बागलुङ,२५ असोज – गण्डकी प्रदेशका प्रदेश मामिला सभापती तथा बागलुङ क्षेत्र नं १ को २ का प्रदेश सभा सदस्य कृष्ण थापाले प्रदेश सरकारसँग जनताका सबै समस्याको सम्बोधन गर्ने क्षमता नरहेको बताएका छन् । जनताका हरेक समस्याका बिषयमा कुरा उठाँदा प्रदेश सरकारले स्रोत नभएको बताउने गरेको भन्दै थापाले प्रदेश सरकार गरीव भएको बताए ।“प्रदेश सरकार गरीव छ अरे“ अफ्नै निर्वाचन क्षेत्रको एक कार्यक्रममा सर्वसाधारणलाई सम्बोधन गर्दै थापाले भने “हामीले माग्दा केही छैन भन्छन, आशा नगर्नुहोस सरकार सँग पैसा छैन अरे ।“ प्रदेश सरकारले बजेट बिनियोजन गरेर सञ्चालन हुने योजनाहरु सुगम र दुर्गमलाई एकै ठाउँमा राखेर मुल्यांकन गर्दा कम बिकास भएका ठाउँको बिकास गर्न कठिन भएको थापाले बताए । स्रोत साधनले सम्पन्न रहेको केन्द्र सरकारले बिकास निर्माणमा चासो देखाउनुपर्नेमा छिटफुट प्रदेशबाट भएका कामको समेत केन्द्र सरकारले जस लिन खोजेको थापाको आरोप थियो । बागलुङको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाको नावौं साधारण सभालाई शनिवार नारायणस्थानमा सम्बोधन गर्दै थापाले सहकारीहरुले ऋणि बढाउने भन्दा उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । “सहकारीले ऋणी बढाउने होईन दिर्घकालिन फाईदा हुने खालका उत्पादन शिल क्षेत्रमा लगानी गर्नुपर्छ“ थापाले भने “आर्थिक उपार्जन र रोजगारी सिर्जना हुनेगरी लगानी गर्नुहोस ।“
साधारणसभाले सचिवको प्रगती प्रतिवेदन, कोषध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतीले पारीत गरेको छ । १ हजार ३ सय २ जना शेयर सदस्य रहेको सहकारीको १ करोड ६० लाख ४१ हजार ५ सय शेयर पूँजी र ११ करोड ६३ लाख ७० हजार ३ सय ८८ रुपैयाँ निक्षेप संकलन रहेको प्रबन्धक भरत पौडेलले बताए । बिप्रेसणको कारोवार समेत गर्दै आएको सहकारीले महिला शेयर सदस्य बढी बनाएको छ भने साना उद्याम तथा घरेलु उत्पादनहरु लगानी गर्दै आएको छ । संस्थाका अध्यक्ष दिपेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पूर्व अध्यक्ष ढुण्डीराज शर्मा र सञ्चालन प्रबन्धक भरत पौडेलले गरेका थिए ।





