बडीगाड, ३० कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं संघीय सांसद देवेन्द्र पौडेलले सरकारले पूर्वाधार निर्माणको कामलाई तिव्र रुपमा अगाडि बढाएको वताउदै काम नगर्ने ठेकेदारहरुलाई कारवाही हुने वताएका छन । मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ घोडावाँधे क्षेत्रको सडकमा समयमा काम नगरेको भन्दै उनले त्यस्ता काम नगर्ने ठेकेदारको ठेक्का तोड्ने र कार्वाही गर्ने तयारी भइरहेको बताए । वाम गठवन्धनले बडीगाड गाउँपालिका-२ दनियाँमा शनिवार गरेको चियापान कार्यक्रममा संघिय सांसद पौडेलले विकास आयोजनामा ढिला हुनुमा सरकार दोषी नभएर ठेक्का लिने र काम नगर्ने प्रवृति दोषी भएको बताए । मध्यपहाडी लोकमार्ग अन्तरगत वागलुङ खण्डको अन्य सडक स्तरउन्नती सहित कालोपत्रे हुँदा पनि सदरमुकाम जोडिएको २५ किलोमिटर सडकमा पूर्णरुपमा काम हुन सकेको छैन ।
उपनिर्वाचनको प्रचार अभियान अन्तरगत आयोजना गरिएको चियापान कार्यक्रममा सांसद पौडेलले देशको सार्वभौमिकता र सीमाको सन्दर्भमा विगतका आफ्ना नेताका भुमिकालाई हेर्न काग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन चेतावनी दिए । सरकारले कुटनैतिक माध्यमबाट सवै समस्या समाधान गर्ने नेता पौडेलले वताए । वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेको, झण्डै ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको, सुरुङ मार्ग सुरु गरेको भन्दै दर्जन वढी कामको फेहरिस्त सुनाए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य, गण्डकी प्रदेश व्युरो प्रमुख राजेन्द्र ढुंगानाले कम्युनिष्ट सरकारले सकारात्मक परिवर्तनका कामहरु गरिरहेको भन्दै समृद्धि कम्युनिष्ट वाहेक अन्यवाट नहुने ठोकुवा गरे । जिल्ला समन्वय समिति बागलुङको प्रमुख समेत रहेका ढुंगानाले जिल्लाको समग्र विकासको लागि कम्युनिष्ट सरकार लागि रहेको बताए । अवको चुनावमा जिल्लाका सवै वडा कम्युनिष्टको हुने भन्दै सवै कार्यकर्ताहरुलाई चुनावमा होमिन आग्रह गरे ।
कार्यक्रममा प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले प्रदेश सरकार जनताको समृद्धिको लागि दीर्घकालीन योजनाको साथ लागी परिरहेको बताए । बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सवै नागरिकलाई उत्पादनमा जोड्ने गरि योजना बनाएको बताए । कार्यक्रममा वडा अध्यक्षका प्रत्यासी ढाल प्रसाद शेरचन (ढालेन्द्र)ले आफु निरन्तर समाज सेवामा लागेको र थप जिम्मेवारी सहित विकासको लागि केन्द्रिय पहुँच सहित काम गर्न आफ्नो उमेद्वारी भएको भन्दै आफुलाई मत दिन मतदातालाई आह्वान गरे ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख नेकपा जिल्ला नेता विष्णु भुसालले २ वर्षको अवधिमा वडा नं. २ मा गरेको कामको फेहरिस्त जानकारी गराए । कार्यक्रममा नेपाली काग्रेसको तर्फवाट स्थानिय तहको निर्वाचनमा महिला वडा सदस्यका उमेद्वार समेत रहेकी प्रेमकली विक नेकपामा प्रवेश गरेकी थिईन् ।
कार्यक्रममा स्थानिय निकाएको निर्वाचन २०४९ र २०५४ सालमा कम्युनिष्टको तर्फवाट वडामा निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी बडीगाड वडा नं. २ का अध्यक्ष खगिश्वर अर्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका भिमसेन बनले गरेका थिए । मंसीर १४ गते हुने उपनिर्वाचनमा यस वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको गठवन्धन रहेको छ।





