शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आचारसंहिता उल्लंघन गरे भिडियो खिचेर ल्याउनुहोस

आचारसंहिता उल्लंघन गरे भिडियो खिचेर ल्याउनुहोस


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७६, सोमबार

पोखरा,१८ कात्तिक – आउँदो बिहिबार प्रतिनिधीसभा र प्रदेशसभा उपनिर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । आयोगको सोही कार्ययोजना अनुसार आईतबार कास्की र बाग्लुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।
कास्की २ मा देशभरिमा नै एकमात्र प्रतिनिधीसभा उपनिर्वाचन हुँदैछ । यस्तै, बाग्लुङ २ ‘ख’ मा पनि प्रदेशसभाको निर्वाचन हुँदैछ । गण्डकीमा तीनवटा स्थानीय तह पनि रिक्त छन् ।
स्थानीय तहको मनोनयन भने पछि छ । निर्वाचनको मिति नजिकिँदै जाँदा कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना पछि कास्कीको उपनिर्वाचनको लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता कार्यान्वयनलाई निकै कडाईका साथ लागु गरिने दाबी गरे ।
“हामीले पहिलोपटक प्रयोगस्वरुप आचारसंहिता उल्लंघनको उजुरी परेपछि उजुरीकर्ता, सम्बन्धित व्यक्ति, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको उपस्थितीमा छलफल गर्छौँ र कारवाहीको लागि आयोगलाई सिफारिस गर्नेछौँ ।” उनले भने ।
आचारसंहिता उल्लंघनको प्रमाणको लागि भिडियो खिच्ने सम्मको अधिकार रहेको उनले जानकारी दिए ।
“भिडियो खिच्ने अधिकार पनि छ, विभिन्न ठाउँ, प्रविधीबाट हेर्ने र कस्तो कारवाही हुनुपर्छ, त्यसको टुंगो लगाउँछौँ ।” थपलियाले भने ।
यस्तै, उनले मतदाताहरुलाई ढुक्क भएर मतदान गर्ने अवस्था बनाईने उनको दाबी छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मतदान केन्द्रहरुको वर्गीकरण गर्ने र सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा निकाय परिचालन गरिने जनाए । यसको लागि केन्द्रिय सुरक्षा निर्देशन र एकीकृत कार्ययोजना तयार पारिने उनको भनाई छ ।
“सुरक्षाको हकमा स्थानीय तहलाई पनि परिचालन गर्नेछौँ, हाम्रो वस्तुस्थितीको आधारमा सुरक्षा निकाय परिचालन र व्यवस्थापन गर्नेछौँ । एकीकृत कार्ययोजना तयार गरेर जनशक्ति परिचालन, समस्या पहिचान गर्ने, ग्रासरुटबाट नै आचारसंहिता कार्यान्वयनलाई जोड दिने र निर्वाचन, स्वच्छ, मर्यादित र व्यवस्थित गर्नेछौँ ।” उनले भने ।
कास्कीको लागि मुख्य निर्वाचन अधिकृतको रुपमा कास्की जिल्ला अदालतका जिल्ला न्यायधीश काजीबहादुर राई तोकिएका छन् ।
बाग्लुङमा पनि खुल्यो कार्यालय
आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको हो । आईतवार जिल्लामा कृयाशिल राजनीतिक दल निर्वाचनसँग सम्बन्धित कार्यालय प्रमुखहरु र सरोकारवालाको रोहवरमा कार्यालय स्थापना भएको हो ।
वडाको मात्रै निर्वाचन हुने बडिगाड गाउँपालिकामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ । प्रदेशसभा उप–निर्वाचनको लागि निर्वाचन आयोगले जिल्ला अदालत बागलुङका न्यायधिश बासुदेव न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । कार्यालय स्थापना गर्दै न्यौपानेले निर्वाचनलाई सफल बनाउनका लागि सहयोग गर्न सबै पक्षसँग आग्रह गरे । बडिगाड गाउँपालिका–२ को उप निर्वाचनमा मुख्य निर्वाचन अधिकृत उच्च अदालत पोखरा, बागलुङ इजलाशका रजिष्टार ध्रुव ढकाललाई तोकीएको छ । आगामि बुधबार कार्यालय स्थापना पछि त्यहाँको निर्वाचनका थप कार्यक्रम सार्वजनिक हुने छन् । कार्यालय स्थापना सँगै निर्वाचनका कार्यक्रम समेत सार्वजनिक गरीएको छ ।
प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ता हुनेछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ । प्रदेशसभा सदस्यको निर्वाचन प्रचारप्रसारको अवधि १६ दिनको हुनेछ भने स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन् । क्षेत्र नं २ को २ मा हुने निर्वाचनका लागि ४३ वटा मतदान केन्द्र तोकीएको छ । वडिगाड गाउँपालिका–२ मा हुने स्थानिय तह उप–निर्वाचनको लागि भने दुईवटा मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।
बागलुङमा हुने प्रदेश सभा र स्थानीय तह उप–निर्वाचनमा ३६ हजार ९ सय २६ जना मतदाता मतदानमा सहभागी हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन परिचालनका लागि मतदान अधिकृत सहित ४ सय ५ जना कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन अधिकारी बिकासचन्द्र शर्माले जानकारी दिए । निर्वाचनमा परिचालन हुने सुरक्षाकर्मीको बिषयमा भने टुंगो लागिनसकेको कार्यालयले जनाएको छ । ‘हामि छलफलमा छौं आयोगले भने अनुसारनै सुरक्षाको प्बन्ध हुन्छ’ प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले भने ‘एक दुईदिनमा जनशक्तिको बिषयमा टुंगो लाग्छ ।’
कर्मचारीको हकमा एक मतदान केन्द्रमा बढीमा ५ सय जना मतदाता भएमा सवंसेवक सहित ९ जना कर्मचारी हुने व्यवस्था छ । बागलुङमा हुने उप–निर्वाचनमा सबै मतदान केन्द्रहरुमा ५ सय जनाभन्दा धेरै मतदाता रहेकाले सबै केन्द्रमा ९ जनाको दरले कर्मचारी रहने शर्माले बताए ।
निर्वाचन हुने क्षेत्रका मतदातालाई उपनिर्वाचनबारे जानकारी गराई मतदानको महत्व, मतदान गर्ने तरिकासहितको मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि पोष्टर, नमुना मतपत्र, पर्चा, हातेपुस्तिका लगायतका सामग्री तयारी र वितरणको व्यवस्था आयोगले मिलाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->