बागलुङ, २ मंसिर – बडिगाड गाउँपालिका र गुल्मीको मुसिकोट, पौदी तथा इस्मालगायतको क्षेत्र समावेश भएको पौंदी न्वागी मेला शुरु भएको छ । ऐतिहासिक महत्व बोकेको र धार्मिक आस्था समेत जोडिएकोले न्वागी मेलालाई स्थानीयले आफ्नो अस्तित्व सँज जोडेर हेर्छन् । आइतवार नेकपा स्थायी कमिटिका सदस्य तथा प्रतिनिधिसभाका सांसद देबेन्द्र पौडेलले मेलाको उद्घाटन गरेका छन् । उनले पौंदी मेलालाई स्थानीय पहिचान सँग जोडेर हेर्नुपर्ने बताए । सरकारले पनि स्थानीयको पहिचान संरक्षणमा लगानी गर्नुपर्ने उनले बताए । चौबिसे राजाको पालादेखि चलेका परंपरा र सस्कृति संरक्षणमा स्थानीय जुटेका बेला उनले राज्यको लगानी बढ्नुपर्ने धारणा राखेका हुन् । बडिगाड गाउँपालिकाको अगुवाईमा भएपनि यो मेला दुइवटै जिल्लाको पौदी क्षेत्रको साझा चाडको रुपमा चिनिन्छ । स्थानीय पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले न्वागी पर्वलाई मेलाको रुपमा बिकास गरेको हो । बर्षौदेखि भएपनि यो मेलालाई स्थानीय तहले समेत अपनत्व लिएर बनाउन थालिएको छ । गत बर्ष महोत्सवकै रुपमा मनाइएपनि यो बर्ष भने मेलाको रुपमा चलेको छ ।
यो मेलामा स्थानीय कला, सस्कृति झल्काउने पर्वको रुपमा बिकास गर्न लागिएको समितिका सचिव बिष्णुप्रसाद आचार्यले बताए । मेलालाई निरन्तरता दिन उनीहरुले राज्य र स्थानीय तहको लगानी बढाउनुपर्ने समेत माग गरेका छन् । बागलुङको ग्वालीचौर, भीमगिठे, दगातुम्डाँडा र जलजला, गुल्मीको पौंदी अमराई, नेटा दर्लिङ र इस्मा समेत मिलाएर संयुक्त न्वागी मेला आयोजना गरिएको हो । नयाँ धानबाली भित्राउनका लागि न्वागी खाने चलनलाई मेलाको रुपमा भित्राइएको हो । स्थानीयको एकसय मुरी धान उत्पादन हुने जग्गाहरुको व्यवस्थापन गरेर तत्कालिन अबस्थामा बनेको गुठी र जग्गालाई अहिले पनि परंपराको रुपमा लिने गरिन्छ । यद्यपी अहिले उक्त जग्गा सामुहिक सम्पत्तिको रुपमा छैन । छत्राभूमिको रुपमा गुठीको नामाकरण पनि गरिएको छ । उक्त गुठीको चामलबाट न्वागी खाने, विभिन्न पूजाको अक्षेता बनाउने र मेला आयोजना समेत गरिन्छ ।
अहिले पनि पौदी क्षेत्रमा साइत जुराएर धान काट्ने र न्वागी खाने दिन बन्दुक पड्काएर खुला गरिएको सूचना पनि दिने चलन छ । आइतवारदेखि आगामी शुक्रवार सम्म मेला आयोजना गरिएको छ । यो संस्कृति संरक्षण गर्न गाउँपालिकाले राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पनि आयोजना गरेको छ । गाउँपालिकाले रकम समेत बिनियोजन गरेर खेल प्रतियोगिता आयोजना गरिएको हो । गत बर्ष गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता राखिएकोमा यो बर्ष निरन्तरता दिंदै राष्ट्रिय कराते प्रतियोगिता पनि समावेश गरिएको हो । यो पर्वलाई तिहारको देउसीभैलो समापन गर्ने पर्वको रुपमा पनि चिनिने समितिका अध्यक्ष कलाधर घिमिरेले बताए । मेलामा आयोजकले सास्कृतिक झाँकी, लोकदोहोरीगीत प्रतियोगिता, नृत्य, रस्साकस्सी, लगायतका आर्कषण समेत राखिएको छ । ‘सबै जातजातीको सामुहिक अपतत्वको भावना बिकास गर्न यो पर्वको महत्व छ’ आचार्यले भने, ‘जातजातीको मात्र नभई आफ्नो क्षेत्रीय महत्वको चाड बनाउन खोजेका छौं ।’ न्वागीका लागि ‘जडान’ नामको स्थानीय धानको प्रयोग गरिन्छ । किसानहरुले बर्षभरी खाने अन्न भित्राएपछिको खुसीयाली समेत भएको बताए ।





