बागलुङ, १५ मंसिर– शनिबार सम्पन्न उपनिर्वाचन अन्तरगत बागलुङ क्षेत्र नं २ (ख) को प्रदेशसभा सदस्यको लागि मतगणना जारी छ । अहिलेसम्म ढोरपान नगरपालिका–१ तमानखोला गाउँपालिका–१ र निसीखोला गाउँपालिका–१ वडाको मतगणना सकिएको छ । तीन वडाको मतगणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचन र साझा बाम उम्मेदवार खिम बिक्रम शाहीको मतान्तर झिनो बन्दै गाएको छ । यद्धपी कांग्रेस उम्मेद्वारको सुरुवाती अग्रता भने कायम रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका जीत शेरचनले १ हजार ६ सय २७ मत प्राप्त गरेका छन् भने साझा बाम उम्मेदवार खिमबिक्रम शाहीले १ हजार ५ सय ४६ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा रहेका तीन पालिका मध्ये तीनवटैको एक नम्बर वडाको मतगणना सकिएर दुई नम्बर वडाको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा खसेको कुल २१ हजार ४ सय मत मध्ये अहिले सम्म ३ हजार २ सय ९१ मत गणना भएको छ ।





