शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महोत्सवको आम्दानीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक कोष

महोत्सवको आम्दानीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक कोष


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७६, मंगलबार

बागलुङ, ३ मंसिर – आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनबाटै बाहिरीने विद्यार्थीको सहयोगका लागि धौलागिरी बहुमुखी क्याम्पसमा ‘बाउवासंघ–धबक्या शैक्षिक कोष’ स्थापना हुने भएको छ । बागलुङ उद्योग बाणिज्य संघले आगामी पौषमा सञ्चालन गर्ने ‘बागलुङ महोत्सव–२०७६’ को आम्दानीबाट उक्त कोष खडा गर्न लागिएको हो । धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने महोत्सवको आम्दानीले क्याम्पससँग सहकार्य गरेर कोष खडा गर्न लागिएको उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । गरिब जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले कोष खडा गर्न लागिएको उनले बताए । ‘हामीले मैदान उपलव्ध गराएबापत केही रकम दिने मनसाय प्रकट गरेका थियौं’ उनले भने ‘क्याम्पस प्रशासनले आर्थिक क्षमता कमजोर भएका कारण पढाई छोडेर हिँड्ने बिद्यार्थीको सहयोगका लागि काम गर्रौं भन्यो सोही अनुसार कोष खडा गर्न लागेका हौं ।’ यस पटक पाँच लाख रुपैयाँको कोष स्थापना गर्ने र प्रत्येक महोत्सवमा यो कोषमा रकम बढाउँदै जाने सहमति दुबै पक्षबीच भएको छ ।
बागलुङमा उपयुक्त जग्गाको अभावका कारण प्रत्येक दुई बर्षको अन्तरमा हुँदै आएको महोत्सव धौलागिरी बहुमुखी क्याम्पसकै प्राङ्गणमा हुँदै आएको छ । यस बर्ष पौषको ११ देखि २० गतेसम्म महोत्सव आयोजना गरिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा आयोजक संघले तयारीका बिषय र आम्दानी खर्चको अनुमानका बिषयमा जानकारी गराएको छ । १ करोड ५१ लाख आम्दानी र एक करोड ३१ लाख खर्च हुने अनुमान गरेको संघले बचत रकमबाट बिभिन्न सामाजिक कार्य गर्ने उद्घोष गरेको छ । संघलाई संस्थागत र मजबुद बनाउनका लागि स्थापना भएको ‘व्यवसायी एकता, बलियो संघ’ अक्षयकोष यस बर्ष बृद्धि गर्ने जनाएको छ । त्यस्तै यो बर्षको महोत्सवमा बिक्री हुने टिकटबाट प्रतिटिकट चार रुपैयाँ मानवसेवा आश्रम बागलुङलाई उपलव्ध गराउने महासचिव नरेश कँडेलले बताए ।
‘सडक मानव मुक्त बनाउने आश्रमको अभियानमा सानो भएपनि हामीले सहयोग गर्दैछौं’ कँडेलले भने ‘यो हाम्रो सामाजिक उत्तरदायित्व हो ।’ केही बर्ष पहिले बागलुङ नगरपालिका सँगको सहकार्यमा बागलुङ बजारमा सिसिक्यामेरा जडान गरेको संघले पुराना क्यामेराको मर्मत र केही नयाँ क्यामेरा जडानको योजना पनि बनाएको छ । त्यसका लागि खर्चको प्रबन्ध पनि महोत्सवको आम्दानीबाट गरिने छ । पत्रकार महासंघ बागलुङसँग यसअघिकै महोत्सवमा सहकार्य गरेको संघले यस बर्षको आम्दानीबाट ‘आर्थिक पत्रकारिता खोजमुलक पुरस्कार कोष’ स्थापना गर्ने घोषणा गरेको छ । ‘हामीले आर्थिक गतिविधिका बिषयमा खोजमुलक सामग्री तयार गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने योजना बनाएका छौं’ महासचिव कँडेल भन्छन् ‘पत्रकार महासंघसँग सहकार्य गरेर यो कोष सञ्चालनमा ल्याईने छ ।’
कोष सञ्चालनका लागि कार्यबिधि बनाउने र हरेक महोत्सवमा कोषको रकम बृद्धि गर्दै जाने उनले बताए । संघले धौलागिरी बहुमुखी क्याम्पसमा सौर्य उर्जाको जडान र व्यवसायीलाई वित्तिय साक्षरता तथा ‘हाम्रो बागलुङ, समृद्ध बागलुङ’ बिषयक बहस कार्यक्रम गर्ने पनि योजना सार्वजनिक गरेको छ । दुई सय स्टल राखेर दुई दर्जन बढि प्रतियोगिता आयोजना हुने महोत्सवको तयारी तिब्र बनाईएको उपाध्यक्ष राजनकुमार शाक्यले बताए । पहिलेका महोत्सवमा भन्दा यस बर्ष केही प्रतियोगितात्मक कार्यक्रम र प्याराग्लाईडिङ लगायतका आकर्षण थपिने छन् । आयोजकका अनुसार कला संस्कृतिको संरक्षण र पर्यटनको प्रबद्र्धनमा महोत्सवले टेवा पु¥याउने दाबी गरिएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० को उद्घाटन पनि महोत्सवकै अवधिमा गरिने अध्यक्ष राजभण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->