पोखरा,६ कात्तिक – पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनलाई ‘मिनी जनमत संग्रह’को उपमा दिँदै एकजुट भएर चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए पनि कास्की कांग्रेसमा उम्मेदवार छनौटदेखि नै ‘फुट’ देखिएको छ ।
पार्टीको आधिकारिक उम्मेदवार छनौट गर्न बसेको कास्की क्षेत्र नम्बर २ को बैठककै क्रममा आकांक्षीहरुले अर्काको अस्तित्व नै अस्वीकार गर्दै टसमस नगरेपछि यो अवस्था आएको हो । उम्मेदवारीको लागि १० हजार रुपैयाँ तिरेर फाराम भरेकाहरुले नै ३ जनाको नाम मात्र सिफारिस गर्ने क्षेत्रीय समितिको प्रयास विफल बनाएर चुनावको क्रममा पनि अर्काको अस्तित्व अस्वीकार गर्ने संकेत गरेका हुन् । तीन पटक बसेको क्षेत्रीय समितिको बैठक उम्मेदवारहरुको दवावकै कारण अनिर्णयको बन्दी बन्न पुग्यो । उम्मेदवारमध्ये ११ जनाले सबै नाम केन्द्रमा पठाउनु पर्ने माग दायर गरे । उनीहरुले आफूमध्ये जसलाई उम्मेदवार बनाए पनि सहयोग गर्ने वचनवद्धता जनाए तर उम्मेदवारको बलियो दावेदार देवराज चालिसेको पक्षमा उनीहरु उभिएनन् । देवराज चालिसेलाई उम्मेदवार बनाउनुपर्छ भनेर हस्ताक्षर गर्ने ३१ जनाले पनि अध्यक्ष बास्तोलाको रोहवरमा बैठक बसेर आफ्नो निर्णय पारित गराउने तत्परता देखाएनन् । क्षेत्रीय सभापति माधव बास्तोला ‘मधु’ले दवावकाबीच कुनै निर्णय नै गर्न सकेनन् । आफूसमेत उम्मेदवारको आकांक्षी रहेका उनले अन्ततः उम्मेदवार बन्न खोज्ने १६ जनाकै नाम र दुबै समूहले पठाएको पत्र जिल्लामा पठाएर आफू चोखिए अन्ततः आफूले उम्मेदवार छनौट गर्न नसकेको भन्दै क्षेत्रीय समितिले जिल्लालाई पत्र लेख्यो । कांग्रेस जिल्ला समितिको बैठकले पनि आफूलाई केन्द्रले दिएको निर्देशन अनुसार उम्मेदवार छान्ने अधिकार नभएको भन्दै क्षेत्रीय समितिको निर्णयलाई मंगलबार केन्द्रमा पठाउने निर्णय ग¥यो ।
‘हो, हामीले क्षेत्रीय समितिले पठाएको दुबै पत्र, यहाँको वर्तमान अवस्थाबारे राय लेखेर केन्द्रलाई पठाउने निर्णय ग¥यौँ’, कांग्रेस सचिव सुदीपमोहन भट्टराईले भने,‘अब जे गर्छ, केन्द्रीय कमिटीको बैठकले गर्छ ।’ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो १० गते बस्दैछ । सबैको नाम केन्द्रमा पुगेपछि आकांक्षीहरुले केन्द्रीय नेतालाई प्रभावमा पार्ने कसरत सुरु भएको छ । केन्द्रबाट जसले टिकट ल्याए पनि छनौटमा देखिएको विवादले कांग्रेस चुनावमा एकजुट नहुने संकेत देखिएको छ । कांग्रेसबाट खेमराज पौडल,महादेव गुरुङ,सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य,देवराज चालिसे, माधव बास्तोला‘मधु’,महासमिति सदस्य ऋषि काफ्ले, कृष्ण कार्कीसहित वीरेन्द्रनारायण विजुक्छे,गुरु बराल, विजय आचार्य,केशव निर्दोषीले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । यसैगरी कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहित खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारीको नाम केन्द्रमा सिफारिस भएको छ ।
यता, बलियो नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले भने कांग्रेस भित्रको कचिँगलोलाई नजिकबाट नियाली रहेको छ । ‘हामी सत्तामा छौँ र पछिल्ला केही घटनाले अलोकप्रिय पो छौँ कि भन्ने भएको थियो’, नेकपाका एक जिल्ला नेताले कांग्रेसका पछिल्ला गतिविधिप्रति संकेत गर्दै भने,‘ कम्तिमा बलियो प्रतिद्धन्द्धीसँग लडौँ भनेको त्यो पनि नहुने पो भयो त !’ नेकपा यतिबेला संगठन सुदृढीकरण अभियानमा छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेका तल्लो कमिटीहरुलाई एकजुट बनाउनेतर्फ नै नेकपा केन्द्रित रहेको ती नेताले बताए । नेकपामा टिकट कसले पाउने भन्नेमा तँछाड–मछाड् पनि छैन ।
नेकपाबाट स्वर्गीय रवीन्द्र अधिकारीको धर्मपत्नी विद्या भट्टराईको नाममा चर्चामा भए पनि उनले आफू चुनाव लड्ने÷नलड्ने प्रष्ट पारेकी छैनन् । बाँकी नामहरुमा पछिल्लो समय सोमनाथ प्यासीको नाम अग्रपंक्तिमा छ । पूर्वएमालेलाई नै सो क्षेत्रको टिकट दिनुपर्छ भन्ने मान्यता रहेको अवस्थामा प्यासी पहिलो दावेदार बन्न सक्छन् । तर, उनी उम्मेदवार बन्न प्राविधिक समस्या छ । किनकि, उनी यसअघि समानुपातिक सूचिमा परेका व्यक्ति हुन् । उपनिर्वाचन भएकोले उनी उम्मेदवार बन्नको लागि पार्टी केन्द्रीय समितिले निर्णय गरेर समानुपातिकबाट उनको नाम निकाल्न निर्वाचन आयोगलाई सिफारिस पठाउनुपर्छ । निर्वाचन आयोगले समानुपातिकबाट नाम हटाएपछि मात्र उनी उम्मेदवार बन्ने बाटो खुल्छ । उनीपछि पूर्वएमालेबाट तुलबहादुर गुरुङ,श्रीनाथ बराल,धनराज आचार्य, भीम कार्कीलगायको नाम चर्चामा छ । यी सबै चर्चासँगै यतिबेला नेकपा कास्कीको इन्चार्जको जिम्मेवारीमा रहेका राजकाजी गुरुङ ‘करन’ पनि सम्भावित उम्मेदवार हुन् । तर, उनी आफैले भने उम्मेदवारीमा चासो देखाएका छैनन् । पार्टीको जिम्मेवार पदमा बसेका पूर्वएमाले र माओवादी केन्द्रलाई मिलाउने दायित्व उनकै भएकाले पनि उनी मौन रहेको उनी निकट स्रोतले बतायो । ‘उहाँ ( करन) लाई आफ्नो जिम्मेवारी के हो भन्ने राम्रोसँग थाहा छ’, उनी निकट स्रोतले भन्यो,‘ उहाँले अहिलेको आफ्नो दायित्व भनेको नेकपालाई जिताउनु हो भन्ने मात्रै बुझ्नु भएको छ ।’
उम्मेदवार छनौटको लागि नेकपाले सम्भवतः आउँदो ९ गते बैठक राख्ने ती नेताले बताए । उनका अनुसार कार्तिक ८ गते उपल्लो तहका नेताहरुको भेला बस्नेछ ९ गते बस्ने बैठकले कास्कीबाट उम्मेदवार चयन गरि केन्द्रलाई पठाउनेछ । यता, चुनावमा खुबै चासो दिएको साझा पार्टीले बुधबार ( आज) उम्मेदवार घोषणा गर्दैछ ।





