गलकोट,१९ कात्तिक – गलकोटको मल्ममा १ दिने निशुल्क आँखा शिविर मंगलवार सम्पन्न भएको छ । घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको आयोजना, वडा नं ७ को समन्वय तथा गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो । मल्म सप्ताहघाटमा सञ्चालन भएको शिविरमा २ सय ४४ जनाले निशुल्क आँखा चेक जाँच गराएका छन । शिविरमा १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिए । शिविरमा मोतिया विन्दुलाई आवश्यक परामर्श गरि शल्यकृया गर्न विरामीलाई सुझाव दिईएको विशेषज्ञ खत्रीले बताए । त्यस्तै दृष्टि दोष भएकाहरुलाई आँखा जाँच गरी चश्मा वितरण गरिएको छ भनें अन्य सामान्य समस्या भएकाहरुलाई आवश्यक औषधी निशुल्क प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि निशुल्क आँखा शिविर सञ्चालन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले जानकारी दिए। शिवर सञ्चालनको लागि गलकोट नगरपालिका ७ मल्म आँगाखेत हाल जापानमा कार्यरत दिदी भाई सुवास खत्री र शोभा खत्रीले प्रायोजन स्वरुप नगद रु २० हजार सहयोग गरेका थिए । सामाजिक संस्थाले स्थानिय स्तरमा निशुल्क शिविर सञ्चालन गरिनुले आम नागरिकको आँखा जस्तो संवेदनसिल अंगको लागि परोपकारी काम भएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए। घर आँगनीमा निशुल्क आँखा शिविर सञ्चालनले आफुहरुलाई राहत मिलेको भन्दै स्थानियले खुसी व्यक्त गरेका छन । निशुल्क स्वास्थ्य शिविरमा मल्म स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले आवश्यक सहयोग गरेका थिए ।





