शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कक्षाकोठा अभावले पढाईमा समस्या

कक्षाकोठा अभावले पढाईमा समस्या


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०७६, आइतबार

बागलुङ, ३ कात्तिक – ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयमा कक्षाकोठा अभाव छ । विद्यालयमा ५९० विद्यार्थीले पढ्छन् । ठूला कोठालाई बारेर पढाउनुपर्ने बाध्यता छ । जीर्ण बनेको छात्रावास भवनमासमेत कक्षा सञ्चालन हुँदै आएको छ । विद्यालयलाई पाँच कोठा तत्कालै चाहिएका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए । ‘कक्षाकोठा व्यवस्थापन भए पनि पठनपाठनमा सहजता छैन’, उनले भने, ‘एउटै कोठालाई बारेर दुई कक्षा चलाउनुपर्दा अप्ठेरो छ ।’ सिकाइमैत्री कक्षाकोठा नहुँदा विद्यार्थीको पढाइ पनि प्रभावित हुने गरेको उनले बताए । यही शैक्षिक सत्रदेखि पशु विज्ञान विषयको पढाइ सुरु भएपछि विद्याथी झन बढेका छन् ।
विद्यार्थी संख्याका आधारमा भौतिक पूर्वाधारको भने कमी छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले शिक्षा विभाग र पुनःनिर्माण प्राविधिकरणमा भवनको माग गरिएको बताए । ‘शिक्षामा आठ कोठे भवन र प्राधिकरणमा चार कोठे भवनका लागि माग गरेका छौँ’, उनले भने । प्राधिकरणको सहयोगमा गत आवमा दुई कोठे भवन बनेका थिए । अहिले विद्यालयमा १८ कक्षाकोठा छन् । बालशिक्षामा कक्षा थप भएपछि कोठा पनि बढाउनुपरेको प्रअ रोकाको भनाइ छ । उनका अनुसार विद्यालयले कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाउँदै आएको छ । भवनसँगै छात्रावास, खेल मैदान, शौचालयलगायत भौतिक संरचनाको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता छ । गाउँपालिकाको केन्द्रमा रहेको र विद्यार्थी सङ्ख्यासमेत बढी भएका कारण सम्बन्धित निकायले बजेटमा प्राथमिकता दिनुपर्ने विद्यालय व्यवस्थापनको माग छ । गाउँपालिकाले उक्त विद्यालयको पूर्वाधार निर्माणमा सहयोग र समन्वय गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->