शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ठूलाको बाजागाजा र झाँकी, साना र स्वतन्त्रसँग शुभेच्छुक तथा साथी !

ठूलाको बाजागाजा र झाँकी, साना र स्वतन्त्रसँग शुभेच्छुक तथा साथी !


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०७६, शुक्रबार

पोखरा ,२२ कात्तिक –  कास्की क्षेत्र नम्बर २ उपनिर्वाचनको लागि २२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । समानुपातिको सूचिमा रहेको भन्दै निर्वाचन आयोगले सुरुमै ३ जना उम्मेदवार नाम हटाइदिएपछि २२ वटा मनोनपयपत्र मात्रै निर्वाचनको अघिल्लो प्रक्रियामा गएका छन् । उम्मेदवारको दावी विरोधलगायतका प्रक्रियापछि कात्तिक २४ गते मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मनोनयन झिक्ने छुटको अधिकार पनि उम्मेदवारसँग रहेको छ । मनोनयन दिएकामध्ये ११ जना विभिन्न पार्टीसँग आवद्ध छन् भने बाँकी स्वतन्त्र हुन् । उम्मेदवारी दर्ता गरेकामध्ये ६ जना कास्कीभन्दा बाहिरका हुन् । प्रतिनिधिसभाको लागि निर्वाचन हुने कास्की क्षेत्र नम्बर २ एउटा मात्रै निर्वाचन क्षेत्र हो ।
मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्याले बिहान साढे १० बजे उम्मेदवारी दर्ता गराएकी हुन् । उनको उम्मेदवारीमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा प्रस्तावक र नेकपाको तर्फबाट प्रदेशसभा सदस्य प्रभा कोइराला समर्थक रहेका छन् । यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुराना नेता खेमराज पौडेललाई चुनावी मैदानमा ओरालेको छ । खेमराजको प्रस्तावकमा कांग्रेस नेता सोभियतबहादुर अधिकारी र समर्थकमा नेता देवराज चालिसे रहेका छन् । यी दुबै नेता खेमराजसँगै टिकटको दौडमा थिए । तर, अन्तिममा कांग्रेसले खेमराजलाई टिकट दिएको थियो ।
समाजवादी पार्टीले सो क्षेत्रबाट धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी,साझाले रजनी केसी,नेपाल कम्युनिष्ट पार्टी ( माले)ले टेकनाथ भण्डारी,राष्ट्रिय प्रजातन्त्र पार्टी( संयुक्त) ले गंगा मल्ल,राष्ट्रिय जनमुक्ति पार्टीले पूर्णबहादुर राना,नेपाली कांग्रेस( विपी)ले चन्द्रबहादुर रानाभाट, मंगोल नेपाल अर्गनाइजेसनले रियाज गुरुङ र देशभक्त समाजबाट विरबहादुर विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
विवेकशील पार्टीले कास्कीमा पत्रकार सम्मेलन नै गरि उम्मेदवारी घोषणा गरे पनि पार्टी दर्ता नभएकाले स्वतन्त्रबाट मनोनयन दिन बाध्य भयो । सो पार्टीको तर्फबाट जमुना शर्मा उम्मेदवार बनेकी छन् । यसैगरी स्वतन्त्रबाट उमानाथ गौतम, कमलजंग कुवर, दीपक रेग्मी, नवराज बास्तोला, पुरुषोत्तम खनाल,यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला, सुनिल भुसालले उमेदवारी दर्ता गरेका छन् । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट गजेन्द्र संबो लिम्बु, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाहले उमेदवारी दर्ता गर्न गएपनि उनीहरुको नाम समानुपातिक सूचीमा भेटिएपछि उमेददवारको लिष्टमा समावेश नगरिएको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्तापछि बोल्दै सबै पार्टीका नेताहरुले आफ्नो विजय सुनिश्चित भएको दावी गरे । तीमध्ये धेरैजसोले आफू एजेण्डाको लागि चुनावी मैदानमा होमिएको जिकिर पनि गरे । मनोनयन दर्ता गर्ने क्रममा ठूला दलहरुको ठूलै लामलस्कर र ताँती देखियो । बाजागाजासहित उनीहरुले शक्ति प्रदर्शन नै गरे । शक्ति प्रर्दशनमा नेकपा अघि देखियो । यद्यपी, निर्वाचन आयोगमा मनोनयन दर्ता गर्दा भने बाजा र शक्ति प्रदर्शन बन्देज थियो । नेकपाले पार्टी कार्यालय शान्ति वनबाटिकाबाट जुलुस निकाल्यो । कांग्रेस र समाजवादीले सभागृहबाट बाजागाजासहित जुलुस निकाले । राप्रपाले पार्टी कार्यालयबाट निकालेको जुलुसमा सहभागि भएर अध्यक्ष कमल थापाले नै उम्मेदवारको मनोबल बढाए । साझाका संयोजक रवीन्द्र मिश्र र प्रवक्ता डाक्टर सूर्यराज आचार्य पनि उम्मेदवारी दर्तामा सहभागि भए । कांग्रेसले मुस्ताङचोकमा कोणसभा ग¥यो । कोणसभामा उपसभापति विमलेन्द्र निधि उपस्थित भए । यता, नेकपाको रत्नचोकनेर भएको कोणसभामा नेता दीनानाथ शर्मा र खगराज अधिकारीले कार्यकर्तालाई संवोधन गरे । स्वतन्त्र र साना पार्टीले आफ्नो गच्छे अनुसारका शुभेच्छुकसहित उम्मेदवारी दर्ता गराए । यही मेसोमा स्वतन्त्र उम्मेदवारवी दिन आएका जनकपुरका डाक्टर कृष्णचन्द प्रसाद साहले प्रस्तावक र समर्थक नपाएर उम्मेदवारी नै दर्ता गर्न पाएनन् । प्रस्तावक र समर्थक कास्कीकै चाहिन्थ्यो । प्रस्तावक र समर्थक खोज्दा पैसा मागेको उनले दावी गरे ।


बागलुङमा स्वतन्त्रसहित १० उम्मेदवार
आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको लागि बागलुङमा २ स्वतन्त्र उम्मेदवार र ८ वटा पार्टीले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं २ को (२) प्रदेशसभा सदस्यको लागि हुन लागेको उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा साझा बाम उम्मेदवार खडा गरेका छन्भने नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा पनि उपबिजेता बनेका उम्मेदवारलाई नै चुनावी मैदानमा उतार्ने गरी मनोनयन दर्ता गराएको छ ।
समाजवादी, राष्ट्रिय प्रजातन्त्र, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाईजेशनले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
साझा वाम उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका नेता खिमबिक्रम साहीको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसका जीत सेरचनले उम्मेदवारी दर्ता गराएका छन् । उनी सोही क्षेत्रमा भएको यसअघिको निर्वाचनमा उप बिजेता बनेका थिए । राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी उम्मेदवार बनेका छन् । समाजवादी पार्टिबाट अशोक कुमार बिकले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेशबहादुर कँवरलाई उम्मेदवार बनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिल कुमार राई उम्मेदवार बनेका छन् । राष्ट्रिय जनमुीक्त पार्टिका यामबहादुर मगरले मनोनयन दर्ता गराएका छन् । मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट मित्र बहादुर मगर उम्मेदवार बनेका छन् ।संयुक्त वाम उम्मेदवारको मनोनयन दर्ताका लागि नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय उपाध्यक्ष भीमप्रसाद शेरचन पनि उम्मेदवारी दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मनोनयन दर्तापछि बोल्दै नेताहरुले आ–आफ्नै उम्मेदवारले जित्ने दाबी गरे ।विवेकशील नेपाली दलको समर्थनमा ढोरपाटन नगरपालिका १ का सन्तोष भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
बाममा बागी
नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारका लागि प्रदेश कमिटीलाई गरेको सिफारिसमा ६ जनाको लिष्टमा परेका सेरमान घर्तिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । लामो समय पार्टीमा रहेर काम गरेको भएपनि मुल्यांकन नगरेको भन्दै उम्मेदवारी दर्ता गराएको सेरचनले संक्षिप्त प्रतिक्रिया दिएका छन् । ‘नेताका नजिक अरु रहेछन्, जनताका नजिकै बसेर मैले काम गरिरहेको छु’ घर्तीले भने ‘चुनावी परिणाम जनताका पक्षमा आउँछ त्यसैको लागि मेरो उम्मेदवारी हो ।’ नेकपा केन्द्रले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने निणर्य गरेपछि बागलुङमा राजमोका खिम बिक्रम मात्रै साझा उम्मेदवार थिए । नेकपामा असन्तुष्ट पक्षले बागी उम्मेदवारी दर्ताका लागि घर्तीलाई सघाएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->