बागलुङ,३० असोज – समाचार लेखेकै आधारमा पत्रकार लोकेन्द्र सुनुवारलाई धम्कि दिनेहरुलाई कारवाही गर्न पत्रकार महासंघ जिल्ला शाखा बागलुङले माग गरेको छ । बिहिबार प्रेस बिज्ञप्ती जारी गर्दै महासंघले रेडियो परिवर्तन बुर्तिबाङका प्रबन्ध निर्देशक लोकेन्द्र सुनुवारलाई समाचारको बिषयलाई लिएर दिईएको धम्किको सत्यतथ्य छनविन गरी दोशी उपर कानुनी कारवाहीको माग गरेको हो । सचिव राम थापा ‘अविरल’ले हस्ताक्षर गरेको विज्ञप्तीमा पत्रकार महासंघका कार्य समिति सदस्य समेत रहेका सुनारलाई धम्कि दिने कार्य प्रेस स्वतन्त्रता विरुद्धको कार्य भएको भन्दै कानुनी कारवाही गर्न प्रशासनिक निकाय समक्ष माग गरेको हो । विज्ञप्तीमा समाचारको विषयमा स्थानीय युवाको एक समुहले नीजि निवासमै पुगेर धम्की र दुव्र्यवहार गरेको भन्दै त्यस घट्ना प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा ‘बुर्तिबाङमा जारी मेलामा ‘खेलको नाममा पैसा लुट्नेको बिगबिगी’ शिर्षकमा ई–बागलुङमा प्रकाशित समाचारको विषयलाई लिएर असोज ३० गते विहानको समयमा मेला आयोजक संस्था बुर्तिबाङ राईजिङ युवा क्लवका उपाध्यक्ष सुरज विक, मोतिलाल विक ‘मिथुन’, समशेर विक, भरत विक र उमेश विकले पत्रकार सुनारलाई अभद्र व्यवहार सहित समाचार नलेख्न धम्की दिएको प्रति महासंघ खेद प्रकट गर्दछ’ उल्लेख गरिएको छ । ‘कुनै पनि समाचार प्रति गुनासो रहेमा वा चित्त नबुझेमा त्यस उपर उजुर गर्ने र न्यायिक प्रक्रिया मार्फत त्यसलाई सम्बोधन गर्ने कानुनी मार्ग छ ’ बिज्ञप्तीमा भनिएको छ ‘कानुनी बाटो रहँदा रहँदै त्यसलाई बेवास्ता गरि समाचारकै विषयमा पत्रकारलाई धम्काउनु र अभद्र व्यवहार गरिनु गम्भीर आपत्तिको विषय हो ।’ त्यस्तै प्रगतिशिल पत्रकार संघ बागलुङले पनि पत्रकार सुनारलाई गरिएको अभद्र व्यवहार प्रति खेद प्रकट गरेको छ । संघका अध्यक्ष राम सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा घट्नामा संलग्न व्यक्तिहरुलाई तत्काल कारवाही गर्न माग गरिएको छ । समाचार लेखेकै भरमा पत्रकारलाई धम्काउने र अभद्र व्यवहार गर्ने कार्य प्रेस स्वतन्त्रता विरुद्धको कार्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।





