पोखरा,२३ कात्तिक – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकै महासचिव विष्णु पौडेलसँग आफ्नो ‘हल’ मिलेको बताएका छन् । ‘हाम्रा महासचिव कमरेड र मेरो करिब–करिब हलगोरु जस्तै हुन थालेको छ । जहाँ पनि पनि हामी हलगोरु जस्तै जान्छौँ’,उनले भने,‘ एउटाले भनेपछि अर्कोलाई त्यै हो, त्यै हो भन्ने लाग्छ ।’
अध्यक्ष प्रचण्ड शुक्रबार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै थिए । पार्टीको निर्देशक सिद्धान्तलाई लिएर केही समयअघि यी दुई नेताहरुबीचको मनमुटाव सार्वजनिक मञ्चबाटै सार्वजनिक भएको थियोय । तर, पछिल्लो समयमा पटक–पटक भएका भेटघाटपछि अध्यक्ष र महासचिव नेकपाभित्र एउटै कित्तामा उभिएका छन् । कार्यकर्ता प्रशिक्षणको क्रममा प्रचण्डले यही कुराको संकेत गरेका हुन् । अध्यक्ष प्रचण्डले नेकपाभित्र शीर्ष तहका नेताहरु एक भएको दावी पनि गरे ।
नेकपाको बन्द प्रशिक्षणलाई सम्बोधन गर्दै उनले पार्टी र आसन्न उपनिर्वाचनको बारेमा पनि धारणा राखेका हुन् । कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । नेकपाले आधिकारिक रुपमा दिवंगत रविन्द्र पत्नी विद्या भट्टराईलाई चुनावी मैदानमा उतारेको छ । उपनिर्वाचनमा जीत निश्चित भए पनि सरकारको लोकप्रियता यो निर्वाचनले दिने भएकोले सबै एक भएर लाग्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए । पार्टी एकताको प्रक्रियाको बारेमा बोल्दै प्रचण्डले कात्तिक २५ भित्रै एकता प्रक्रिया सबै टुंगो लगार्इ छाड्ने दाबी गरे । ‘पार्टी एकीकरण लगभग सकियो ,कार्तिक २५ गते हामी अन्तिम बिन्दुमा पुग्छौँँ’, उनले थपे । पार्टी एकता प्रकिया र सरकारको लोकप्रियता उप निर्वाचनले सावित गर्ने उनको दोहो¥याए ।
सरकारले गरेका राम्रा कामहरुको बारेमा घरघरमा टोलटोलमा व्यक्ति–व्यक्तिसँग पुगेर प्रचार गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।‘विकास निर्माणको बारेमा हाम्रा पार्टीले अगाडि बढाएका परियोजना, कानूनहरु, छिमेकी र विदेशीसँग गरेका सम्झौताहरु सबैभन्दा पछिल्लो मोतहारीदेखि अमलेखसम्मको पाइपलाइन विछ्याउने परियोजना सानो कुरा होइन । यसको सन्देश ठूलो छ, अर्बौ रुपैया महिनैपिच्छे बच्ने भएको छ’,उनले भने,‘सरकारका कामका बारेमा जनतालाई बुझाउनुहोस् ।’ 
चीनका राष्ट्रपतिको २३ वर्षपछिको भ्रमणलाई पनि उनले सरकारका सफल कार्यमा सामेल गरे । यसो भनिरहँदा प्रचण्डले चीनबाट रेल ल्याउने विषयको उठान सबैभन्दा पहिले आफैले गरेको जिकिर पनि गरे ।
‘मैले पहिलोपटक प्रधानमन्त्रीको रुपमा चीन जाँदा त्यहाँका प्रधानमन्त्री हु जिन्ताओलाई भनेको थिएँ, हाम्रो एउटा सपना छ, ल्हासाबाट लुम्बिनीसम्म रेल पु¥याउने । यही मार्गचित्रमा रेल जाओस भन्ने सपना छ’, उनले भने,‘ यो अहिले सपनाजस्तो छ । २०÷३० वर्ष लाग्ला अहिले २० वर्ष नहुँदै विपना हुँदैछ । रेल केरुङ काठमाण्डौ, काठमाण्डौ देखि पोखरा र लुम्बिनी ल्याइन्छ ।’
कार्यक्रममा बोल्दै पार्टी महासचिव विष्णु पौडेलले नेपालमा भएको परिवर्तनको नायक नेकपा भएको दावी गर्दै नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नरहेको दावी गरे । कांग्रेस परिवर्तनको पक्षधर नभई राजासँग मिलेर अघि बढ्न खोजिरहेको अवस्थामा बर्तमान नेकपामा आवद्ध दलको नेतृत्वमा नेपालमा परिवर्तनको सुरुवात भएको उनले जिकिर गरे ।उनले भने,‘कांग्रेसलाइ संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा लिएर आउने काम हामीले गरेका हौँ ,तसर्थ यसको नायक र राजतन्त्रको अन्त्यको नाइके हामी हो ।’
विश्वका संविधान भन्दा नेपालको संविधान उत्कृष्ट भएको दावी गर्दै नेता पौडेलले जनताको अधिकार ,अग्रगामी सोच, समाजको अग्रगामी दृष्टिले दुनियाँको तुलनामा नेपालको संविधान राम्रो रहेको बताए ।
‘यो संविधान राजा महाराजाले दिएको होइन ,जनताले आफ्नो प्रतिनिधिका माध्यमबाट बनाएको हो’, उनले भने,‘यो मान्यता स्थापित गर्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी हो ।’
अहिले हुन लागेको उपनिर्वाचन जित्नु मात्र नभई समाजवाद तर्फको यात्रालाइै सार्थक बनाउने कडी भएको उनको धारणा थियो । सरकारले गरेका लोकप्रिय काम र नेकपाप्रति जनताको आकर्षणको कारण चुनाव जित्नुको मात्र औचित्य नभएको भन्दै पौडेलले भारी मत हासिल गर्नसके मात्र सरकारको लोकप्रियता मापन हुने बताए । सरकारले विकास निर्माणको क्षेत्रमा जनताले महशुस गर्नेगरि काम गरेको उनको दावी थियो ।‘ विकास निर्माणका योजनाहरु अघि बढेका छन ,रेल सुरुङमार्ग ,जलविद्युत ,कूटनीतिक नियोग सम्बन्ध, हरेक क्षेत्रमा प्रगति भएको छ’, उनले थपे ।
कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह इञ्चार्ज किरण गुरुङले अहिले हँुदै गरेको उपनिर्वाचनलाइ आफुहरुले जनमत संग्रहको रुपमा लिएको धारणा राखे । ‘दुई तिहाईको सरकारको मापन गर्ने आधार यो निर्वाचन हो ,हाम्रो पार्टीको लोकप्रियता यहीं चुनावले मापन गर्ने छ’, उनले भने, ‘सरकारको लोकप्रियता देख्नुहुने छ ।’ कार्यक्रममा कास्की क्षेत्र नम्बर २ को निर्वाचनकी उम्मेदवार परिचालन कमिटिका संयोजक जीवन आचार्यले उम्मेदवार विद्या भट्टराईको जीवनीबारे प्रकाश पारे भने स्वयं विद्याले आफू पार्टीको प्रतिवद्ध कार्यकर्ताको रुपमा चुनावी मैदानमा ओर्लिएको र पार्टीका नीति तथा कार्यक्रम नै लिएर जनतामाझ जाने बताइन् । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव वखानसिँह गुरुङले गरेका थिए । 





