बागलुङ, २४ असोज – ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले जलाशययुक्त उत्तरगंगा हाईड्रोपावर परियोजना बागलुङ मै बन्नुपर्ने बताएका छन । ढोरपाटनको उत्तरगंगा नदीबाट अन्त कतै परियोजना निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ, नगरप्रमुख नेपालीले भने, उत्तरगंगा नदीलाई निसीखोला गाउँपालिकामा सुरुङ मार्फत खसालेर निर्माणका लागि मैले सम्बन्धीत निकायमा पहल गरिरहेको छु ।
निसीखोला गाउँपालिका ६ मा रहेको दलित सन्जाल भल्कोटले विजयादशमी तथा दोस्रो बार्षिक उत्सवका अवसरमा आयोजित दशै विशेष कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख नेपालील नेतृत्व तहमा रहनेहरुको व्यक्तिगत लाभहानीका कारण राष्ट्रिय गौरवको योजनाहरु थला पर्ने गरेको बताए । उत्तरगंगा हाईड्रोपावर परियोजनालाई पनि त्यसको सिकार बनाउन खोजिएको भन्दै उनले परियोजना बागलुङमा निर्माण गर्नका लागि सबै एकताबद्ध भएर अगाडी बढ्नुको बिकल्प नभएको वताए ।
कार्यक्रममा नगर प्रमुख नेपालीले सञ्जालका लागि १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे । सञ्जालले जातिय तथा लैंगिक भेदभाव, बाल बिवाह, बहुविवाह जस्ता सामाजिक कुरिती, कुसँस्कार विरुद्ध काम गर्दै आईरहेको छ । सो अवसरमा ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले स्थानिय पञ्चेबाजा, आमा समुह तथा झाँकी समुहलाई नगद सहित सम्मान गरेका थिए ।
निसीखोला गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष कुविर विश्वकर्मा, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सदस्य प्रेम घर्ति मगर, नेकपाका जिल्ला कमिटि सदस्य कुशल बुढा मगर, दलित सञ्जाल निसीखोला गाउँपालिका अध्यक्ष रिम बहादुर विश्वकर्मा लगायतले बोलेका थिए । सञ्जालका अध्यक्ष नैनासिंह घतानको अध्यक्षतामा भएको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं.१ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, नेकपाका जिल्ला कमिटि सदस्य टंक प्रसाद पौडेल, नेकपा निसीखोला गाउँ कमिटि सचिव रुद्र पौडेलको आतिथ्यता थियो । विमला पटेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने झम सिर्पालीले गरेका थिए ।





