पोखरा,५ कात्तिक – फेवातालको बीचमा रहेको तालवाराही मन्दिरमा रहेको माता तालबाराही आरती सेवा समितिमा अक्षयकोषको स्थापना भएको छ । बैदामका समाजसेवी, पूर्वजिविस सभापति तथा होटल संघ पोखराका पूर्वअध्यक्ष रमेशबहादुर भट्टराईले १ लाख १ हजार १ सय ५ रुपैयाँ प्रदान गरि अक्षयकोषको सुरुवात गरेका हुन् ।
वाराही मन्दिर फेवाको बीचमा छ । आरती भने तालको वल्लो किनारामा गरिन्छ । वल्लो किनारामा गरिने आरतीलाई निरन्तरता दिनकै लागि अक्षयकोष स्थापना गरिएको आरती सेवा समितिका अध्यक्ष गिरिधारी अधिकारीले जनाए । यो अक्षयकोषलाई १ करोड पु¥याउने लक्ष्य रहेको पनि उनले सुनाए ।
‘धर्म संस्कृतिको संरक्षणसँगै पोखरामा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको महाआरतीको बारेमा मानिसहरुले बुझ्दैछन्’, उनले भने,‘ भट्टराईज्यूसँग्ै आरतीको निरन्तरताको कामना गर्दै अक्षयकोषमा रकम प्रदान गर्ने क्रम सुरु भएको छ ।’ रमेश भट्टराईले अक्षयकोषमा रकम प्रदान गरेपछि भट्टराइकै प्रेरणाका कारण आफ्ना स्वर्गिय बाबा आमा योगेन्द्र बहादुर भट्टराई र सिता भट्टराईको स्मृतिमा शान्ता भट्टराई, डा. शर्मिला भट्टराई र सरिता भट्टराईले माता तालबाराही आरतीको अक्षयकोषमा १ लाख १ हजार १ सय १ रुपैयाँ प्रदान गरेको आरती सेवा समितिका अध्यक्ष अधिकारीले बताए । अक्षयकोषमा बैदामकै ढाकाबहादुर थापाले २५ हजार र दामोदर गिरीले पनि २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।





