बागलुङ,९ कात्तिक – बागलुङको तमानखोला गाउँपालिका–३ रिकलाङमा शुक्रबार राति भएको पिकअप जीप दुर्घटना परी सोही जीपका चालक र सहचालकको मृत्यु भएको छ । तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानदेखि बोङगादोभान बजार तर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्mलाङमा दुर्घटनामा परेको हो । शुक्रबार राती ८ बजे भएको दुर्घटनामा परी जीपमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृत्यु हुनेमा तमानखोला गाउँपालिका–१ का जीप चालक झक बहादुर बि.क र सोही स्थानका सह–चालक ओम बहादुर गोतामेको रहेका छन् । उनीहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कायाृलय बागलुङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए । पिकअप सडकदेखि करिब एक हजार २०० मिटर तल खसेको बोङ्गादोभान प्रहरी चौकीले जनाएको छ । यात्रु छोडेर फर्कदै गरेको जीप घुम्तीमा साँघुरो सडकमा मोड्ने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । रातको समयमा दुर्घटना हुँदा उद्दारमा निकै समस्या भएको प्रहरीले जनाएको छ । शव रातिनै पोष्टमार्टमका लागि ढोरपाटन नगरपालिका–१ वुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको भट्टले जानकारी दिए ।





