बागलुङ, १६ कात्तिक – जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीका ६ सय परिवारले झण्डै ३४ बर्ष पहिलेदेखि प्रयोग गर्दै आएको छिस्ती खानेपानी आयोजना बन्द भएको छ । दशैं भत्ता र मासिक पारिश्रमीक रोकीएको भन्दै कर्मचारीले काम छोडेपछि खानेपानी बन्द भएको हो । आयोजनामा काम गर्दै आएका पाँच जना कर्मचारीले पछिल्लो दुई महिनाको पारिश्रमीक र बर्षेनी खाईपाई आएको दशैं भत्ता पाएका छैनन् । गत कात्तिक ४ गतेदेखि आयोजनाका धारामा पानी नआउँदा छिस्तीका ६ सय परिवार प्रभावित भएका छन् । ११ दिन पहिलेदेखि खानेपानी बन्द भएपछि वडा कार्यालय र उपभोक्ता स्वयंले समेत समस्या समाधानका लागि राखेका बैठकहरुमा राजनीतिक एजेण्डा हाबी भएपछि खानेपानी आपुर्ति गर्न असहज भएको स्थानीयले बताए । ‘योजना सुरु भएदेखि नै मैले काम गर्दै आएको छु, हरेक दुई महिनामा तलब र दशैंमा भत्ता आउँथ्यो’ आयोजनाका कर्मचारी ढाकाबहादुर थापाले भने ‘न धेरै छ अलिअलि भएको तलब पनि चार्डवाडमा नपाएपछि हामीले काम छोड्यौं ।’ कर्मचारीले तलब भत्ता नपाएकै कारण काम छोड्दा साविकको छिस्ती गाविसका ५, ६ र ७ नम्बर वडाका उपभोक्ता खानेपानीबाट बञ्चित भएका छन् । उनीहरुले घण्टौं यात्रा गरेर कुवा र पोखरीको पानीले ११ दिनदेखि काम टार्दै आएका छन् ।
२०६४ सालदेखि खानेपानीको व्यवस्थापन गर्दै आएको समितिले गत भदौ ३ गते बैठक बसेर आयोजनाको व्यवस्थापनको काम गर्न नसकेको भन्दै वडा कार्यालयलाई जिम्मेबारी दिने निर्णय गरेको थियो । समितिले सर्वसम्मत रुपमा गरेको निर्णय सहितको पत्र वडा अध्यक्षलाई पठाएर काम छोडेको समितिका अध्यक्ष दिल बहादुर श्रीषले बताए । ‘हामीले काम गर्न सक्दैनौ व्यवस्थापन गर्नु भनेर वडालाई पठाएका हौं’ श्रीषले भने ‘काम छोडेपछि तलब भत्ता भर्न हाम्रो अधिकार रहेन, अधिकार भएपनि दिने स्रोत छैन् ।’ ६ सय घरले प्रयोग गर्ने १ सय २१ धाराबाट उठ्ने रकमले कर्मचारीको तलब समेत भर्न कठिन भएपछि उपभोक्ता समितिले आयोजना वडाको जिम्मा लगाउने निर्णय गरेको उनले बताए । ‘शुल्कले पुग्दैन अरु स्रोत छैन, मुल्य बढाउन दिएनन्’ श्रीषले टेलिफोनमा भने ‘समान्य मर्मत गर्न समेत कसैले सहयोग नगरेपछि जिम्मा लगाएका हौं ।’ झण्डै ९ किलोमिटर टाढा रहेको मुहानबाट पानी ल्याईएको उक्त आयोजनामा सधैंजसोः पाईप फुट्ने, पहिरोले बगाउने लगायतका समस्या आउने गरेका छन् । बरेङ गाउँपालिकाको धुल्लुबास्कोटमा रहेको झुलेखोलाको मुहानबाट छिस्तीमा खानेपानी ल्याईएको छ । साविकको वडा नं ५, ६ र ७ का उपभोक्ताहरुले लामो समयदेखि पानीको महशुल नतिरेका कारण समिति संकटमा परेको थियो । अध्यक्ष श्रीषका अनुसार तीन वडाबाट झण्डै ८० हजार रुपैयाँ शुल्क उठ्न बाँकी रहेको छ । यता, वडा कार्यालयले भने उपभोक्ता समितिको गैरजिम्मेबारका कारण खानेपानी रोकीएको जनाएको छ । ‘उहाँहरुले काम नगर्ने हो भने भेला बोलाएर समिति पुर्नगठन गर्ने हो, हामीलाई बुझाउने होईन’ वडा अध्यक्ष बिजय अधिकारीले भने ‘समितिले जिम्मेबार व्यवहार नगर्दा समस्या आयो ।’
पानी बन्द भएपछि सर्वदलिय बैठक बोलाएर समस्या समाधानको पहल गरेको भएपनि कांग्रेस बाहेकका अन्य दलले राजनीतिक बखेडा झिकेको अधिकारीको आरोप छ । उपभोक्ता समितिले भने वडाले जिम्मेबारी लिएर तत्काल पानी आपुर्ति गर्नुपर्ने बताउँदै आएको छ । गाउँमा जथाभावी खनिएका सडक र प्राकृतिक बिपत्तिको शिकार बन्दै आएको आयोजनाको अहिले पनि ठाउँ–ठाउँमा पाईपलाईन फुटेको आयोजनाका कर्मचारी बताउँछन् । ‘भीरको पातमा परान राखेर काम गरिएको थियो’ पुराना कर्मचारी थापाले भने ‘अहिले पनि समस्या धेरै छन्, छाकै नटरेपछि काममा गैएन ।’ २०४२ सालमा सञ्चालनमा आएको यो योजना तत्कालिन प्रधानमन्त्री मरिचमान श्रेष्ठले उद्घाटन गरेका थिए । २०५५ सालसम्म नेपाल सरकार मातहतमा सञ्चालन हुँदै आएको यो योजना त्यस पश्चात उपभोक्ता समितिमा हस्तान्तरण भएको थियो ।
बिजुलीमा हस्तक्षेप, पानीमा अप्ठ्यारो
सोही क्षेत्रमा सञ्चालनमा रहेको सामुदायीक विद्युतीकरणमा वडा कार्यालयले हस्तक्षेप गरेपछि त्यसको प्रभाव खानेपानीमा परेको स्थानीय बताउँछन् । सामुदायीक बिद्युतीकरणका लागि बनेको समितिमा बिबाद भएपछि वडा अध्यक्षले अर्को समिति नबन्दा सम्मका लागि वडा कार्यालय मातहतमा रहनेगरी काम अघि बढाएका थिए । ‘बिद्युतमा उहाँले हस्तक्षेप गरेपछि पानीको समस्या आएको हो’ स्रोत भन्छ ‘समस्या भएका ठाउँ नहेर्ने र समस्या नरहेका ठाउँमा हस्तक्षेप गर्दा समस्या आयो ।’ बिद्युत, खानेपानी जस्ता अत्यावश्यक बस्तुहरुमा राजनीतिक रंग लगाउँदा समस्या पैदा भएको स्थानीय कुल बहादुर पुन बताउँछन् । छिस्तीमा सडक पु¥याउँदाको समयमा लिएको ऋणका बिषयमा पनि वडा अध्यक्षसहित उनको दल र अरु राजनीतिक दलको बिचमा बिबाद रहेको छ । केही महिना पहिला
भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय भोजराज शर्माले वडा अध्यक्षले एकलौटी गर्न खोजेको आरोप लगाएका थिए । ‘आफ्नो भन्नेलाई शिर्षक मिलाएर रकम दिने हामीलाई पाखा लगाउने’ कार्यक्रममा शर्माले भनेका थिए ‘यस्तै गर्ने हो भने वडाका काममा हामीले कसरी सघाउनु ।’ भोजराजले भनेको जस्तै पानीको बिषय भजाएर अरु शिर्षकमा सम्झौता गर्न बाध्य बनाउन खोजेको आरोप वडा अध्यक्ष अधिकारीले लगाए । उनले सामुदायीक बिद्युतीकरणको ट्रन्सफर्मर बिग्रिएपछि ऋण काँडेर परिवर्तन गरेको बताए । ‘सर्वदलिय बैठक राखेर सबैको सल्लाहकै आधारमा सहकारीबाट ऋण खोजेर ट्रान्सफर्मर किनेको हो’ अधिकारीले भने ‘बिजुलीको कुरा पानीमा जानु हुँदैन् ।’





