बागलुङ,१३ कात्तिक – पर्यावरण जोगाउन र पर्यटकीय आकर्षण थप्न जिल्लामा सात हरियाली उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माण’ योजनाअन्तर्गत उद्यान बनाइएको हो ।
बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्व्सिद्धिधाम पञ्चकोट, वडा नं १३ अमलाचौर, वडा नं १ स्थित कालिका भगवती मन्दिर, वडा नं. १२ पैयूँपाटाको डुङ्गाचौर सामुदायिक वन र १४ को कैयाचौर सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ ।
यस्तै गलकोट नगरपालिका–७ मल्मस्थित पर्यटकीयस्थल राम्चेढुङ्गा र ३ हटिया, सहस्रधारामा पनि उद्यान बनाइएको हो । उद्यान निर्माणका लागि डिभिजन वन कार्यालय बागलुङमार्फत झण्डै रु एक करोड लगानी भएको छ ।
“एउटा उद्यानमा कम्तीमा रु नौ लाखदेखि बढीमा २२ लाखसम्म खर्च भएको छ”, कार्यालयका अधिकृत सीता शर्माले भनिन् । पञ्चकोटमा बनेको हनुमान बाटिकामा सबैभन्दा बढी रु २१ लख ९९ हजार खर्च भएको छ ।
अघिल्लो आवमा सम्झौताअनुसारको काम सकिएको र चालू आवका लागि कार्यक्रम आइनसकेको अधिकृत शर्माले बताए । बजेट र कार्यक्रम आएमा थप नयाँ ठाउँमा उद्यान निर्माणको काम अघि बढ्नेछ ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शहर वरिपरिका खाली एवं पाखो जग्गालाई हरियाली क्षेत्रका रुपमा विकास गर्न वन प्रवद्र्धन तथा उद्यानको कार्यक्रम ल्याएको हो ।
उद्यानलाई मनोरञ्जनस्थलको रुपमा विकास गर्ने र स्थानीयवासीको आयआर्जनमा टेवा पु¥याउने योजनाको लक्ष्य छ । गलकोट, मल्मस्थित राम्चेढुङ्गामा आठ रोपनी जग्गामा उद्यान बनाइएको उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए ।
उद्यान निर्माणमा प्रदेश सरकारको १२ लाख र पाँच लाख बराबरको जनश्रमदान गरी रु १८ लाख खर्च भएको उहाँको भनाइ थियो । उद्यानस्थलमा प्रवेशद्धार, पदमार्ग, शौचालय, वृक्षारोपण, टिकट बिक्री कक्षलगायत संरचना बनाइएको छ ।
उद्यानको सबै काम सक्न बजेट, कार्यक्रम थप हुनुपर्ने अध्यक्ष थापाले बताए । स्थानीय जनहित माविको नाममा रहेको जग्गामा उद्यान निर्माण गरिएको हो । उद्यानबाट आउने आम्दानी आधा विद्यालयले पाउने सहमति छ । राम्चेढुङ्गा र गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा गलकोटका पर्यटकीयस्थलमा पर्छन् । राम्चेढुङ्गामा प्याराग्लाइडिङ र सहस्रधारामा रहेको झरनामा छाँगावरोहण ९क्यानोनिङ० को सफल परीक्षणसमेत भइसकेको छ ।
सहस्रधारामा पनि पदमार्ग, पोखरी निर्माण, शौचालय, बगैँचा, वृक्षारोपणलगायतका काम गरिएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताए। सहस्रधारा क्षेत्र ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्छ ।





