बागलुङ, १९ कात्तिक – जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको कुश्मीसेरा प्राथमीक स्वास्थ्य केन्द्रमा उत्साहका साथ भित्राइएको एक्स–रे मेसिन थन्किएको दुई बर्ष भयो । स्वास्थ्य केन्द्रमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा) कार्यक्रममार्फत भित्राईएको मेसिनले बन्द कोठामै दुई बर्ष थन्किदा अर्को मेसिन थपिएको छ तर सञ्चालनमा अझै आउन सकेको छैन् । प्राबिधिक जनशक्तिको अभाव र डार्ग रुमको सामान नभएको भन्दै थन्कीएको मेसिन नचल्दै गत असार महिनामा गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयको सहयोगमा अर्को मेसिन ल्याईएको हो । असारमा आएको मेसिन समेत बन्द कोठामै थन्कीएपछि बिरामी सुविधा उपभोग गर्नबाट बञ्चित भएका छन् ।
वार्षिक १ लाख रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य उपचार गर्ने आशासहित प्रतिपरिवार न्यूनतम तीन हजार पाँच सय रुपैयाँ तिरेर बिमा गरेकाहरुलाई लक्षित गरी ल्याइएको एक्स–रे मेसिन सञ्चालन नहुँदा समस्या भएको स्थानीयबासी बताउँछन् । स्वास्थ्य बिमा कार्यक्रमको मात्रै होईन गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले हरेक स्वास्थ्य संस्थामा एक्स–रेको लागि आवश्यक प्राबिधिक र सामग्री पु¥याउने लक्षका साथ दिएको मेसिन समेत सञ्चालनमा नआउँदा बिरामी मर्कामै छन् ।
स्वास्थ्य बिमाले केन्द्रमा ल्याएको मेसिन डार्क रुममा प्रयोग हुने एसेसरिज नामक सामग्री र जनशक्ति नभएको भन्दै बन्द कोठामा राखेको छ । ‘सामग्री पुरा नभएकाले चलेको थिएन्, जनशक्ति पनि छैन्’ जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले भने– ‘अहिले संरचना र जनशक्ति दुवैको व्यवस्थापन गर्दैछौं ।’ स्वास्थ्य केन्द्रले मेसिन चलाउनका लागि एक जना सिनियर अहेबलाई तालिम दिने तयारी गरिरहेको आचार्यले बताए ।
‘हामीले स्वास्थ्य केन्द्रमा कार्यरत अहेब डिल्लीप्रसाद शर्मालाई मेसिन चलाउन आग्रह गरेका छौं, आवश्यक प्राविधिक ज्ञान दिए उहाँ काम गर्न तयार हुनुहुन्छ ।’ आचार्यले भने ‘धौलागिरी अञ्चल अस्पतालमा मेसिनकै काम गरिरहनुभएका प्राबिधिकलाई सिकाईदिनु भनेका छौं समय मिलेको छैन ।’
सेवा क्षेत्रभित्रका धेरै परिवार स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिएकाले स्वस्थ्य केन्द्रमा आउने प्रायले निःशुल्क उपचार पाउँछन् । एक्स–रे गर्न आवश्यकलाई अञ्चल अस्पतालमा पठाउनु परेको स्वास्थ्य केन्द्रले जनाएको छ । ‘महिनामा १० देखि १५ जना एक्स–रे गर्नुपर्ने बिरामी आउनुहुन्छ’ सिनियर अहेव डिल्लिप्रसाद शर्माले भने ‘भएको मेसीन नचलेपछि रिफर गर्ने गरेका छौं ।’ सामान्य फ्याक्चर भएका बिरामीलाई समेत केन्द्रले एक्स–रे को लागि सिफारिस गरेर पठाउने गरेको छ ।
केन्द्रमा दरबन्दी जनशक्ति नहुनाले मेसिन चलाउने जनशक्तिको व्यवस्थापन गर्न कठिन भैरहेको व्यवस्थापन समितिले जनाएको छ । ‘हामीले आवश्यक पुर्वाधार र जशक्तिको व्यवस्थापन गरेर मेसीन चलाउनुस् भनेर प्रमुख ज्युलाई भनेका छौं’ समितिका अध्यक्ष भुपेन्द्र थापाले भने ‘सके वडा नभए नगरपालिकाबाट स्रोत जुटाएर भएपनि मेसिन सञ्चालनमा ल्याउँछौं ।’ स्वास्थ्य केन्द्र प्रमुख परिवर्तन भैरहने समस्याले पनि मेसिन सञ्चालनमा आउन समय लागेको थापा बताउँछन् । नगरपालिकाकै केन्द्रमा रहेको स्वास्थ्य केन्द्रमा पुर्वाधार र जनशक्तिको बिषयमा बेला बेलामा नगर स्तरमा चर्चा चल्ने गरेको भएपनि समयमा व्यवस्थापन हुन नसक्दा सर्वसाधारणले दुःख पाउने गरेका छन् ।





