
बागलुङ,१८ कात्तिक – मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको सडक निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माण अलपत्र छ ।अक्षेते देखि घोडाबाँधे सम्मको सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सुर्य कन्स्ट्रकसन टाट पल्टिन लागेपछि अहिले काम ठप्प भएको छ । लोकमार्ग खोल्न सुरु भएको २० बर्षपछि कालोपत्रे गर्ने तयारी अघि बढेको भएपनि बागलुङ सदरमुकाम देखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडक अझै पनि कालोपत्रे हुन सकेको छैन ।
नेपालको पुर्व–पश्चिम जोड्ने पहाडी मार्गको रुपमा रहेको यस मध्यपहाडी लोकमार्गको बिहुँ खण्डको काम २०७६ कात्तिक मसान्त सम्म सम्पन्न गर्ने गरी २०७३ सालमा सम्झौता भएको थियो । जिल्लाको पश्चिम क्षेत्र घोडाबाँधे–बुर्तिबाङ ६४ किलोमिटर र बुर्तिबाङ देखि रुकुमको सिमाना पातीहाल्ने सम्मको ४१ किलोमिटर मध्य १५ किमी यस बर्ष पिच हुँदा बागलुङ खण्डमा जम्मा ७९ किमि सडक कालोपत्रे भएको मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ ।
आयोजनाका प्रमुख आशिष थापाले सम्झौता गरेको मिती सम्म काम सक्ने अवस्था नभएकाले कानुन अनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइने बताए । उपल्लाचौर देखि अक्षेते सम्मको १२ किलोमिटर सडकको जिम्मा लिएको सिद्धिटाई कन्सट्रक्सनले भने यसै आर्थिक बर्षमा सम्पन्न गर्ने गरी काम अघि बढाएको आयोजना प्रमुख थापाले बताए ।
अहिले सम्म कम्पनीले सडक चक्लाउने, नाली, पर्खाल निर्माण गर्ने लगायतका काम गरेको छ । चाडपर्वको समय भएकाले भने अहिले दुवै खण्डको काम रोकिएको छ । विवादित जग्गा, खानेपानीका पाइप र विद्युतका खम्बा समयमै नहटाउँदा करिब एक वर्ष निर्माणको काममा बाँधा भएपछि स्थानीय प्रशासनले सहजीकरण गरेर सबै समस्या समाधान गरेको थियो ।
लोकमार्ग कार्यालयले खानेपानीको पाइप हटाउँनका लागि एक वर्ष अगाडिनै बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ३३ लाख रुपियाँ र विजुलीका पोल हटाउँँनका लागि विद्युत प्राधिरकणलाई आठ लाख रुपियाँ रकम दिएपनि एक वर्षसम्म नहट्दा समयमा काम हुन नसकेको निर्माण व्यवसायीको गुनासो छ ।
यता निर्माण कम्पनीहरुले माटो खोस्रेर छाडेपछि वर्षातभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुहरुले हिउँदको समयमा सडक छेउमा थुपारिएका माटो सहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेपिरहेका छन् ।





