आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कालीगण्डकी कोरिडोरको पूर्वाधार निर्माणमा लगानी बढाइएको छ : सचिव कार्की

कालीगण्डकी कोरिडोरको पूर्वाधार निर्माणमा लगानी बढाइएको छ : सचिव कार्की


  • Dhorpatan News
  • कार्तिक २४ २०७६, आइतबार

बागलुङ,२४ कात्तिक – भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव देबेन्द्र कार्कीले देशको भौतिक पूर्वाधार निर्माणमा लगानी बढाएको बताएका छन् । उनले हरेक क्षेत्रमा अलपत्र संरचना पुरा गर्ने र राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने सरकारले लक्ष राखेको समेत बताएका हुन् ।
बागलुङ नगरपालिका १३ को कालाखोलामा कालीगण्डकी कोरिडोरको अनुगमनको क्रममा आएका सचिव कार्कीले नेपाली सेनाको कामबाट प्रभावित भएको बताए । हाल कालीगण्डकी कोरिडोरको बागलुङ र गुल्मीखण्डको ८० किमी सडक नेपाली सेनाले बनाइरहेको छ । केही बर्ष अघि ट्रयाक खोलेको यो सडकलाई चौडा पार्ने काम पनि सेनाले गरिरहेको हो ।शनिवार सचिव कार्की सडक अनुगमनका लागि आएका थिए ।

कार्की सहित अन्य मन्त्रालयका उच्चपदस्थ अधिकारी, सेनाका अधिकारी र स्थानीय जनप्रतिनिधिले बलेवाको विभिन्न खण्डमा सडक अनुगमन गरेका थिए । अनुगमनको क्रममा धापाखोला नजिकै सेनाले बम बिष्फोट पनि गराएको थियो । यो सडकको अधिकांस स्थानमा बम पड्काएर मात्र पहरा फोड्ने काम गरिरहेको छ । नेपाल सरकारले सेनालाई कामको जिम्मा दिएपछि सन्तोषजनक काम भएको भन्दै कार्कीले कामको प्रसंसा पनि गरेका थिए । उनले खर्च पुग्दैन भनेर काम नरोक्न पनि आग्रह गरे । काम नभएका अन्य योजनाको पैसा ल्याएर भएपनि कालीगण्डकी कोरिडोरको चौडा पार्ने काम सकेरै छाड्ने उनले प्रतिवद्धता जनाएका छन् । यो सडक चौडा पारेर सडक बिभागलाई हस्तान्तरण गरेपछि बिभागकै नेतृत्वमा कालोपत्रेको काम थालिने बताइएको छ ।
कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले सेनाले जस्तै बिभागले पनि दु्रत रुपमा काम गरेर देखाउने चुनौती थपिएको बताए । पौडेलले अब जनताले टिकाटिपप्णी गर्ने गरी काम भयो भने सडक बिभागप्रति विश्वास घट्छ भन्दै महानिर्देशक केशबकुमार शर्मा सहित अनुगमनको सबै टोलीलाई चासो राखिदिन आग्रह पनि गरे । सचिव कार्कीले भने कोरिडोर बाहेक मन्त्रालयको लगानीमा बागलुङमा अन्य योजना पनि संचालन भएकोले कामले तीब्रता पाउने प्रतिवद्धता जनाएका थिए ।
उक्त अवसरमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्थानीय तहले गर्ने काम नियमित भएको बताए । संघिय सरकारको लगानीमा हुने कामको समय समयमा अनुगमन गर्ने र कामलाई तीब्रता दिन पहल गरिनुपर्ने बताए । कालीगण्डकी कोरिडोर निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा भट्टराईले सडकको कार्यप्रगती बारे प्रस्तुतीकरण गरेका थिए । मालढुंगादेखि रिडी सम्मको ८० किमी सडक खण्ड सेनाले जिम्मा लिएपछि धमाधम काम गरेको उनले बताए । उक्त सडकको १० किमी बाहेकको खण्ड चालु बर्षभित्रै चौडा बनाईसक्ने उनले प्रतिवद्धता जनाए । बजेट अभावले १० किमी खण्डमा काम गर्न नसकेको उनले जनाएपछि सचिव कार्कीले काम गरेमा बजेटको चिन्ता नलिन आग्रह गरे । उनले रकमान्तरण गरेरै भएपनि बजेट दिने भन्दै काम गर्न सुझाए ।

नेपाली सेनाले गत माघ महिना देखि कोरिडोरलाई १० मीटर चौडापार्ने जिम्मा लिएको छ । केही समय काम रोकिएर कोरिडोरमा सवारी आवागमन ठप्प भएपनि हाल संचालनमा छन् ।

यस अघि कोरिडोरको ट्रयाक खोल्न पनि सरकारले सेनालाईनै जिम्मा दिएको थियो । अत्याधिक पहरो र कडा चट्टान भएकोले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएको थियो । कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईकै नेतृत्वमा यहाँ काम भैरहेको हो । काम भैरहेको स्थानको सुरक्षाका लागि नेपाली सेनाले क्याम्प समेत खडा गरेर सुरक्षा समेत दिएको छ । यो कोरिडोरको दर्जनौ स्थानमा बम पड्काएर मात्र सडक चौडा पार्न सकिन्छ । कतिपय स्थानमा बम पड्काउने काम गर्दा दुर्घटना हुने खतराले सवारी आवागमन रोक्ने समेत गरिएको छ ।

कोरिडोरको अनुगमनका लागि सडक बिभागका महानिर्देशक केशबकुमार शर्मा, अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, रक्ष मन्त्रालयका सहसचिव जीतबहादुर सुनार र नेपाली सेनाको निर्माण कार्यदल निर्देशनालयका सहायक रथी रामधर सिंह, कोष तथा लेखा नियन्त्रण महाशाखाका पदाधिकारीपनि उपस्थित थिए । उनीहरुले सडकको अनुगमन गरिसकेपछि कामको तीब्रता देखेर खुसी लागेको बताए । प्रत्यक्ष देखेपछि यो काम सम्पन्न गर्नका लागि रकम निकाशा दिन सहज भएको एक अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->