शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पञ्चकोटमा मनोरेल बनाउन पहल

पञ्चकोटमा मनोरेल बनाउन पहल


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७६, बुधबार

बागलुङ, २९ असोज – केही समयअघि केवलकारबाट बागलुङको पञ्चकोट जोड्ने योजना पछि पार्दै स्थानीयले मनोरेल बनाउन पहल गर्ने निर्णय गरेका छन् । गत शनिबार भएको पञ्चकोट बिराट श्रीसभामा पञ्चकोट पर्यटन परिषदका अध्यक्ष कमलनयन आचार्यले राखेको प्रस्तावमा सहभागीले ध्वनी मतले पारित गरेका हुन् । केवलकार बनाउँदा आउने पर्यटकहरु सिधै पञ्चकोट पुग्ने भएकोले यहाँको लहरेपिपल, सिम, भान्सासहित वडा नं. ४, ५ र ६ का स्थानीयले बिरोध गरेका थिए । नगरपालिकाले चीनको एक कम्पनीलाई बोलाएर केवुलकार बनाउने प्रस्ताव राखेपछि स्थानीयले बिरोध गर्दै आएका थिए । श्रीसभामा कमलनयन आचार्यले रेल पनि चाहिन्छ, तर पछि बनाउँला, अहिले मनोरेल बनाउने अभियानमा सबै जुटौं भन्दा ध्वनी मतले पारित भएको हो । प्रस्ताप पारित गर्दा परिषदका महासचिव तथा पूर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, स्थानीबासिन्दा, जनप्रतिनिधिसहित सहभागी थिए । मनोरेलमा पनि एकैपटक धेरै मानिस सहजै आउजाउ गर्न सक्छन् । मनोरेल रमाईलो गरी घुमाउरो बाटोमा सदरमुकाम देखि पञ्चकोट लैजान सकिनेछ ।
मनोरेल अहिलेसम्म नेपालको कुनैपनि स्थानमा संचालनमा छैन । मनोरेलका लागि जग्गा जमिन धेरै खर्चनु पनि नपर्ने भएकोले स्थानीयले त्यसतर्फ आर्कषण बढेको समेत बताए । ‘गुरुले राख्नुभएको प्रस्तावमा सबैले समर्थन गर्नु भएको छ, केही होला जस्तो छ’ वडा नं. ६ का अध्यक्ष खेमराज सापकोटाले भने, ‘अब सधै पैसा खर्चेर स्थानीयले पञ्चकोट बनाउन नसक्ने भएकोले दाताको खोजी गर्ने समेत कुरा भएको छ ।’ आचार्यले पनि बर्षेनी स्थानीयलाई दान गर्न लगाएर पञ्चकोट बनाउन नसकिने बताएका छन् । उनले बिशेष दाता खोज्ने, मनोरेल बनाउन लगाउने र उक्त रेलमा स्थानीयलाई पनि शेयर राख्न लगाउने बताए । लगानी गरेपछि स्थानीयले पनि मुनाफा पाउने भएकोले सबैको आर्कषण बढ्ने उनले जिकिर गरे । मनोरेल गाउँगाउँ घुमाएर पनि लैजान सकिने उनले आश्वासन दिएका छन् । मनोरेलको आसपासको जग्गा महंगो र महत्वको बन्ने भएकोले सबैलाई जग्गा उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् । काठमाण्डौ उपत्यकाको चक्रपथ आसपासमा मनोरेल बनाउने चर्चा चलेको थियो । कार्यान्वयनको चरणमा भने अहिलेसम्म कतैपनि थालनी भएको छैन । ठेक्कामा मनोरेल, पञ्चकोटको कलस र अन्यसंरचना बनाउन भने नलगाउने उनले प्रष्ट्याए ।
निजी कम्पनी खोजेर काममा लगाएपनि नियमित अनुगमनको काम भने परिषदले गर्नेछ । कुन कम्पनीलाई बनाउन लगाउने भन्ने उनले खुलाएनन् । बागलुङ नगरपालिकाको अगुवाईमा केवलकार बनाउन यसअघि चिनिया कम्पनीले अध्ययन समेत गरेको छ । चिनको ‘बेइजिङ गुडयु रोपवे ईन्जिनियरिङ कम्पनी’ले प्रारम्भिक अध्ययन गरेर केवलकार बनाउन सकिने प्रतिवेदन समेत दिएको हो । नगर प्रमुख जनकराल पौडेलको आग्रहमा नेपाली इन्जिनियर श्याम अधिकारीले चिनियाँ कम्पनीस“ग सम्पर्क गराएका थिए । एक महिनाको अध्ययनपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रुआन बिआईओले संभाव्यताको प्रतिवेदन सार्वजनिक गरेपछि स्थानीयले बिरोध गरेका थिए । ‘केवलकार बनेपछि पर्यटक माथिबाट जाने, फोहोर तल फाल्ने काम हुन्छ’ स्थानीयले भने, ‘गाउँमा पर्यटक आउने वातावरण समाप्त हुन्छ ।’ नेपालमा पहिलो पटक काम गर्न आउन खोजेको यो कम्पनीले काम थालेको १ बर्षभित्र सम्पन्न गरेर देखाउने समेत दाबी गरेको छ । सा“ढे २ किमी लामो केवलकारका लागि ७ सय १० मीटर उचाइको संरचना निर्माण गर्दा दैनिक ३ हजार जनासम्म यात्रीले आउजाउ गर्न सक्ने बताइएको थियो ।
कम्तिमा ५० करोड रुपैया“ लाग्ने अनुमान गरिएको यो परियोजना आसपासमा भौतिक संरचना निर्माण, पर्यटकीय अन्य आर्कषणका क्षेत्र समेत बनाइसक्दा ८० करोड खर्च हुने अनुमान छ । एकसय ८ फिट अग्लो कलससहित धार्मिक गन्तव्य निर्माण गर्न लागिएको पञ्चकोटको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । डिपिआर अनुसार काम गर्दा कम्तिमा २ अर्ब खर्च हुने अनुमान छ । डिपिआरमा ३२ करोडमा कलस बनाउने उल्लेख छ । तामाको कलस बनाइने भएकोले खर्चिलो हुने परिषदका प्रतिनिधि अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए । यो स्थान पर्यटक आर्कषित गर्ने पहिलो गन्तव्य बन्ने उनले बताए । यहाँ बन्ने कलसको पहिलो तल्लामा भवनको कोठा बन्नेछ । त्यसपछि कलस आकृति र माथिल्लो भागमा ब्रम्हाण्डको चित्र अंकित हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->