बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अपरेशनपछि प्रधानमन्त्री आईसीयुमा, तीन दिन अस्पतालमै !

अपरेशनपछि प्रधानमन्त्री आईसीयुमा, तीन दिन अस्पतालमै !

उपचारमा संलग्न एकजना चिकित्सकले स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यान दिँदै कम्तीमा तीन दिन अस्पतालमै राखिने जानकारी दिए। 


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७६, मंगलबार

काठमाडौं, १० मंसिर – एपेन्डिसाइटिसको अपरेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको छ।  त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सकिएपछि प्रम ओलीलाई आईसीयुमा सारिएको हो।  प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन मंगलबार मध्यान्ह १२:४५ बजे सफलतापूर्वक सम्पन्‍न भएको जानकारी दिए। अस्पतालले विज्ञप्ति प्रकाशन गरेर प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको जानकारी गराएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेपछि आईसीयुमा लगिएका प्रमलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको छ।  प्रमको एपेन्डिसाइटिसको अपरेशमा संलग्न डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजेको सफल प्रत्यारोपण गरेको थियो।सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रमलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो। प्रधानमन्त्रीको उपचारमा संलग्न एकजना चिकित्सकले स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यान दिँदै कम्तीमा तीन दिन अस्पतालमै राखिने जानकारी दिए।  यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा तीन पटक डायलाइसिस गरिसकिएको छ। तीन दिनअघि मात्रै प्रमको मिर्गौलाको तेस्रो डायलाइसिस गरिएको थियो।
के हो एपेन्डिक्स  ?
एपेन्डिक्स हाम्रो शरीरमा ठूलो आन्द्रा र सानो आन्द्राको बीचमा भएको एउटा अंग हो । यसैमा संक्रमण भएर पेट मर्ने गरी दुखेपछि ‘एपेन्डेसाइटिस’ रोग भएको मानिन्छ । पहिले चिकित्सकहरू एपेन्डिक्सलाई नचाहिने अंग मान्थे । तर पछिल्ला अध्ययनमा, स्वस्थ शरीरका लागि एपेन्डिक्ससमेत आवश्यक अंग हो भन्ने पत्ता लाग्यो। यो अंगमा पाचनलाई सघाउन राम्रो ब्याक्टेरिया जम्मा हुन्छ । लामो रोगले गर्दा ब्याक्टेरियाको कमी हुँदा यही एपेन्डिक्सले पाचन प्रणालीलाई ठीक राख्छ । एपेन्डिक्समा संक्रमणको यकिन कारण हालसम्म थाहा भएको छैन । आन्द्रामा संक्रमण, पेटमा खराब ब्याक्टेरियाको वृद्घि आदि कारणले एपेन्डिक्स नलीमा अवरोध पुग्ने वा सुन्निने भएर एपेन्डिसाइटिस हुन्छ ।
के हुन्छ  ?
एपेन्डिसाइटिसको समस्या भएकाहरूमध्ये ३०–४० प्रतिशतमा एक्कासि नाइटो दुख्न थाल्छ । यो पीडा ६–७ घण्टापछि दाहिनेतिरको तल्लो पेटमा सर्छ । ‘यो खास एपेन्डिेसाइटिसकै दुखाइ हो,’ डा. रमेशसिंह भण्डारी भन्छन्, ‘कसैकसैको सीधै दाहिने पेटसमेत दुख्न थाल्छ।’ यो दुखाइ हरेक व्यक्तिमा फरकसमेत हुन सक्छ, किनभने एपेन्डिक्सले फरकफरक अंगलाई छुने गरेको छ । यसैले प्राय: चिकित्सकहरू एपेन्डिसाइटिस पहिचान गर्न अलमलिन्छन्। हिँड्दा, कुरा गर्दा अझ दुख्छ । यो दुखाइसँगै बिरामीलाई खान मन नलाग्ने, वान्ता हुने, ज्वरो आउने हुन्छ । एपेन्डिसाइटिस बढ्दै जाँदा कामज्वरोसमेत आउँछ । यस्तो लक्षण ८० प्रतिशत बिरामीमा देखिन्छ । गर्भावस्थामा एपेन्डिक्स पेटको माथिल्लो भागमा बस्छ । यसैले त्यस्तो बेला यस्तो पीडा पेटको माथिल्लो भागमा हुन सक्छ।
दुई प्रकारका शल्यक्रिया
एपेन्डिसाइटिसको शल्यक्रिया दुई प्रकारले गरिन्छ । पेटलाई चिरेर वा ल्याप्रोस्कोपिक विधिले सानो प्वाल पारेर । हाम्रो मुलुकमा ८०–९० प्रतिशत शल्यक्रिया चिरेरै हुने गरेको छ । धेरै सामान नचाहिने, जहाँ पनि गर्न सकिने भएकोले यो शल्यचिकित्सकले सबैजसो संरचनामा गर्न सक्छन् । ल्याप्रोस्कोपिक विधिले गरिने शल्यचिकित्सामा आधुनिक उपकरण चाहिन्छ । पेटमा ३–४ प्वाल पारेर एपेन्डिक्स झिक्न पेटमा क्यामेरा र औजार पठाइन्छ । यस्तो शल्यक्रियाले छिटो स्वास्थ्य लाभ हुन्छ । कम दुख्छ, पेटमा सानो दाग हुन्छ।
जटिलता
एपेन्डिसाइटिसमा कहिलेकाहीँ जटिलता समेत हुने गर्छ । यस्तो समस्या भएका १०–१५ प्रतिशतमा एपेन्डिक्स बिस्तारै कुहिने, फुट्ने आदि हुन्छ । यो अवस्थामा पेटभरि संक्रमण सर्छ । यसमा मुख्य जटिलता एपेन्डिक्समा पिप बग्नु र फुट्नु हो । यस्तो अवस्था भए पनि समयमै उपचार गरे बिमार निको हुन्छ । तर समयमै उपचार नगरे संक्रमण फैलिएर बिरामी नबाँच्ने सम्भावनासमेत हुन्छ ।
पहिचान
यो रोगको पहिचान मुख्य रूपमा बिरामीमा देखिने लक्षणका आधारमा गरिन्छ । चिकित्सकले बिरामीको बाह्य परीक्षण र सामान्य रगत जाँच गरेरसमेत करिब ८० प्रतिशत केसमा निक्र्योल गर्न सक्ने अवस्था रहेको डा. भण्डारी बताउँछन् । तर कुनै बिरामीमा चिकित्सकलाई रोग पहिचान गर्न अलमल भए अल्ट्रासाउन्ड परीक्षण र अत्यन्त न्यून केसमा सिटी स्क्यान परीक्षण गर्ने गरिन्छ ।
मुख्य लक्षण
– नाइटोमा पीडा सुरु भएर पेटको दाहिनेतर्फ सर्नु
– भोक कम लाग्नु
– वान्ता हुनु
– कब्जियत हुनु वा पखाला लाग्नु
– ज्वरो आउनु

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->