पोखरा, १८ कात्तिक-उपनिर्वाचनको तयारीका लागि पोखरा आइपुगेकी विद्या भट्टराईले पार्टी वैठकमा दिएको पहिलो मन्तब्यले नै सवैलाई भावुक बनाएको छ । कास्की २ बाट निर्वाचित रविन्द्र अधिकारीको हवाई दुर्घटनामा मृत्यु भएपछि हुन लागेको उपनिर्वाचनमा पार्टीले निर्णय गरेपछि मात्र सोमवार आयोाजना गरिएको कास्की नेकपाको वैठकमा राजनैतिक भाषण गर्दै विद्याले आफु कास्कीको छोरीको रुपमा राजनीतिमा आएको र पार्टीको प्रतिष्ठालाई कायम राख्नै कुनै कमी हुन नदिने वतार्ईन ।
उनको राजनैतिक यात्रा स्थायी नहुने भनेर आरोप लगाउनेलाई वैठकमा नै उनले उत्तर दिदै भनिन, निरन्तर सक्रिय राजनीति गर्ने प्रतिवद्धता छ, यसका लागि पार्टीले मलाई विश्वास गरेको छ भने मैले यो विश्वासलाई कमी हुन दिने छैन । हिजो म काठमाडौंकी छोरी भएर राजनीति गरे, अव कास्केलीको छोरीको रुपमा नै काम गर्नेछु । पार्टी वैठकमा मन्तब्य राख्दै विद्याले भनिन, ‘मैले हिजो किन राजनीति छोडेँ भन्ने प्रश्न छ, यसमा विवाहपछि महिलाको फरक जिम्मेवारी अवश्य हुन्छ । त्यसको जिम्मेवारीमा म पनि परेँँ र परिवारलाई सम्हाल्नका निम्ति पनि म सक्रिय राजनीतिबाट पछि हटेकी हुँ,’ विद्याले कास्कीका नेकपा नेता कार्यकर्ताबीच प्रतिवद्धता जनाउदै भन्नुभयो, ‘तर, मैले राजनीति छोडेकी होइन । पार्टीले दिएको जिम्मेवारीलाई अवश्य पुरा गर्नेछु । आफु प्राध्यापन पेशामा रहँदा पनि कुनै न कुनै हिसाबले पार्टीलाई सहयोग गर्दै आएको थिए ।
हिजो एउटा पत्नीको रुपमा रवीन्द्रलाई सहयोग गरेको बताउँदै विद्याले अब पार्टीको विचार र सिद्धान्तलाई शिरोपर गर्ने बताईन, ‘मैले जसरी एउटी पत्नीका रुपमा रवीन्द्रलाई सहयोग गरेँ र रवीन्द्रको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेले, त्यही योगदान र विगतमा मैले खेलेको योगदानलाई चिनेरै मलाई पार्टीले उम्मेदवारका रुपमा उपयुक्त ठानेको होला भन्ने मलाई लाग्छ ।’ पार्टी वैठकका लागि पोखरा आएकी विद्या सोमवार नै काठमाडौं फर्केकी छिन ।
रवीन्द्र पत्नी विद्यालाई चुनावी मैदानमा उतारेको नेकपा आफ्नो पक्षमा परीणाम आउनेमा ढुक्क छ । यसअघि रवीन्द्र झण्डै ८ हजार मतान्तरले विजयी भएको क्षेत्रमा उनकै पत्नी उम्मेदवार बन्दा अझ ठूलो मतान्तर हुने उसको विश्वास पार्टीको छ । बैठकमा नेकपाका प्रदेशका नेताहरुले आफुहरुले चुनाव जित्नै पर्ने भएकाले सवै एकढिक्का भएर मैदानमा उत्रिने प्रतिवद्धता जनाए । प्रदेश सहइन्जार्ज खगराज अधिकारीले पार्टीको सबै शक्ति लगाएर निर्वाचन जित्ने गरी तयारी जुट्न जिल्ला तहका नेता तथा कार्यकर्तालाई आग्रह गरे । नेकपामाथि विभिन्न ठाउँबाट प्रहार भइरहेको र चुनावमा अझै बढी चलखेल हुनसक्ने भन्दै उनले सचेत भएर निर्वाचनमा जुट्न निर्देशन दिए।
गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले कुनै पूर्वाग्रह र अन्तरविरोधलाई बिर्सिएर चुनावमा नेकपालाई जिताउन लाग्नुपर्ने बताए । देशकै एकमात्र प्रतिनिधि सभाको निर्वाचन हुने क्षेत्र पनि भएकाले नेकपाले कुनै पनि हालतमा यो सिट सुरक्षित गर्नुपर्ने पाण्डेले वताए । अनावश्यक रुपमा वर्तमान सरकारको आलोचना भइरहेका बेला यो क्षेत्रको निर्वाचन अर्थपूर्ण हुने पाण्डेको भनाई थियो । कास्की जिल्ला इन्जार्च राजकाजी गुरुङ ‘करण’ले प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुन लागेको एक मात्र क्षेत्र भएकाले नेकपा एक भई चुनाव जितेर देखाउनुपर्ने बताए ।
वैठकले विद्या भट्टराईलाई जिताउन र चुनावी अभियान सफल बनाउने २७ वटा उपसमिति गठन गरेको छ । चुनाव जिताउने कमाण्डको नेतृत्व राजकाजी गुरुङ करणले लिएका छन । करणको नेतृत्वमा निर्वाचन मूल समिति गठन गरिएको छ । नेकपा कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर थापाको नेतृत्वमा २ हजार ६ सय ५१ जना सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष थाापाले वताए । उपनिर्वाचनका लागि २१ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने मतदान मंसिर १४ मा हुने निर्वाचन कार्यालयले जनाएको छ ।





