आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘भेन्टिलेटर’ हटाएपछि प्रधानमन्‍त्रीको स्वास्थ्यमा उल्लेखिय सुधार

‘भेन्टिलेटर’ हटाएपछि प्रधानमन्‍त्रीको स्वास्थ्यमा उल्लेखिय सुधार

उनले कालो चिया पिउने र आफन्त एवं चिकित्सकसँग  सामान्य कुराकानी पनि गर्ने गरेका छन्।


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७६, बुधबार

काठमाडौं, ११ मंसिर – एपेन्डिसाइटिस शल्यक्रियापछि प्रधानमन्‍त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखिय सुधार हुँदै गएको छ। ‘ब्याकअप’ का रुपमा राखिएको भेन्टिलेटर बिहान हटाइएपछि दिनभर प्रधानमन्‍त्री ओलीले  सघनकक्षमै आराम गरिरहेका छन्। बुधबार बिहानदेखि ओली सहज महसुस गर्दै सामान्य उठबस गर्न थालेका छन्। उनले कालो चिया पिउने र आफन्त एवं चिकित्सकसँग  सामान्य कुराकानी पनि गर्ने गरेका छन्। बुधबार बिहान प्रधानमन्‍त्री पत्‍नी राधिका शाक्यले ‌ओलीसँग भेटेकी थिइन्। दिनभर राधिका पतिको हेरचाहमा व्यस्त रहिन्।
मंगलबार दिनभर भेन्टिलेटरमा राखिए पनि बुधबार बिहानदेखि भेन्टिलेटर हटाइएको हो। ओलीको उपचार टोलीका संयोजक रहेका डा. अरुण सायमीले ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताए । उनले भने, ‘प्रधानमन्‍त्रीज्यूले कालो चिया पिउनुभयो, कुर्सीमा बसेर सामान्य कुरानकानी गर्न थाल्नुभएको छ। अहिले उहाँ आराममा हुनुहुन्छ।’ पेट दुस्खेपछि प्रधानमन्‍त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि मंगलबार नै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो। एपेन्डिसाइटिस फुटेर संक्रमण भएकोले म‌ंगलबार स्वास्थ्यमा केही जटिलता देखिए पनि बुधबार सुधारोन्मुख भएको चिकित्सकले बताएका छन्।
प्रधानमन्‍त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाहले प्रधानमन्‍त्रीको स्वास्थ्यमा अहिले कुनै जटिलता नदेखिएको बताइन्। उनले भनिन्, ‘अहिले सामान्य छ। उहाँको हेल्थ प्यारामिटर सन्तुलित छ। उहाँ केही दिन अस्पतालमै बसेर आराम गर्नुहुन्छ।’ त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारी, सर्जन डा. पलेश्‍वाँ जोशी लाखे, डा.दीलीप शर्मासहितको विशेषज्ञ टोली ओलीको उपचारमा संलग्‍न छ। उपचार टोलीको संयोजन वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा. अरुण सायमीले गरेका छन्। प्रधानमन्‍त्रीका निजी चिकित्सक सिंह पनि उपचारमा प्रत्यक्ष संलग्‍न छिन्।
उच्च चिकित्सकीय निगरानीसहित सघनकक्षमा राखेर ओलीको उपचार भइरहेको छ। संभावित स‌ंक्रमणको जोखिमलाई ध्यानमा राखेर उपचार टिमको सल्लाहमा  बाहिरी भेटघाट तत्कालका लागि रोकिएको प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। केही दिन ओलीलाई अस्पतालमै बसेर आराम गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->