पोखरा, १५ कात्तिक – सामाजिक कार्यमा संलग्न रहदै आएको बागलुङ समाज पोखराले जनताका प्रिय गायक जीवन शर्माका विरामी छोरा अमृत आचार्यको उपचारका लागि सवा दुई लाख नगद सहयोग गरेको छ । समाजका अध्यक्ष कुलचन्द्र शर्माको नेतृत्वमा शर्माको काठमाडौं कोठामा पुगेर शुक्रवार २ लाख २६ हजार ७ सय २५ रुपैयाँ विरामीका दाजु अर्जुन आचार्यलाई हस्तान्तरण गरेको हो । जनवादी गायकका छोराको उपचारमा थोरै भएप्नि सहयोग पुगोस भनेर उक्त रकम प्रदान गरिएको समाजका अध्यक्ष शर्माले वताए ।
समाजको पहलमा विभिन्न संघसंस्था र ब्यक्तिबाट सहयोग संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो । सहयोग प्रदान गर्न समाजका अध्यक्ष शर्मासहित कोषाध्यक्ष शिवप्रसाद शर्मा, सहसचिव भवानीशंकर शर्मा र कार्यसमिति सदस्य नरेश सुवेदी काठमाडौं पुगेका हुन् । रकम ग्रहण गर्दै विरामीका दाजु अर्जुनले पोखराबाट सहयोग लिएर काठमाडौंमा आएर प्रदान गरेकोमा सहयोग गर्ने सवैप्रति आभार प्रकट गरे । जनवादी गायक शर्मामा माइला छोरा अमृतको घाँटीमा हड्डी अड्किएपछि अन्ननली नै फेर्नुपर्ने भएको छ । उनको उपचारका लागि देश, विदेशबाट स्वतस्फुर्त रुपमा सहयोग जुटीरहेको छ ।




