बागलुङ, ५ मंसिर – वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सुरु भएको छ । बागलुङका चार स्थानीय तहहरूमा परियोजना सञ्चालन हुने भएको हो । बागलुङका १० स्थानीय तहहरूमध्ये धेरै वैदेशिक रोजगारीमा रहेका बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकामा परियोजना सुरु भएको हो । परियोजना सञ्चालनका लागि सेवा प्रदायक संस्था भीमापोखरा युवा क्लब बागलुङका अध्यक्ष मणिभद्र शर्मा र बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपानी शर्मा, जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इशवरी प्रसाद शर्मा र काठेखोाला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता आदान प्रदान गरेका छन् ।
गल्कोट नगरपालिकाले भने परियोजना सम्झौता कार्यक्रममा सहभागिता जनाएन् । बुधबारदेखि गल्कोटमा सुरु हुने घुम्टे गल्कोट महोत्सवको तयारीमा लाग्नु पर्ने भएकाले कार्यक्रममा सहभागी हुन नसकेको जनाएको छ । वाप्रदायक भीमापाखरा युवा क्लब बागलुङले गल्कोट नै पुगेर सम्झौता गर्ने छ । सामी परियोजनाका गण्डकी प्रदेश प्रमुख उमा शर्माले परियोजनाबारे जानकारी गराउँदै यसअघि दुई चरणमा ३९ वटा जिल्लामा परामर्शको काम भइरहेको र परियोजनाको तेस्रो चरण बागलुङका चारवटा स्थानीय तहसँग परामर्श कार्यान्वयनका लागि सम्झौता गरिएको बताईन् । ‘वैदेशिक रोजगारका सम्बन्धमा रोजगारकर्ता तथा वैदेशिक रोजगारमा जाने परिवारका लागि निःशुल्क सूचना तथा परामर्श सेवा निःशुल्क सीप, तालिम, अभिमुखिकरण, मनोसामाजिक परामर्श निःशुल्क कानुनी सेवालगायत अन्य विभिन्न प्रकारका सेवा प्रदान गरिनेछ’ उनले भनिन् ।
वैदेशिक रोजगारीमा जाने युवालाई सुरक्षित आप्रवासन सम्बन्धी सूचना संकलन गर्ने, तथा सचेतना अभिवृद्धि गर्ने परामर्श संस्थाको लक्ष्य रहेको शर्माले बताइन् । वैदेशिक रोजगारीमा जाँदा धेरै युवा ठगिने गरेकोले परियोजना लागू भएसँगै यस्ता घटनामा न्यूनीकरण हुने अपेक्षा गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । देशमै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने योजना रहेको भएपनि तत्काल त्यो सम्भव नभएकाले यो परियोजना प्रभावकारी हुने उनको विश्वास थियो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले परियोजनाको सफलताको शुभकामना व्यक्त गरे । बैदेशीक रोजगारीका कारण समाजमा परेको नकरात्मक प्रभाव कम गर्न पनि परियोजना फलदायी हुने उनको भनाई थियो । परियोजनाअन्तर्गत वैदेशिक रोजगारीमा जानेहरूलाई वैदेशिक रोजगारीमा कसरी जाने, जाँदा कति पैसा लाग्छ, कुन–कुन देशमा रोजगारीका लागि जान पाइन्छ, कसरी ठगिन्छ, ठगिए के गर्ने, गन्तव्य मुलुकको अवस्था र हावापानी कस्तो छ, लगायतका बारेमा समेत सचेत गराइने शर्माले बताए । ‘सकेसम्म स्वदेशमै रोजगार गरौँ, यदी विदेश जाने भए सही सूचना लिएर र सीप सिकेर जाऔँ’ भन्ने नाराका साथ परियोजना अगाडि बढ्ने उनले बताए । शर्माका अनुसार बागलुङका चार पालिकामा सञ्चालन हुने परियोजनाका लागि २५ जना कर्मचारी परिचालन हुने छन् । जिल्ला प्रशासन कार्यालयमा आप्रबासन स्रोत केन्द्र राखेर सचेतना कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक गाउँमा परिचालकहरुमार्फत परामर्श सञ्चालन गर्ने उनले बताए ।
नेपाल सरकार र स्वीस सरकारको सझेदारीमा परियोजना सुरु भएको हो ।





