शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सेवक र जनप्रतिनीधि बन्नेछु, जागिरे होइन : इ.धर्मराज गुरुङ

सेवक र जनप्रतिनीधि बन्नेछु, जागिरे होइन : इ.धर्मराज गुरुङ


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७६, मंगलबार

पोखरा,१९ कात्तिक – लाहुरेहरुको सहर हो, पोखरा । पोखराको आर्थिक र सामाजिक विकासमा लाहुरेहरुको योगदान महत्वपूर्ण छ । त्यसो त, बाक्लो गुरुङ बस्तीको परिचय पनि पोखरासँग जोडिन्छ । यही सहरमा आउँदो मंसिर १४ गते चुनाव हुँदैछ । कास्की क्षेत्र नम्बर २ मा संघीय संसद पदको उपनिर्वाचन नजिकिँदै गर्दा समाजवादी पार्टीले सो क्षेत्रबाट इञ्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । र, धर्मराज गुरुङ यो क्षेत्रबाट हालसम्म घोषित उम्मेदवारमध्ये एक मात्र ‘लाहुरे’ हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर १६अर्मलामा जन्मेका गुरुङले उमेर छँदा छाती नपाए र बेलायती सेनामा भर्ना भए । २४ वर्ष बुट बजारे । भला, इञ्जिनियर भएकाले उनको भूमिका फरक थियो । त्यसपछि १५ वर्ष संयुक्त राष्ट्रसंघको जागिरे बने । उनले विदेशको समृद्धि देखे, त्यहाँको छरितो प्रशासनको भेउ पाए अनि आफ्नो जन्मभूमि किन पछि परेको हो भन्ने पनि बुझे । रिटायर्ड भएपछि पोखरा आएर उनी गोर्खा कम्युनिटीको अध्यक्ष भए । सामाजिक क्षेत्रम क्रियाशिलता जनाए अनि गुरुङहरुको जातीय संगठन तमु धिँमा पनि आवद्ध भए ।

सन्, २०१० मा नेपाल आएका धर्मराजले राजनीतिबाटै देश परिवर्तन सम्भव छ भन्ने बुझे । जातीय राजनीति तातेको बेला उनी संघीय समाजवादी पार्टीमा आवद्ध भए ।

‘विविधताको मुलकमा सबै विविधताले मुस्कुराउन पाउनु पर्छ’, मंगलबार समाजवादी पार्टीले आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा उनले भने,‘पहिचानको सम्मान,संघीयताको कार्यन्वयन, मुलुकमा सुशासन र समृद्धिसँगै समाजवाद नै हाम्रो लक्ष्य हो ।’सबैलाई समान र सम्मान हुने ऐन कानून निर्माण, विभेदको अन्त्य,पञ्चायतकालदेखिका शासक र प्रशासकहरुको सम्पत्ति छानविनलाई उनले आफ्नो चुनावी एजेण्डा भएको बताए ।

‘सेवक र जनप्रतिनीधि बन्नेछु, जागिरे होइन’, उनले आफ्नो १६ बुँदे चुनावी प्रतिवद्धता सुनाउँदै भने,‘निर्वाचन क्षेत्र विकासका लागि इमान्दारीपूर्वक प्रतिवद्ध रहनेछु ।’ हात चुनाव चिन्हसहित चुनावी मैदानमा होमिएका धर्मराजलाई जिताउन समाजवादी पार्टीले टोलटोलमा अभियान सुरु गरेको चुनाव प्रचार प्रसार समितिका संयोजक हुमबहादुर तमुले बताए । देशमा यतिबेला वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महशुस भएकाले आफूहरुको विजय सुनिश्चित भएको पनि उनले दावी गरे । अघिल्लो चुनावमा यहाँ संघीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिका उम्मेदवारले  २ सय ४१ मत पाएका थिए । यी दुबै पार्टी मिलेर समाजवादी पार्टी बनेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->