बरेङ,२४ कात्तिक – जिल्लाको बरेङ गाउँपालिकाले पर्यटकीय सांकृतिक क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाभित्र रहेका दुई सांकृतिक र चारवटा प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटकीय सांकृतिक क्षेत्र घोषणा गरिएको हो । गाउँपालिकाले आर्थिक बिकासको पहिलो खम्बाका रुपमा पर्यन क्षेत्रलाई बिकास गर्ने भन्दै छ वटा पर्यटकीय सांकृतिक क्षेत्रको पहिचान गरी घोषणा गरेको हो । घोषणा भएका क्षेत्रहरुमा पुर्वाधार विकास र प्रचार प्रसारको काम थालिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । पश्चिमाञ्चल क्षेत्रमै प्रसिद्ध रहेको सत्यावती मन्दिर र कालिलेक सिद्धस्थानलाई गाउँपालिकाले सांकृतिक क्षेत्र भनेको छ ।
त्यस्तै बरेङका बिभिन्न वडामा रहेका कौडेको धुरी, भैंसेझरना, भित्रीवन देउराली र भाटेपोखरा क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नीतिगत रुपमै स्थानीय तहहरुले सांकृतिक तथा पर्यटकी क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था गरेकाले सोही नीतिको अधिनमा रहेर सास्ंकृतिक तथा पर्यकीय क्षेत्रको घोषणा गरीएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउँछन् । गाउँपालिकाको पर्यटन बिकासका साथै नेपाल भ्रमण बर्ष सन् २०२० लाई सघाउनका लागि पनि गाउँपालिकाले उक्त घोषणा गरेको हो ।
‘हामीले अव पर्यटन तथा सांकृतिक क्षेत्रको बिकासका लागि बिनियोजन भएको बजेटमा प्राथमीकतामा घोषणा भएका क्षेत्रलाई राख्छौं’ प्रमुख प्रशासकीय अधिकृत थापाले भने ‘योजनाबद्ध विकासका लागि सहज होस भनेर छ वा क्षेत्र घोषणा गरिएको हो ।’ स्थानीय सरकार सञ्चालन ऐनको दफा ९ उपदफा ३ ले स्थानीय सरकारले सांकृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था गरेको छ । ‘आर्थिक बर्ष २०७६÷०७७ मा केही बजेट व्यवस्थापन गरिएको छ, सोही बजेट परिचालन गरेर यी क्षेत्रको विकासमा लाग्छौं’ थापाले भने ‘पहिचान पहिलो कुरा हो अव पूर्वाधार बिकासको बाटो खुल्यो ।’
गाउँपालिकाले पर्यटनको बिकासबाट आर्थिक समृद्धि प्राप्तीको लक्ष राखेको छ । पर्यटन क्षेत्रलाई पहिलो उत्पादनको क्षेत्र मानेर अघि बढ्नेगरी योजना निर्माण भैरहेको थापाले बताए । नेपाल भ्रमण बर्षमा नेपाल घुम्न आउने पर्यटकहरुमध्ये थोरै मात्रै पर्यटक भएपनि बरेङ पु¥याउने गरी तयारी थालिएको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकार र केन्द्र सरकारले तयार गरेका पर्यटन सम्बन्धि योजनाहरुको सहजताका लागि पनि यो घोषणाले सघाउने अध्यक्ष शर्मा बताउँछन् ।
केन्द्र र प्रदेशका पर्यटन मन्त्रालयले बनाएका योजना तथा पर्यटकीय क्षेत्रमा निर्माणहुने पूर्वाधारमा गाउँपालिले गर्न सक्ने सझोदारीमा समेत यो घोषणले सहजता प्रदान गर्ने छ । ‘अव पर्यटन बिकासका क्षेत्रहरुको स्पष्ट किटान भएको छ’ शर्मा भन्छन् ‘कानुनले दिएको अधिकार प्रयोग गरेर स्रोत साधनको परिचालन गर्छौं ।’ सांकृतिक पर्यटकीय क्षेत्र घोषणा पुर्व गाउँपालिकाले पर्यटन क्षेत्रमा बिनियोजन गर्ने बजेट उपभोक्ताको माग र वडाको प्राथमीकताको आधारमा खर्च हुँदै आएको थियो । सम्बन्धित क्षेत्रमा बिनियोजन हुने बजेटको सदुपयोगमा समेत सांकृतिक तथा पर्यटकीय क्षेत्र घोषणा प्रभावकारी बन्ने गाउँपालिकाको विश्वास छ ।





