बागलुङ, २९ असोज – आगामी मंसिर १४ गते हुने प्रदेशसभाका लागि हुने उपनिर्वाचनमा बागलुङ क्षेत्र नं. २ को (२) मा कांग्रेसले चारजनाको नाम उमेदवारको रुपमा सिफारिस गरेको छ । क्षेत्रीय समिति मार्फत यस अघिका उमेदवार जित शेरचन, क्षेत्रीय सभापति द्रोण कुँवर, तुलासिंह घर्ती र टेकराज पौडेललाई सिफारिस गरेको हो । उमेदवार घोषणा भने केन्द्रीय समितिले गर्नेछ । शेरचन, घर्ती र पौडेल महाधिवेसन प्रतिनिधि हुन् । यस अघि भएको प्रदेशसभा निर्वाचनमा नेकपा र राष्ट्रिय जनमोर्चाको बाम गठबन्धनबाट राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए । यसपटक भने अहिले सम्म बाम गठबन्धन हुने नहुने निश्चित भएको छैन । नेकपाले माओवादी र एमालेको एकीकरण भएकोले आफ्नै उमेदवार उठाएर चुनाव जित्ने बिष्लेषण गरेको छ ।
यस अघि बाम गठबन्धनबाट आफ्नो दलले उमेदवार पाएको स्थान भएकोले राजमोनै उमेदवार हुनुपर्ने अध्यक्ष अमर थापाले बताए । ‘सबै कुरा भैसकेको छैन, तर हाम्रो उमेदवार हुनुपर्छ भन्ने हो’ थापाले भने, ‘साथीहरुले एक्लाएक्लै जाने योजना बनाए भने हामी पनि एक्लै वा समिकरण फेरेर पनि जान सकिन्छ ।’ नेकपाका अध्यक्ष इन्द्रलाल सापकोटाले अहिले सम्म छलफलकै चरणमा भएको बताएका छन् । कांग्रेसका क्षेत्रीय सभापति कुँवरले यो पटकको चुनाव पनि बाम भर्सेस कांग्रेस हुने बताए । अन्तिम अबस्थामा केही फरक हुन सक्ने संभावना बाहेक एकल निर्वाचनमा जाने तयारीमा कांग्रेस पुगेको उनले बताए ।





