बागलुङ, ६ कात्तिक – सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले बागलुङमा मोटरसाईकल यात्रा गरिने भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई बागलुङका पर्यटकीय क्षेत्रसम्म जोड्न प्रचार प्रसार गर्ने ध्येयले बागलुङ कालिका भगवतीको मन्दिरदेखि पर्यटकीय गाजाको दहसम्मको मोटरसाईकल यात्रा गर्न लागिएको हो ।
‘पहिला गृह जिल्ला अनि मात्र स्वदेशका चार किल्ला’ भन्ने नाराका साथ पर्यटन विकास केन्द्र बागलुङ, घुमन्ते ‘दि अमेजिन ट्राभ्लरस ’ र सामुदायिक घरबास गाजाको दहको समयोजक्त्वमा मोटरसाईकल यात्राको आयोजना गर्न लागिएको हो । आगामी कात्तिक ९ गते शनिबार पारेर मोटरसाईकल यात्राको कार्यक्रम तय गरिएको समयोजक खिम बहादुर क्षेत्रीले बताए । प्रसिद्धी कमाएका पर्यटकी क्षेत्रसँग जोडेर प्रचार–प्रसारको अभावमा ओझेलमा रहेका पर्यटकीय क्षेत्रको प्रचारका लागि यात्रा आयोजना गरिएको क्षेत्रीले बताए । ‘बाहिरबाट आउने पर्यटकहरु बागलुङका पर्यटकीय स्थलको बारेमा जानकारी नहुँदा मुस्ताङ, म्याग्दी पुग्ने गर्दछन्’ क्षेत्रीले भने ‘मोटरसाईकल यात्राले जिल्लामा पर्यटकहरुको संख्या भित्राउन र पर्यटन वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्छ ।’
कालिका मन्दिरदेखि गाजाको दह यात्राका क्रममा धवलागिरी हिमाल, अन्नपूर्ण हिमाल र निलगरी हिमाल जस्ता एक दर्जन बढी हिमालको अवलोकन गर्न सकिन्छ । गाजाको धुरीबाट देशका विभिन्न आठ जिल्लाको उच्च बस्तीहरु देख्न सकिने क्षेत्रीले जानकारी गराए । ‘कालिका र गाजालाई जोड्न सके प्रकृतिसँग रमाउनेहरु यहाँसम्म आउँछन्’ उनले भने ‘धर्म मानेर प्रकृति हेर्नेहरुका लागि यी दुई गन्तव्य उपयुक्त हुन् ।’ सामुन्द्रीक सतहदेखि २४ सय ८० मिटरको उचाईमा रहेको गाजाको दह धार्मिक, सांस्कृतिक र ऐतिहाँसिक रुपमा महत्व बोकेको ठाँउ हो । सरकारले विकास गर्नुेपर्ने १०० गन्तव्यमा सुचिकृत गरेपछि गाजाको दहको महत्व झन् बढेको छ । गाजाको दहमा पर्यटन भित्राउन लक्ष्यका साथ त्यस वरपरको क्षेत्रमा घरबाससमेत सञ्चानमा आएको छन् ।





