लुकुरबन (ढोरपाटन), १९ कात्तिक – ढोरपाटन नगरपालिका ४ नम्बर वडाका अध्यक्ष तिलक पुनसहित आधा दर्जन युवामाथि राष्ट्रिय जनमोर्चाका ‘संस्थापन पक्ष’ले सांघातिक आक्रमण गरेको छ । जनमोर्चाको संस्थापन पक्षले कात्तिक १२ गते भाईटीकाका दिन संगठित रुपमा जनमोर्चाबाटै निर्वाचित वडा अध्यक्ष पुनसहितलाई निर्घात कुटपिट गरेका हुन् ।
नेकपा (मसाल) का बागलुङ जिल्ला सेक्रेटरी गौरीश्वर पाण्डेको प्रत्यक्ष निर्देशनमा चाडपर्वको मौका छोपी अध्यक्ष पुनसहितलाई मार्ने उद्देश्यका साथ आक्रमण गरिएको हो । अध्यक्ष पुन भाइटीका लगाई गाउँमा इष्टमित्र र साथीभाइसँग शुभकामना तथा भेटघाट गर्ने क्रममा पाण्डेको निर्देशन बमोजिम एक्कासी आक्रमण गरिएको हो ।
जनमोर्चाबाट लोकप्रिय मत लिएर वडा नम्बर ४ मा बिजयी अध्यक्ष पुन स्वच्छ छविका रुपमा त्यहाँ स्थापित छन् । पार्टी केन्द्रमा देखिएको संस्थापन पक्ष र अल्पमत पक्षमा बैचारिक बहस चलिरहेको बेला अध्यक्ष पुनमाथि एक्कासी भौतिक आक्रमण भएको छ । गम्भिर घाइते अध्यक्ष पुनको टाउकोमा ३२ वटा टाँका लगाइएको छ ।
अध्यक्ष पुनसँगै घाइते हुनेमा बागलुङ जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाका स्वकीय सचिव दिलिप बुढाथोकी मगर, सवारी चालक कोपिल बुढाथोकी मगर, जनमोर्चा वडा प्रमुख गणबहादुर फगामी मगरको टाउकोमा गम्भिर चोट लागेको छ । उनीहरुको टाउँकोमा दर्जन बढि टाँका लगाइएको छ । त्यस्तै सानो सहरी आयोजनाका सव ओभरसेयर सुमन बुढाथोकी मगर र वडा कार्यालयका कम्प्यूटर अप्रेटर उमेश बुढाथोकी मगर सामान्य घाइते भएका छन् ।
आफूलाई जनमोर्चाको असली कार्यकर्ता बताउने धिरी आधारभूत विद्यालय लुकुरबनका पूर्व शिक्षक कुलबहादुर झिंगराजा छन्त्याल, ईन्द्रबहादुर झिंगराजा छन्त्याल, तुलेन्द्र झिंगराजा छन्त्याल, दलबहादुर झिंगराजा छन्त्याल, दीपक छन्त्याल, हिराबहादुर छन्त्याल, हिमाल झिंगराजा छन्त्याल, विप्लव छन्त्याल, पवित्रा छन्त्याल, होमकुमारी छन्त्यालसहित घरेलु हातहतियार सहित एक्कासी आक्रमण गरेका थिए ।
धिरी आधारभूत विद्यालयको प्राङ्गनमा भलिबल खेल्ने केही विद्यार्थीबीच भनाभन भएको विषयलाई निहुँ बनाएर बोलाई मेलमिलाप गरौं भनि एक्कसी आक्रमण गरिएको थियो । ‘विद्यार्थीहरु सामान्य झगडा गरेछन । यसो गर्नु हुँदैन भनेर सम्झाउने क्रममा सोखोला फेदी पुलमा पुगेर छलफल गर्दै थिएऔं । एक्कासी मकै बारीमा लुकेर बसेका समूहले पछाडीबाट आएर खुकुरी, चिरुवा दाउराले एकोहोरा हाने । हामी बेहोस् भएऔं । स्थानीय जनताले तल धिरीमा खबर गरेपछि साथीहरु आएर उद्दार गरे’, पाँच दिनपछि होस्मा आएका अध्यक्ष पुनले भने ।
‘हामी बेहोस भएकै बेला जनताले उद्धार गरेर आफ्नो घरमा लगि सुरक्षित गरेछन । जसले सांघातिक आक्रमण ग¥यो उसैले हामी माथि आक्रमण भयो भनेर गौरीश्वर पाण्डेलाई फोन गरेको प्रत्यक्षदर्शीहरुले सुनेछन । घट्नाका डेढ घन्टामा बुर्तिबाङबाट प्रहरी आएर गए पछि मलाई जानकारी भयो’, पुनले भने ।
भोलीपल्ट कात्तिक १३ गते बिहान प्रहरीले केही स्थानीयहरुलाई सोधपुछ गर्ने काम समेत गरेको स्थानीयले बताएका छन् । १३ गते बिहान जनप्रतिनिधिसहितलाई हत्या गर्ने उद्देश्यका साथ आक्रमण गर्ने आक्रमणकारीहरुले ‘बलात्कार’को मुद्दा लगाउने भनि गाडी रिर्जभ गरी बुर्तिबाङ ईलाका प्रहरी कार्यालय हिडेको स्थानीयले बताएका छन् ।
‘कुले सर (पूर्व शिक्षक कुलबहादुर छन्त्याल)ले सबै महिला बुर्तिबाङ प्रहरी चौकीमा जाने र हाम्रा श्रीमानहरु देउसी भौलो खेल्न गएको बेला हामीमाथि बलात्कार गर्न आएकाले कुटेका हौं भनि मुद्दा दर्ता गर्ने भन्नुभयो । सबै जना २ वटा गाडीमा गए’, घट्नाका प्रत्यक्षदर्शी हस्तमान कामीले भने ।
सांघातिक आक्रमण गर्ने आक्रमणकारीहरुले माथिबाट घाइतेहरुलाई बुर्तिबाङ झर्न नदिने योजना बनाई गाडीलाई बाटोमै आक्रमण गर्ने पुनः योजना बनाएको सूचना घाइतेहरुले थाहा पाएपछि सामान्य उपचार गरी उनीहरु गाउँमै बस्न बाध्य भएका थिए । साढे १३ किलोमिटर र आधा घन्टामा गाडी बुर्तिबाङ झर्छ । आक्रमणकारीहरु बिहान ९ बजे सोखलाबाट गाडी चढे । तर, उनीहरु साँझ ५ बजे ईलाका प्रहरी कार्यालय पुगेका थिए । ‘अध्यक्षसहितको घाइतेहरु भाग्यले त्यही दिन तल झरेनन् । नत्र, ठूलै दुर्घटना निम्तिने रहेछ । उनीहरु प्रत्येक गौंडागौंडामा मान्छे राखेर गाडीमा आउने घाइतेलाई पुनः आक्रमण गर्ने योजना बनाएको हामीले थाहा पाएका थिऔं’, हुन्द्रफेदीका एक स्थानीयले भने– ‘बिहान लुकुरबानबाट ९ बजे गाडी चढेका मान्छे बुर्तिबाङ ५ बजे पुग्नुबाटै सबै कुरा प्रष्ट हुन्छ ।’
आफ्ना पक्षबाट अल्पमत पक्षमा देखिएका व्यक्तिहरु घाइतेहरुलाई उद्धार गर्ने भनि जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा आइतबार (१७ गते) पुनलाई भेट्न लुकुरबन पुगेका थिए । ‘तपाईंको उपचार होस् भनेर गाडी लिएर आएका छौं । हिड्नुुस् हामी सुरक्षा दिन्छौं’, थापाले वडा अध्यक्ष पुनलाई गरेको आग्रह उद्धिृत गर्दै एक सहभागिले भने । तर, पुनले यतिका दिनसम्म के हेरेर बस्नुभयो ? भनेर उल्टै प्रश्न गरेका थिए । ‘हामीले आन्तरिक कुरा हो । पार्टीभित्रको सत्ताले मिलाउँछ भन्नेमा थिएऔं । तपाईंहरु त झन् एक पछि अर्को षड्यन्त्र गर्दै हुनुहुन्छ । नेतृत्वले बुझ्छ भनेर पर्खेको हौं । अब, ढिला भयो । कसरी अघि बढ्ने भन्ने बारे हामीले आफ्नो निर्णय लिइसकेका छौं’, पुनले थापालाई जवाफ दिएका थिए । थापासँग पूर्व शिक्षक धनबहादुर कुँवर र दुर्गा भण्डारी साथै गएका थिए । अध्यक्ष थापाले घाइते पुनसहितलाई ‘सुरक्षितका साथ उपचारका लागि लिन आएका हौं’ भनि आग्रह गर्नुबाट संस्थापन पक्षबाट सुनियोजित हत्याको प्रयास गरिएको थप पुष्टि हुन्छ ।
गौरीश्वर पाँण्डे, जसको निर्देशनमा आक्रमण गरिएको थियो ।
आक्रमणकारीहरुले बुर्तिबाङ आई पाण्डेको योजना अनुसार बागलुङको एक वरिष्ठ अधिवक्ताको सल्लाह बमोजिम लेखनदास मार्फत् उल्टो ज्यान मार्ने उद्योग अन्तर्गत निवेदन प्रहरी कार्यालयमा दर्ता गरेर दैनिक धर्ना दिंदै आएका छन् । ‘यो पार्टीको आन्तरिक विषय हो । तर, उनीहरु कोही पनि जिम्मेवार देखिएनन् । म जन प्रतिनिधि भएकाले संयम अप्नाएको हुँ । यो हाम्रो कमजोरी होइन, जिम्मेवारी हो । विषय वस्तु एकतिर छ । तर, केही सामाजिक अभियानकर्ताहरुले कथित जातीय सद्भाव फैल्याउने काम गरे । हामीमाथि आक्रमण गर्न आउने एक जनाको सामान्य चोटलाई लिएर दलितमाथि आक्रमण भयो भन्नु दर्भाग्य हो । हाम्रो चोट हेर्नु र स्थलगत रुपमा प्रत्यक्षदर्शीहरुसँग बुझ्न ती कथित सामाजिक अभियानकर्मीहरुलाई चुनौति दिन्छु’, पुनले भने ।
यता पूर्व शिक्षक कुलबहादुर छन्त्यालले भने– ‘दोहोरो झडप हुँदा चोट त लागि हाल्छ नि ? अध्यक्ष पुनलाई चोट लागेकोमा दुखित छु । अब, प्रहरीमा मिल्नुपर्छ । नभएर हामीले मुद्दा दायर गर्छौ अदालतमा । हामी माथि अन्याय भएको छ ।’ के अन्याय गरे भन्ने ? जिज्ञासामा छन्त्यालले भने– ‘सबै कुरा भन्ने हुँदैन । त्यो कुरा हामीलाई थाहा छ ।’
को हुन कुलबहादुर छन्त्याल ?
वार्ड नम्बर ४ सोखलामा बस्ने कुलबहादुर छन्त्याल राष्ट्रिय जनमोर्चाका पुराना कार्यकर्ता हुन । झण्डै १५ वर्ष शिक्षण सेवामा कार्यरत छन्त्यालले तीन महिनाअघि धिरी आधारभूत विद्यालयबाट ‘गोल्डेन हेनचेक’ लिएर अवकास लिएका हुन । स्थायीका लागि शिक्षक परिक्षामा सहभागी भएनन् । उनी निकटहरुका अनुसार वडा नम्बर ४ को ‘भावी जनप्रतिनिधि’ हुने पाण्डेको आश्वासन पाएर उनी राजनीतिमा संलग्न भएका छन् ।
लामो समय छोरेगाउँ माविमा सहविन अर्गेजाको (खेतला शिक्षक)का रुपमा अध्यायपन गराएका थिए । आर्थिक रुपमा पटक पटक विवादमा परेका छन्त्यालकी श्रीमतीलाई धिरी आधारभूत विद्यालयले २ वर्ष हाजिर नभई तलब खुवाउन बाध्य भएको थियो । यतिसम्म कि छन्त्यालले साविक खुंगा गाविस छोरेगाउँबाट दलित विद्यार्थीका लागि आएको छात्रबृद्धि ८० हजार रुपैयाँ हराएको निहुँ बनाएर पचाएको पूर्व गाविस सचिवले बताउने गर्छन ।
शिक्षणकलामा राम्रै मानिने कुलबहादुरले दलित छात्र÷छात्राको ८० हजार कसरी पचाए त ? कथा उनले गजबकै बुनेको जोक अहिलेसम्म गाउँमा हुने गरेको छ । ‘कमीरे पानी छेउँको भिरमा दिसा गर्न बसेको बेला ८० हजार दिसासँगै गुल्टिएर कहाँ हरायो हरायो’, त्यतिबेला गाविस सचिवलाई छन्त्यालले दिएको जवाफलाई अहिले जोक हुने गरेको छ ।
कस्ता चरित्रका हुन ईन्द्रमान छन्त्याल ?
दश कक्षा पास गर्न नसकेका ईन्द्रमान गाउँमा बलपरान भएका युवा हुन । ढुंगा कमाउन, घरको पर्खाल बनाउन सिपालु (कर्मी)मा उनी कहलिएका हुन । उनको सीपलाई उपयोग गर्न स्वयं तिकल पुनले नै बिजुली व्यारिङ्ग र पलम्बरमा सिकाए । तर, ईन्द्रले उनको सीपलाई पुरै दुरुपयोग गरे । जहाँ पलम्बरको काम गर्न गयो सोही घरकी बुहारी, छोरीमाथि गिद्दे नजर लगाए । फलामखानीमा एक दलित बुहारीसँग बिजुलीको खम्बा गाड्न खनिएको खाल्डोमा दिउँसै ‘लिप्ट’ अवस्थामा भेटिए ईन्द्र । स्थानीयले ‘हेर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्दै मुख एकतिर फर्काए । बुहारीको घरबार विग्रिने र बिजुलीको काम रोकिने डरले घट्ना गुपचुप राखे ।दोस्रो पटक उपल्लो धिरी आफ्नो घरबाट ५ मिनेट पाखाडेरामा श्रीमान विदेश भएकी महिलासँग ईन्द्रकै श्रीमतीले रंगेहात फेला पारिन । तर, पारिवारिक कुरा भनेर गुपचुप राखियो । आमाले सम्झाएर राखिन । त्यसको केही महिनामा भने ठूलै दुर्घटना घट्यो । पाखाडेराकी अर्की श्रीमान विदेश भएकीलाई गर्भवती बनाए । गाउँमा गाइँगुई हल्ला चल्यो । तर, बच्चा गाएब बनाउन ईन्द्रमानकी आमा, श्रीमती, स्वयं ईन्द्रमान, सुत्केरी महिला, उनकी श्रीमान, सासु–ससुरा मिलेर बच्चा ‘हत्या’को योजना बने ।
दुबै पक्षको घर सल्लाह बमोजिम बच्चा जन्माएर ‘हत्या’ गरी किरीको पाखामा एक माना चामल र १० रुपैयाँ पैसासहित सेतो कपडामा पोका पारेर फ्याँके । उक्त बच्चाको शब देखेपछि कुल बहादुर छन्त्यालकी आमा पर्सेउला र घाँस काट्न गएकी बेला तर्सिइन । उक्त कुरा कुल बहादुरलाई भनेपछि कुल बहादुरले तत्काल ईन्द्रमानलाई बोलाई घट्ना बताए ।
बच्चाको शब गुपचुप पार्न एउटा कोदालो लिएर आरणडेराका एक दलित युवकलाई साथ लिएर ईन्द्रमान किरीको पाखामा गए ।
ती युवकलाई अलिक टाढा बस भनि उनी बच्चाको शब गुपचुप पार्न गए । तर, २ घन्टापछि निराश मुख लिएर ठूलो श्वास फेर्न ती युवकसँग आइपुगे । ‘सबै घट्ना सुनाए । फेला परेन बर्वाद हुने भएँ भनेर एकछिन रुखको फेदमा बसेर असिनपसिन भएका थिए’, ती आरणडेराका युवकले घट्ना सुनाउँदै भने ।
तर, संयोग कस्तो परेछ भने बच्चाको शबलाई पोका पारेको सेतो कपडा, चामलभित्र १० रुपैयाँ पैसासहित किरी ढोभानमा कुकुरले खाँदै गरेको दिलबहादुर शेरपुजाले देखे । साविक खुंगा–९ का अध्यक्ष समेत रहेका शेरपुजाले आफ्नो कुकुरले घरछेउँमा बच्चाको शब खाइरहेको देखेपछि कुकुरलाई लखेटी कुलबहादुर छन्त्याललाई उनले बोलाए ।
नाताले सालो पर्ने कुलबहादुरलाई शेरपुजाले सबै देखाएपछि उक्त शब ईन्द्रेको हो भनि कुलबहादुरे गुपचुप पारे । पछि गाउँमा सोध्दा कुलबहादुरले जवाफ दिए– ‘सेतो कपडा मात्रै थियो । अलेली रगत लागेको थियो ।’
उक्त घट्ना त्यत्तिकै सेलाएन । ‘‘विष्टहरुले’ यस्तो नाजायज काम गर्ने भनेर ती बच्चा फ्याकेकी महिलाको देवरले केही समयपछि झगडा गरे । घट्नालाई बाहिर ल्याउने डरले ईन्द्रमानले फेरी केही युवाहरु लगाई ती देवरलाई कुटपिट गराए । उक्त घट्ना संलग्नहरुलाई कुटाई खाने देवरले ‘बच्चा मारेको केश’ लगाउने भनिए पनि पछि छलफल हुँदा कुटपीटको निवेदन दिन लगाएर बोंगादोभान प्रहरी चौकीमा ७० हजार रुपैयाँमा मिलापत्र गरे ।
उक्त घट्ना बल्झिने डरले ईन्द्रमान झण्डै ४ वर्ष गाउँमा देखिएनन् । गत वर्ष मंसिरमा उनी गाउँ फर्किए । गत माघे संक्रान्तिको राती एक विवाह भोजमा ईन्द्रमानले वडा सदस्य तिलबहादुर फगामीलाई हातपात गरे । उ बदमास भएको र सुध्रिएला भनेर तिलक पुनले नै घट्ना गुपचुप राखे । अहिले पुनः पुनमाथि हत्याको प्रयाससहित संगठित रुपमा आक्रमण गरेका छन् ।
यसैविच, नेपाल कम्युनिष्ट पार्टी नेकपाले एक विज्ञप्ती प्रकाशित गरी घट्नाको निश्पक्ष छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेको छ ।





