पोखरा,४ कात्तिक – संघ सरकारले गरेको कर्मचारी समायोजनप्रति पोखरा महानगरपालिकाको असन्तुष्टि देखिएको छ । महानगरमा भएको कर्मचारी समायोजनले महानगर मात्र होइन, आम सेवाग्राहीलाई समेत समस्या परेको छ । महानगरमा केही काम विशेषले जाने सेवाग्राहीहरु कर्मचारीलै केही कुरा सोधपुछ गर्दा ‘थाहा छैन’ भन्ने जवाफमा फर्काइदिन्छन । यसप्रति महानगरको निकै असन्तुष्टि देखिएको छ । महानगर प्रमुख मानबहादुर जिसीले कर्मचारी समायोजन नभएर मनमायोजन भएको गुनासो गरेका छन । यो समायोजन होइन मनमायोजन जस्तो भएको छ, हामीले त सकियो भनेका थियौँ तर सकिएको छैन’प्रमुख जिसीले भने ।
उनले संघीय सरकारले तीनवटै तहमा निजामति ऐन निर्माण गरि समायोजन प्रक्रिया थाल्नुपर्नेमा अध्यादेश पनि जारी गर्न नसकेको गुनासो गरे । उनका अनुसार अहिले पनि कर्मचारी कहाँ जाने कहाँ नजाने भनेर निधो छैन । ‘धेरै कर्मचारी अहिले काम गरेका छैनन, पहिला रोजेर जान्थे नि त अहिले रोज्ने अवसर पाएनन् , संघमा बस्दा भविष्य राम्रो हुने हो कि, प्रदेश वा स्थानप्य तहमा जाँदा हुने हो भन्ने कुरा यकिन गर्ने काम ऐनले सुरक्षित गरेको छैन’, जिसीले भने,‘ महानगरमा कति कर्मचारी चाहिने भन्ने अझै पनि तथ्यांक निकाल्ने काम भएको छैन, कर्मचारी समायोजनमा संघले आफन्तवादको प्रवृत्ति देखाएको छ ।’ अहिले महानगरमा लेखा, राजस्व र प्राविधिक प्रमुखको खाँचो छ तर कर्मचारी नआएको मेयर जिसीले दुखेसो गरे । कर्मचारीहरुमा सजिलो क्षेत्रमा मात्रै जाने प्रवृत्ति देखिएको पनि उनले आरोप लगाए ।
कर्मचारीलाई केही सोध्यो कि थाहा छैन भन्ने गरेको पनि उनले सुनाए । ‘थाहा नै नहुने भए हाजिरै हुन भएन हाजिर भए पछि त जिम्मेवारी पूरा गर्नुपर्छ, त्यो थाहा छैन बुझिन भन्ने कामचोर हुन्’, उनले थपे





