शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ खण्डमा मध्यपहाडीको काम रोकियो

बागलुङ खण्डमा मध्यपहाडीको काम रोकियो


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७६, शुक्रबार

बागलुङ, ८ कात्तिक – गत भदौ १७ गतेदेखि एक महिनासम्म मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको खहरेमा पहरो फोड्न सवारी जाम पारियो । एक महिनासम्म दैनिक ८ घण्टा सवारी रोकेर काम गर्दा पनि यो खण्ड चौडा भएको छैन । बरु झन् सवारी र पैदलयात्रा गर्न सास्ती हुने गरेको स्थानीयले गुनासो गर्न थालेका छन् । बागलुङ सदरमुकामदेखि काठेखोला गाउँपालिकाको अक्षेते पुग्ने खण्डको खहरे नजिकैको भीरमा चौडा पार्ने भनेर जिल्ला प्रशासनमा बसेको बैठकले सडक रोकेको थियो । तर एक महिनामा आधा काम पनि नभएपछि अहिले अलपत्रै जस्तो छ ।  लोकमार्ग आयोजना र ठेकेदार कम्पनीले एक महिनाभित्रै काम सक्ने दाबी गरेकोमा अलपत्रै छाडेको हो । काम अलपत्र परेपछि सवारी साधनले जोखिम मोलेर यात्रा गरेका छन् । पैदल यात्री हिड्न पनि सास्ती भएको स्थानीयले बताए । लोकमार्गको खण्ड भएपनि जिल्लाका अधिकांस बासिन्दा यो सडक भएर पश्चिमतर्फ जानुपर्छ । ‘सबै राम्रो बाटो हिडेपनि सदरमुकाम आईपुग्दा जोखिम मोल्नुपर्छ’ बडिगाड २ का कमल पौडेलले भने, ‘प्रशासन र नेताहरुले पनि किन चासो राख्दैनन्, बुझ्नै सकिएन ।’
हरेक दिन बिहान साँढे सात बजेदेखि साँढे नौ बजेसम्म २ घण्टा र दिउँसो साँढे १० देखि बेलुकी ५ बजेसम्म सडक बन्द गराएर सडक चौडाको काम गरिएको थियो । उक्त कामबाट सोचेजस्तो उपलब्धी नभएको मध्यपहाडी लोकमार्ग आयोजनाका ईन्जिनियर रामप्रसाद सुवेदीले बताए । ‘ठेकेदारले राम्रो काम गरेन, चाडपर्वमा जनताले झनै सास्ती पाउने भए भनेर रोकेका छौं’ सुवेदीले भने, ‘तिहारपछि प्रभावकारी काम गर्छौ ।’ प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले समेत कामको गती राम्रो नदेखेपछि चाडपर्वमा जनतालाई सास्ती नदिन निर्देशन दिएपछि काम रोकिएको उनले बताए ।
खहरे खण्डमा यहाँ ठूलो पहरा भएकोले अहिलेसम्म सडकको ट्रयाक मात्र छ । हिलो र पहरो भएकोले साना सवारी साधन ठोकिन्छन् । ठेक्का लिएको भारत सिद्धिसाई प्रकाश संयुक्त निर्माण कंपनीका ईन्जिनियर मिहिर सिंहले भने काम एक महिनामा सक्ने दाबी गरेका थिए । अहिले भने उनीहरु काम छाडेर सम्पर्क बिहिन भएका छन् । चाडपर्व मनाउन गएकोले उनीहरु तिहारपछि मात्र आउने भन्दै सुवेदीले ठेकेदार कम्पनीको बचाउ गरे । यो खण्डमा बर्षौदेखि जीर्ण सडकले सास्ती खेपेका यात्रीको आलोचना बढेपछि प्रजिअ क्षेत्रीले आयोजना प्रमुखलाई बोलाएर काम गर्न भनेका थिए । पटक–पटक ठेकेदारले काम अलपत्र छाडेकोले सदरमुकाम बागलुङ बजारदेखि घोडाबाँधेको २५ किमी खण्ड अहिले पनि जीर्ण छ । यहाँ एकतर्फी सवारी साधन चल्न समेत सास्ती खेप्नुपर्छ । यहाँ ठेक्का लिएका दुइवटा कम्पनीले काम छाडेर हिडेपछि बर्षौदेखि सडक अलपत्र परेको थियो । गतबर्ष ठेक्का लिएका कम्पनीले भने प्रशासनिक सहयोग अभाव, मुआब्जाको बिबाद र खानेपानी आयोजनाको अवरोधका कारण काम गर्न नसकेको बताएका थिए । सदरमुकामका लागि आएको खानेपानी लाईन सार्नका लागि आयोजनाले ३३ लाख रुपैयाँ दिएको थियो । ‘उक्त रकम लगेको एक बर्षसम्म पाईपलाईन नसारिएकोले काम गर्न कठिन भएको हो’ रामप्रसाद सुवेदीले भने, ‘स्टिमेट अनुसारको रकम गएकोले तत्काल पाईपलाईन सार्न भनेका छौं ।’ फागुनसम्म कालोपत्रे गरिसक्ने गरी आयोजना र निर्माण कम्पनीले काम थाल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->