्चल अस्पतालको नवनिर्मित बी ब्लकको उद्घाटन गर्दै मन्त्री पुनले अस्पतालको भौतिक, प्रशासकीय र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले कुनैपनि प्रकारको सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता जनाईन् । उनले मृगौलाको डायलाएसिस केन्द्रलाई अझै प्रभावकारी बनाउन कार्यक्रमहरु बनाउन समेत आग्रह गरिन् । मन्त्रालयबाट पूर्वाधार, उपकरण लगायतमा साथ र सहयोग दिने समेत उनको भनाई थियो ।

लामो समय अलपत्र रहेर निर्माण सम्पन्न भएको अस्पतालको भवन केही समय अघि प्रयोगमा ल्याइएको थियो । उक्त भवनको मंगलवार औपचारिक रुपमा उद्घाटन गराइएको हो । भवनमा बिशेषज्ञ सेवा, फार्मेसी, निशुल्क औषधि बितरण कक्ष र शवगृह समेत राखिएको छ । अण्डर ग्राउण्डमा शवगृह गराखिएको छ भने माथिल्लो तलामा सेवाप्रवाहका कक्ष राखिएको हो ।
२०६६ सालमा जिल्ला अस्पताललाई स्तरउन्नती गरेर अञ्चलमा रुपान्तरण गरेपछि अस्पताल भवनहरु निर्माण थालिएको थियो । यो अस्पताल लामो समय सम्म एउटा भवनमा मात्र संचालन भयो । त्यतिबेला डाक्टरहरु नबस्ने कारणले उपचार सेवा पनि प्रभावकारी थिएन । दैनिक ५० जना बिरामी आउँदा पनि सेवा नपाएर फर्कने अवस्था थियो । एक बर्ष अघि अस्पताल व्यवस्थापन समितिमा आएपछि केवी राना नेतृत्वको समितिले सुधारका काम थाल्यो । अहिले अस्पतालमा बिशेषज्ञ डाक्टरहरु बस्न थालेका छन् । सेवा प्रवाह चुस्त भएको रानाले बताए । ‘हामीले धेरै मेहेनत गरेर अस्पताल सुधार गरेका छौं, अझै धेरै काम गर्दैछौं’ रानाले भने, ‘काम नगरी खानेलाई कारवाही गर्ने र काम गर्नेलाई प्रोत्साहन गर्ने भनेका छौं ।’ २० प्रतिशत ठगेपनि ८० प्रतिशत काम गर्दा अस्पतालमा धेरै सुधार गर्न सकिने उनले बताए ।
दशबर्ष अघि ठेक्का लिएको मिलेनियम बिल्डर्सले कहिले प्राविधिक कारण, कहिले अन्य कारण देखाएर काममा ढीलाई गरेको थियो । पहिलो भवन भने समयमै सकिएर तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेका थिए । उक्त भवनमा सबै काम गर्नुपर्दा सास्ती भएको थियो । हाल दुइवटा भवन बनेपछि ४९ वटा कोठा पुगेको व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । यी भवन र कोठाबाट राम्रो सेवा थालिएको उनले बताए । अस्पतालमा अहिले ८ जना बिशेषज्ञ सहित २३ जना डाक्टर कार्यरत छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले सुधारका लागि सबैको साझा अभियान चलेको समेत बताए । अस्पतालमा आउने बिरामीले अबदेखि सेवा नपाएर फर्कनु नपर्ने बनाउन खोजिएको पनि उनले बताए । ‘उपकरण र बिशेषज्ञ नभएको खण्डमा नहुने काम बाहेक अरु सेवा दिएर पठाएका छौं’ उनले भने, ‘औषधि बितरण, बिक्री, उपचार सेवा, ओपिडी लगायतका सबै सुधार गरिएको छ ।’ सबै डाक्टर एउटै कोठामा बस्दा परेको अप्ठ्यारो अहिले हटेको भन्दै उनले एक्सरे कोठामा बसेर सेवा दिएको दिन पनि स्मरण गरेका थिए । गतबर्ष डाक्टर बस्ने कोठा समेत नभएर एक्सरे कोठाको बिरामी बस्ने कोठा बारेर पनि उपचार दिइएको थियो । भवन बनेपछि धेरै सहज रुपमा काम संचालन भएको उनले बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरको अध्यक्षता, शालिकराम शर्माको संचालन र पोखरेलको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, नेकपाका सदस्य लालबहादुर थापा, शम्भू आचार्य लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->