पर्वत,२५ कात्तिक – पर्वतमा रहेका नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरूको अवलोकन गर्न जानेहरू धेरैले पुलहरूमा फोटोहरू खिच्छन् । पुल हेर्दै रमाउँछन ्। तीमध्ये कसैको ध्यान पुलको मुखबाट केही मिटरमाथि ‘ड्राइ पूmड’ बेच्दै बसिरहेकी सहिदुन खातुनमा जान्छ । उमेरले ४५ वर्ष पुगेकी सहिदुन पछिल्लो २ वर्षदेखि कुस्माको बडागाउँमा रहेको कुस्मा–शिर्सुवा जोड्ने पुलको मुखैनेर हुन्छिन् ।
ग्राहकलाई पानी, कुरमुरे, चाउचाउ, मिठाई लगायतका सामान बेच्दै गरिरहेकी उनको छोरा २ ओटा ठुला रुखमा पछ्यौरी बाँधेर बनाइएको झोलुङ्गोमा रोइरहेको हुन्छ त कति बेला खेलिरहेको हुन्छ । त्यो दृश्यलाई धेरैले नियाल्छन् अनि फोटाहरु खिच्छन् । रुखमा अड्याइएको झोलुङ्गोमा आप्mनो छोराको फोटो जतिले खिच्छन् सहिदुनलाई उति नै दुःख लाग्छ । किनकि यो सब उनले रहरले होइन बाध्यताले गरिरहेकी छिन् । निमोनियाबाट पीडित काखे छोरालाई घाममा राखेर न्यानो कपडामा बेर्ने रहर त उनलाई पनि छ । तर उसलाई हेरर बस्ने हो परिवार नै भोकै पर्छ । यही कारण सल्लाका अग्ला रुखहरूमा पछ्यौरीको झोलुङ्गो बनाएर त्यसैमा छोरालाई राख्नुपर्ने उनको बाध्यता हो ।
आर्थिक अवस्था कमजोर भएकै कारण उनले नाम मात्रैको ब्यपार गरिरहेकी छिन् । खुल्ला चौरमा एउटा ठेलामाथि राखिएका उनका सामानको मूल्य १५ हजार रुपैयाँ मात्र छ । ‘पैसा भए पो ठुलो लगानी गरेर सटरमा ब्यापार गर्न सकिन्थ्यो। पैसा नभएपछि त ठेला भरिने गरी सामान किन्न पनि मुस्किल छ ।’ सहिदुनले भनिन्, ‘यही चौर कुरेर भए पनि दैनिकी धानेकी छु, नत्र छाक बस्छ ।’
ब्यापारलाई बढाऊँ भनेर अरूसँग पैसा सापटी माग्दा अरूले पनि गरिब छन् तिर्न नसक्ने पो हो की? भन्ने शङ्काले ऋण वा सापटी दिन नमान्ने गरेको उनको अनुभव छ ।
आपूmहरुको स्थायी घर बागलुङको अमलाचौरमा रहेको भन्ने सुनेको भए पनि त्यहाँ अहिले कोही नभएको र पर्वत सदरमुकाम कुस्माको बडागाउँमा सुकुम्वासी जीवन बिताइरहनु परेको उनले बताइन् ।
सहिदुनको परिवारमा उनी सहित बुबा, आमा, श्रीमान, ६ जना छोरा र ३ जना छोरीहरू छन् । श्रीमानले कहिले कालीगण्डकी नदी त कहिले मोदी खोलामा पुगेर माछा मार्ने काम गर्छन् । एक दिनमा बढीमा एक किलोसम्म माछा मार्ने उनको कमाई खासै छैन । ‘एक दिनमा बढीमा एक किलो भन्दा माछा पर्दैनन् । त्यो आठ सय रुपैयाँको दरमा बिक्री हुन्छ ।’ खातुन भन्छिन्, ‘खोलामा करेन्ट हान्न भएन, जालमा खासै पर्दैनन्। त्यो पैसाले के नै पो हुन्छ र ?’
सहिदुनका श्रीमानले पहिलो विवाह गरेर ल्याएकी श्रीमतीको ७ वर्ष अगाडि हृदयाघातका कारण निधन भएको थियो । उनीतर्पmका ४ छोरा र २ छोरी सहित नातिनीलाई पनि सहिदुनले नै हेरचाह र लालन पालन गर्दै आएकी छिन् । परिवारमा धेरै सदस्य भएका कारण कतिपय छाक त अड्कलेर पकाएको खाना बाँडेर खानुपर्ने अवस्था रहेको उनको भनाई छ ।
गरिबिका कारण सन्तानलाई सामुदायिक विद्यालयमा पठाउने अवस्था पनि नहुँदा नातिनी र छोराछोरीको पढाई पनि छुटाइदिएको उनले बताइन् । विद्यालयले किताब निःशुल्क दिने गरेको भए पनि विद्यार्थीलाई चाहिने अन्य सामग्रीहरूको जोहो गर्न नसक्दा उनीहरूलाई धेरै प्रयास गर्दा पनि विद्यालय पठाउन नसकेको सहिदुनको दुखेसो छ ।
सहिदुनलाई आप्mनै पेट पाल्न मुस्किल भएको बेलामा जन्म दिएका बुबा आमालाई बचाउनु झनै चुनौती छ । उनका बुबा अब्बास मियालाई १४ वर्षदेखि दमको रोगले सताएको छ । तर त्यही दमको औषधि किनेर खान सक्ने सम्मको अवस्था नरहेका कारण बुबालाई कति बेला गुमाउनुपर्ने हो भन्ने पिर लाग्ने गरेको उनले गहभरि आँसु पार्दै भनिन् । ‘अब त झन् चिसो बेला आयो, दम भएका बालाई कसरी बचाउने हो ? आप्mनो भन्दा नि उहाँकै चिन्ता धेरै लाग्छ ।’ सहिदुन भन्छिन्, ‘हामी बस्दै आएको घरको अगाडि बाटो छ, त्यही बाटो हिँड्ने बटुवाले अवस्था देखेर सय पचास दिन्छन् । त्यसैले औषधि खाने उपाय भएको छ ।’
उनकी आमा अमुना खातुनको शरीरको बायाँ भाग कत्ति पनि चल्दैनन् । ‘प्यारालाइसिस’ का कारण आमा पनि लामो समयदेखि बिस्तारामा परेकी छिन् । ‘आमालाई चर्पी लगिदिनुपर्छ, बुबाको हालत उस्तै छ ।’ सहिदुन भन्छिन्, ‘घरको अवस्था देख्दा पटक पटक मर्न मन लाग्छ । मै मरेँ भने यी सबैको चिहिलबिहिल हुन्छ। मर्न नसकेर बाँचेकी हुँ ।’
उमेरले दुई वर्ष पुगेका उनका कान्छा छोरा मोहम्मद इर्साद मियालाई प्रति महिना २ हजार रुपैयाँको औषधि नियमित किन्नुपर्ने अवस्था छ । जन्मिएपछि निमोनियाको सिकार भएका मियाको निमोनिया अभैm पनि निको नभएका कारण निरन्तर औषधि खुवाउनु परेको सहिदुन बताउँछिन् ।
सहिदुनलाई चाड पर्वले छोएर रमाइलो गर्न पाएको सम्झना नै छैन । घरको आर्थिक अवस्था दयनीय भएकै कारण चाडपर्व आउँदा उनको परिवारका सदस्यहरू बाहिर निस्किँदैनन् । बिहान बेलुकाको छाक टार्न समेत समस्या भएको बेलामा चाडपर्वमा खर्च गर्ने अवस्था नरहँदा चाडबाडको बेलामा बच्चाहरूलाई कोठाभित्रै थुनेर भुलाउने गरेको उनले बताइन् । ‘चाडबाडको बेलामा अरूले रमाइलो गर्दा हाम्रा छोराछोरी पनि त्यही खोज्छन् । तर उपाय केही छैन ।’ उनले भनिन्, ‘कोठाभित्रै चुकुल लगाएर बसेर भित्रै खेलाएर भुलाउने हो । बाहिर आए नाना थरी माग्छन्, दिने उपाय छैन ।’
मुस्लिम धर्मका मुख्य चाडबाडमा आर्थिक रूपमा केही बलिया रहेका मुस्लिम छिमेकीले भने केही पैसा दिएर सहयोग गर्ने गरेको सहिदुनले बताइन् । ‘चाड आउँदा नि खाने खर्च पुग्दैन, छिमेकीले लौ भात त खान प¥यो भनेर सहयोग गरेसी चाडबाडमा बरु पेट भरेर खाइएको छ ।’ उनले भनिन्, ‘हामीलाई कसले हेर्ने ? किन हेर्ने ? जिन्दगीको केही उपाय लागेन ।’ महिनामा २ हजार रुपैयाँ घर भाडा तिर्नुपर्नेमा कहिलेकाहीँ पैसा अभावले ५ महिनासम्म पनि तिर्न नसकेर खप्टीने गरेको उनले बताइन् ।
बडागाउँ चौरमा बस्दै आएका अधिकांश मुस्लिमहरूको अवस्था सहिदुनको जस्तै जस्तै छ । सुकुम्वासी अवस्थामा रहेका उनीहरूको परिवारमा सदस्य सङ्ख्या धेरै हुनुले झनै पिडा हुने गरेको छ ।
मुस्लिम समुदायका केहीले घडी बिक्री तथा मर्मत गर्ने, रेडियो मर्मत गर्ने, मोबाइलका एसेसोरिजहरुको बिक्री गर्ने गरेर जीविका चलाउँदै आएका छन् । त्यस्तै महिलाहरूले बजारमा श्रृङगारका सामग्रीहरूको पसल गर्ने, अग्ला झोलुङ्गे पुल तथा सडकका छेउमा चुरा, पोते, चप्पल लगायतका सामानहरू लिएर बस्ने गरेका छन् ।
मुस्लिम समुदायका केहीले भने ब्यपारबाट राम्रो उन्नति गरेका छन् । थोक तथा खुद्रा मूल्यमा इलेक्ट्रिकल र श्रृङगारका सामानहरू बिक्री गर्ने गरेर राम्रो आम्दानी गर्ने उनीहरूले आर्थिक सङ्कटमा परेका आप्mनै समुदायको अर्को परिवारलाई बेला बखत सहयोग गर्दै आएका छन् । बडागाउँ क्षेत्रमा झन्डै ५० भन्दा बढी मुस्लिम परिवार बस्दै आएका छन् ।





